धुर्कोट गाउँपालिकाले पालिकाभित्रका दिवंगत तीन विशेष व्यक्तिहरूको सम्झनामा स्मृति पार्क निर्माण गरेको छ। पार्कमा धुर्कोट गाउँपालिका–५ वस्तुका पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी, पूर्वजिविस उपसभापति परमानन्द भण्डारी र पूर्वगाविस अध्यक्ष टोमलाल पाण्डेयको शालिक निर्माण गरिएको हो।
पार्कको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे। धुर्कोट गाउँपालिकाको रु. ६७ लाखको लागतमा स्थानीय उपभोक्ता समितिमार्फत धुर्कोट गाउँपालिका–५ वस्तुमा स्मृति पार्क निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए।
पन्थीका अनुसार पार्क आर्थिक वर्ष ०७९/८० मा सुरु भएर ०८१/८२ मा सकिएको थियो। धुर्कोट गाउँपालिकामा जन्मिएका तीनजनाले जिल्लाकै सामाजिक रूपान्तरण तथा विकास निर्माण कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
अग्रजप्रति सम्मानको भावना हराएर आलोचना र भ्रष्ट सोचले प्राथकिकता पाउन थालेपछि समाजमा सामाजिक सन्देश प्रदान गर्न स्मृति पार्क निर्माण गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए। पूर्वसांसद भण्डारीको २००५ कात्तिक १५ गते जन्मिएर ०७५ साल चैत १८ गते सडक दुर्घटनामा मृत्यु भएको थियो । त्यस्तै, पूर्वगाविस अध्यक्ष पाण्डेय २०१० साल असार १० मा जन्मिएर ०७१ जेठ ०९ गते दिवंगत भएका थिए ।
पूर्वजिसस उपसभापति भण्डारी १९८४ साल वैशाख ३१ गते जन्मिएर ०६६ असार २३ गते दिवंगत बनेको धुर्कोट गाउँपालिका–५ का वडाध्यक्ष केशव भण्डारीले जानकारी दिए। पार्क उद्घाटनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्याललगायतको उपस्थिति रहेको थियो।