सल्याानका झन्डै १३ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस)विरुद्धको एचपिभी खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ९३८ जना किशोरीलाई यो खोप लगाउन लागिएको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार १० पालिकाका २३७ खोप केन्द्रबाट अभियान सञ्चालन गरेर खोप दिइनेछ ।
देशव्यापी खोप कार्यक्रम आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म सञ्चालन हुनेछ । विद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालय नजाने किशोरीलाई लक्षित गरी खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमख डा. अर्जुन बुढामगरले जानकारी दिए। उनका अनुसार खोप केन्द्रमा २५० स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिनेछ ।
जिल्लाका सबै स्थानीय तहहरूसँग खोप अभियान सञ्चालन गर्न समन्वयात्मक कार्यक्रम गरिने उनले बताए । विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा नै खोप केन्द्र निर्माण गरी खोप लगाउने तयारी गरिएको र विद्यालयबाहिर रहेका किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने उनले बताए ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप अधिकृत तारा रिजालका अनुसार ९० प्रतिशत किशोरीलाई खोप पुर्याउने, ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलालाई पाठेघरको क्यान्सरको परीक्षण गर्ने र परीक्षणबाट पुष्टि भएका ९० प्रतिशतलाई उपचारको दायरामा ल्याउने गरी सरकारले खोप अभियान सुरु गरेको हो ।