सेरा नामको एक सिंहले भर्खरै सिकार गर्न सुरु गरेको थियो । तर, ऊ एकपछि अर्को सिकारमा असफल भइरहेको थियो । उसको असफलतामा हाप्सिलाहरू (हाइना) हाँसेर खिल्ली उडाउँथे । यसले गर्दा सेरा निकै दुःखी थियो । हाप्सिलाहरूले आफ्नो खिल्ली उडाउँदा सेरा गर्जेर उनीहरूलाई तर्साउने प्रयास त गथ्र्यो, तर बदमास हाप्सिलाहरू झनै जोडतोडले हाँसेर सेरालाई गिज्याउँथे । सेराका समूहका सिंहहरू उसलाई हाप्सिलाहरूमाथि ध्यान नदिन सल्लाह दिन्थे, तर ऊ जबजब सिकार गर्न जान्थ्यो, तबतब तिनै हाप्सिलाहरूको हाँसो उसको कानमा गुन्जिरहन्थ्यो ।
दिनदिनैको असफलता र हाप्सिलाहरूको हाँसोले सेरा आफूलाई साँच्चैको असफल सिकारी ठान्न थालेको थियो । जसले गर्दा निराश भएर ऊ अब सिकारको प्रयास नै नगर्ने विषयमा सोच्न थाल्यो । यो कुरा सेराकी आमाले थाहा पाई । ऊ आफ्नो समूहकी सबैभन्दा सफल सिकारी मानिन्थी । उसले एक रात सेरालाई बोलाई र भनी– सिकारका केही प्रयासमा असफल भयौ भन्दैमा तिमी निराश नबन । हामी सबै यो अवस्थाबाट गुज्रिएका छौँ । म पनि कैयौँपटक असफल भएकी थिएँ । सानोतिनो सिकारसमेत गर्न सक्दिनथेँ । हाप्सिलाहरू ममाथि पनि खुब हाँस्थे । त्यतिखेर मैले सिकार गर्न छाडिदिने हो भने ती हाप्सिलाहरूकै जित हुनेछ भन्ने बुझेँ । त्यसैले, तिमी पनि खुब मन लगाएर सिकारका लागि एकपछि अर्को कोसिस जारी राख, अवश्य पनि तिमी एक दिन कुशल सिकारी बन्नेछौ । अनि, अहिले तिमीमाथि हाँस्ने हाप्सिलाहरू हाँस्नु त के तिम्रो वरिपरि आउनसमेत सक्नेछैनन् ।
समय बित्दै गयो । केही महिनामै सेरा एक सानदार सिकारी बनेर जंगलमा विचरण गर्न थाल्यो । एक दिन उसको पञ्जामा ऊमाथि हाँस्नेमध्येकै एक हाप्सिलो पर्यो । उसले रुँदै आफूलाई नमार्न अनुनय गर्यो । सेराले उसलाई भन्यो– ठिकै छ, म तँलाई मार्दिनँ । म तँमार्फत मेरो असफलतामा हाँस्ने सबैलाई एक सन्देश दिन चाहन्छु । तिमीहरूको उपहासले मलाई रोक्न सकेन । त्यसले मलाई सफल सिकारी बन्न झनै प्रेरित गर्यो । अब गएर आफ्ना साथीहरूलाई बताइदे– हिजोसम्म तिमीहरू जसको खिल्ली उडाउँथ्यौ, जसमाथि हाँस्थ्यौ, आज त्यही यस वनको राजा भएको छ ।