बाह्रबिसेस्थित ट्रान्समिटरको हुक जोड्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्युु भएको छ । शनिबार साँझ ट्रान्समिटरको हुक र तार जोड्न लाग्दा करेन्ट सर्ट हुँदा मकवानपुर जिल्ला थाहा नगरपालिका– ७ का ३३ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेका अनुसार ती युवा विद्युतीय काममा सलग्न लाइनम्यान हुन् । विश्व तथा माया निर्माण सेवाले बाह्रबिसे आसपास विद्युतको ठेक्का लिएको छ । तामाङ सोही कम्पनीमा काम गर्ने लाइनम्यान हुन् ।
दिउँसभर लाइन जोड्ने काममा रहेका तामाङ साँझपख बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारीमा रहेको ट्रान्समिटरमा चढेका थिए । उनी पोलमा चढेको केहीबेरमै ट्रान्समिटरमा आगोको मुस्लो निस्केको थियो । करेन्ट लागेर तामाङको तत्काल मृत्यु भएको हो । प्रहरी र स्थानीयले ट्रान्समिटरको खम्बामा मृत्यु भएका तामाङलाई भुइँमा खलालेका थिए ।
विद्युत प्राधिकरण सुनकोसी वितरण केन्द्रका प्रमुख दीपक सापकोटाले मृतक तामाङ ठेकेदार जितबहादुर तामाङको कम्पनी मातहत रहेर काम गर्ने लाइनम्यान भएको पुष्टि गरेका छन् । दुर्घटना सुनकोसीस्थित सबस्टेशनमा सटडाउन नगरी खम्बामा चढ्दा भएको हो वा लाइनम्यानको असावधानीले भएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।