नेपाल पुलिस क्लबका कप्तान कुशल भुर्तेलले मंगलबार जय ट्रफी पुरुष एलिट कपको फाइनलमा आक्रामक ब्याटिङ गरेका छन् । शीतलहरका कारण निर्धारित समयभन्दा पाँच घण्टापछि नेपाल पुलिस र त्रिभुवन आर्मीबिचको फाइनल खेल सम्भव भयो ।
वीरगन्जको नारायणी रंगशालामा टस हारी पहिलो ब्याटिङ गरेको पुलिसले दिनको खेल समाप्तिसम्म दुई विकेट गुमाएर ८५ रनको योगफल बनाएको छ । पहिलो दिन १७ ओभर मात्र बलिङ भएको थियो । क्रिजमा कप्तान कुशल ५० रनमा नटआउट छन् । उनले ५१ बलमा ६ चौका प्रहार गरेका छन् ।
अर्जुन साउदले १३ बलको सामना गरे पनि रन बनाएका छैनन् । पुलिसको इनिङ्सको सुरुवात खराब रह्यो । इनिङ्सको पहिलो बलमै ओपनर दिलीप नाथ क्याच आउटका रूपमा पेभेलियन फर्के ।
सोमपाल कामीको ओभरमा सुमित श्रेष्ठले दिलीपको क्याच लिएका हुन् । त्यसपछि अमित श्रेष्ठ र कुशलबिच दोस्रो विकेटका लागि १२.२ ओभरसम्म ६५ रनको साझेदारी भयो । अमितले ३९ बलमा दुई चौकाको सहयोगमा २० रन बनाए । आर्मीका सोमपाल र सहाब आलमले समान एक विकेट लिएका छन् ।
शीतलहर भएपछि खेल ढिला सञ्चालन
निर्धारित समयअनुसार फाइनल खेल बिहान ९ बजेदेखि सुरु हुनुपर्ने थियो । तर, शीतलहरका कारण खेल दिउँसो साढे २ बजे सुरु भयो । बुधबार दोस्रो दिन घाम लागे खेल निर्धारित समयमै हुने आयोजकले जनाएको छ । फाइनल तीन दिवसीय ढाँचाअनुसार भइरहेको छ । फाइनलको प्रत्येक इनिङ्स ८० ओभरको हुनेछ ।
पहिलो ब्याटिङ गरेको टोलीले ८० ओभरअगाडि इनिङ्स समाप्ति गर्न सक्छ । यसअघि राउन्ड रोबिन लिगमा हरेक टोलीले पहिलो इनिङ्समा समान ६० ओभर खेलेका थिए । क्यानले दोस्रो इनिङ्समा कुनै ओभरको सीमा राखेको छैन ।