अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई नै घुस खुवाउन खोज्ने प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगले बिहीबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा गरेको अनियमितताका लागि आयोगको कञ्चनपुर कार्यालयले बोलाएकोमा सापकोटाले अनुसन्धान अधिकृतको कार्यकक्षमा गई कागजातसहित एक लाख रुपैयाँ राखेर खाम दिएका थिए। सो पैसासहित आयोगले सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान गरी मुद्दा दायर गरेको हो। सापकोटा पछिल्लो समय नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत थिए ।
उनले बयानसमेतका अनुसन्धानका कार्य गर्दै स्थलगत अनुगमन कार्य सम्पन्न गरिसकेको अवस्थामा उक्त अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए–गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई अनुसन्धान टुंग्याउन अनुसन्धान अधिकृतलाई मोलाहिजा गर्न तथा अनुसन्धानलाई अनिष्ट गर्ने–गराउने प्रयोजनका लागि घुस दिएको आयोगको अभियोग छ ।
साथै, उनको अनियमिततासम्बन्धी अनुसन्धान भने जारी रहेको आयोगले जनाएको छ।