मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Saturday, 11 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २७ शनिबार o७:५९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीसँग कांग्रेस असन्तुष्ट, विपक्षी नेताले बढाए सक्रियता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार o७:५९:oo

प्रमुख सत्तासाझेदार दल कांग्रेसभित्रै सरकारको काम एवं प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिलाई लिएर असन्तुष्टि देखिएकै वेला विपक्षी दलका नेताहरूको सक्रियता बढेको छ । भेटघाट बाक्लो बनाएका विपक्षी दलका नेताहरूले केपी ओली नेतृत्वको सरकारको भविष्य लामो नरहेको टिप्पणी गरेका छन् । पछिल्लोपटक बिहीबार मात्रै रास्वपा सभापति रवि लामिछाने धरौटीमा छुटेपछि विपक्षी नेताहरू थप उत्साही छन् । 

बिहीबार छलफल गरेका प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच शुक्रबार पनि भेटवार्ता भएको छ । लगत्तै प्रचण्ड, नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि पछिल्लो राजनीतिक अवस्थाबारे संयुक्त छलफल गरेका छन् । छलफलपछि विपक्षी दलका नेताहरूका अभिव्यक्ति अर्थपूर्ण छन् । 

प्राकृतिक रूपमा नबनेको सरकार लामो समय नजाने प्रतिक्रिया दिएर माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक माहोल तताइदिएका छन् । ‘यो गठबन्धन अप्राकृतिक, अपारदर्शी छ र अलोकतान्त्रिक छ भन्ने कुरा हामीले गम्भीर रूपमा पार्लियामेन्ट र बाहिर भनेको तपाईंहरूले सुन्नुभएकै छ । अप्राकृतिक भएकाले अब यो चल्दैन,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको छलफलपछि प्रचण्डले भने । 

छलफलपछि अध्यक्ष नेपालले ओलीको अभिव्यक्ति ०८७ सम्ममा चुनाव नै नगराई सत्तामा बस्ने नियतका साथ आएको दाबी गरे । इसारैइसारामा उनले सरकार हेरफेरको संकेत गरे । ‘ओलीजी ०८७ सालमा संविधान संशोधन गर्ने भन्दै हुनुहुन्छ । त्यतिन्जेल सत्ता नछाड्ने दाउ हो कि ?’ नेपालले भने, ‘संसद् विघटन गरेर ६ वर्ष सरकार चलाउन खोजेको हो कि !’

राप्रपा अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेबिचको सहमति गलत रहेको पुष्टि भएको प्रतिक्रिया दिएर राजनीतिले नयाँ मोड लिन सक्ने जनाउ दिए । ‘निमन्त्रणा दिन आएको थिएँ, समसामयिक विषयमा कुराकानी भए । दुई ठुला दलले जुन सहमति सार्वजनिक गरे, तर यहाँसम्म आइपुग्दा हावादारी कुरा रहेछ भन्ने प्रमाणित भएको छ,’ उनले भने, प्रधानमन्त्री ओली संविधान संशोधन नै नगर्ने दाउमा हुनुहुन्छ । अहिलेको नेतृत्वबाट देश चल्दैन भन्ने निश्चित भइसकेको छ ।’

पार्टी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले ०८७ सम्म संविधान संशोधन गर्न नसकिने बताएपछि कांग्रेसभित्र यसको चर्को आलोचना भएको छ । यसलाई दिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै एमालेसँग सहकार्यको औचित्य सकिएको प्रतिक्रिया दिन थालेका छन् । केही समययता कांग्रेस नेता कृष्ण सिटौलाले अहिलेको सरकारको नेतृत्व ओलीले गरे पनि यसको नीतिको नेतृत्व कांग्रेसले गरिरहेको बताउँदै आएका छन् । 

प्रधानमन्त्री ओलीले केही समय अगाडिसम्म आफूले सहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने बताउँदै आएका थिए । तर, चीन भ्रमण सकेर फर्केकै दिन यसबारे बोले पनि त्यसपछि उनी नेतृत्व हस्तान्तरणबारे बोलेका छैनन् । कांग्रेसको सुझावविपरीत प्रधानमन्त्री ओलीले बिआरआई फ्रेमवर्कमा चीनमा सम्झौता गरेपछि कांग्रेस नेताहरू झस्किएका छन् । अर्कोतर्फ माओवादी नेताहरूले यसअघि नै ओलीको विकल्प खोज्न आफूहरूलाई कांग्रेसको तर्फबाट अफर आएको दाबी गरेका थिए । माओवादी नेता वर्षमान पुनले भन्दै आएका छन्, ‘कांग्रेसबाट नयाँ गठबन्धनका लागि अफर आएकोआयै छ ।’

६ महिनापछि सक्रिय हुँदै समाजवादी मोर्चा
प्रमुख प्रतिपक्ष दल माओवादीसहित चार पार्टी सम्मिलित समाजवादी मोर्चा फेरि सक्रिय हुने भएको छ । माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले तत्काल बैठक बोलाउने र मोर्चालाई सक्रिय बनाउने निष्कर्ष निकालेका छन् । बिहीबार र शुक्रबार सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच पछिल्लो राजनीति र समाजवादी मोर्चाको सक्रियताबारे छलफल भएको थियो । ‘मुख्यतः समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा छलफल गरेका छौँ,’ एकीकृत समाजवादीका वरिष्ठ नेता भुसालले भने, ‘छिट्टै मोर्चाको बैठक राख्ने तयारी छ ।’ 

संसद् अधिवेशन, समाजवादी मोर्चासहित समसामयिक विषयमा छलफल भएको माओवादी महासचिव गुरुङले बताए । ‘सिंहदरबारमा भएका वेला नेताहरूबिचमा छलफल भएको हो । समसामायिक विषयमा कुराकानी भयो । समाजवादी मोर्चालाई सक्रिय बनाउनुपर्छ भन्ने छ,’ गुरुङले भने । संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने विषयमा समेत छलफल भएको छ । समय घर्किंदासमेत संसद् अधिवेशन नबोलाइएको माओवादी र एकीकृत समाजवादीका नेता रुष्ट छन् ।