लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमानदारी देखाउनुपर्ने र उपभोक्ता आफैँ पनि सचेत हुनुपर्ने बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालले शनिबार बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकारसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमानदारी देखाउनैपर्ने बताए ।
प्रदेश सरकारले बजार अनुगमनलाई तीव्रता दिन प्रदेशस्तरीय संयन्त्र निर्माण गरिनेसमेत उनले बताए। ‘चाडपर्वको वेलामा मात्रै होइन, १२ महिना, ३६५ दिन नै अनुगमन र निगरानी हुने व्यवस्था गरिनुपर्छ,’ उनले भने, ‘प्रदेश तहबाट पनि एउटा अनुगमन संयन्त्र बनाउँछौँ।’
बजारमा हुने अनुचित व्यापारलाई निरुत्साहित गर्न उपभोक्ता अधिकार संरक्षणलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ। अखाद्य वस्तुको उपभोगका कारण नागरिकको स्वास्थ्यमा नराम्रो असर परिरहेको, नसर्ने तर दीर्घरोगबाट पीडित हुनुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री आचार्यले अखाद्य वस्तुको कारोबारलाई निरुत्साहित गर्नुपर्ने बताए ।