मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Saturday, 11 January, 2025
२o८१ पौष २७ शनिबार १९:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद

यस वर्षको आहा ! रारा पोखरा गोल्ड कपलाई जयश्री फुड्सले सहप्रायोजन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार १९:२९:oo

आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४औं संस्करणलाई जयश्री फुड्सले सहप्रायोजन गर्ने भएको छ । सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिता २२ माघदेखि ३ फागुनसम्म चल्नेछ ।

शनिबार क्लब भवनमा आयोजित कार्यक्रममा आयोजक क्लबका अध्यक्ष केशवराज बराल र जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवालले सहप्रायोजन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । जयश्री फुड्सले सहप्रायोजक बनेबापत प्रतियोगिता सञ्चालनको लागि क्लबलाई पाँच लाख नगद दिनेछ  ।

सम्झौतापत्रमा हस्ताक्षरपछि क्लबका अध्यक्ष बरालले यस्तै सहयोगदाताको सहयोगबाट नै प्रतियोगिता सञ्चालन गरिने र बचत रकम क्लबले सञ्चालन गरेको फुटबल एकेडेमीको लागि खर्च गर्ने जानकारी दिए । फुड्सका अग्रवालले सहारा क्लबमार्फत पहिलोपटक खेलकुदसँग जोडिएको बताए । 

क्लबका अध्यक्ष बरालका अनुसार प्रतियोगिता सञ्चालनको लागि पोखरा महानगरपालिका संरक्षक, लुम्बिनी विकास बैंक अफिसियल बैंक, बुद्ध एयर अफिसियल एयरलायन्सको रुपमा रहेका छन् भने राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया, जिल्ला खेलकुद विकास समिति कास्की लगायतले सहयोग गर्ने छन् ।

१२ टोलीले प्रतिस्पर्धा गर्ने
प्रतियोगितामा ए डिभिजन, विभागीय, मोफसल, आयोजकसँगै विदेशी गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने सहभागी टिम सम्र्पक उपसमितिका संयोजक समेत रहेका क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले जानकारी दिए । १२ टोलीमध्ये एक विदेशीसहित १० टोलको टुंगो लागेको संयोजक थकालीले जानकारी दिए । थकालीका अनुसार थ्री स्टार क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, एन आरटि फुटबल क्लब सगै विभागीय नेपाल प्रहरीको नेपाल पुलीस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लबसँगै पाहुना टोली यूकेको बिग्रेड ब्वाईज फुटबल क्लब सहभागी हुने निश्चित भइसकेको छ । भारतीय सेना, चीन र जापानको टिमहरसँग पनि कुरा भइरहेको थकालीले बताए ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा विधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइगर र प्रशिक्षकले २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेको रुपमा एक टोलीलाई पुरस्कृत गरिनेछ । 

एकेडेमीमा चौथो ब्याचका ३० बालक
२३ वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले ०५८ सालदेखि फुटबल एकेडेमी समेत सञ्चालनका गरिरहेको छ । कठिन परिस्थिति र विपन्न बर्गका बालकहरू आश्रित पोखरा–१७ दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल चौथो ब्याचका ३० जना बालकहरु रहेका छन् । उनीहरूको आवास, पालनपोषणसँगै शिक्षा दीक्षा फुटबल प्रशिक्षणको काम क्लबले गर्दै आएको छ । प्रत्येक वर्ष प्रतियोगिताको सञ्चालनपछि प्राप्त हुने आम्दानी क्लबले एकेडेमीको लागि खर्च गर्दै आएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।