मधेश प्रदेशको गौरवको योजनाका रूपमा रहेको मधेश कृषि विश्वविद्यालयको भवन निर्माण कार्य ठप्प भएको छ। भुक्तानी नपाएपछि ठेकेदारले सप्तरीको राजविराज नगरपालिका– १३ मा निर्माणाधीन विश्वविद्यालय भवनको काम ठप्प पारेको हो।
मधेश कृषि विश्वविद्यालयले ७ माघ ०८० मा ८५ करोड ५० लाख २७ हजार ८७३ रुपैयाँ (मूल्यअभिवृद्धि करबाहेक)मा ओम साईराम कन्स्ट्रक्सनसँग एउटा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार ९ माङ ०८३ सम्म निर्माण सम्पन्न गर्नुपर्नेछ। तर, भुक्तानी नपाएपछि निर्माण कम्पनीले काम रोकेको हो। एक वर्ष समय बित्नै लाग्दा हालसम्म २१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
विश्वविद्यालयलाई पटक–पटक ताकेता गर्दासमेत भुक्तानी नदिएपछि बाध्य भएर काम रोक्नुपरेको साईराम कन्स्ट्रक्सनका इन्जिनियर वसन्तकुमार साहले बताए। ‘चार करोड ७९ हजार ३१५ रुपैयाँ र तीन करोड ५१ लाख ३६ हजार ९८० रुपैयाँ गरी दुईवटा बिलको भुक्तानी माग गरेको छु, तर अझैसम्म भुक्तानी भएको छैन,’ उनले भने, ‘हामीले तोकिएको समयभित्र काम सम्पन्न गर्नका लागि लगानी गरिसकेका छौँ। तर, भुक्तानी नहुँदा समस्या भएकाले बाध्य भएर काम रोक्नुपरेको छ।’
मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार भगवान ठाकुरले सिनेट बैठकबाट बजेट तथा कार्यक्रम पास नहुँदा भुक्तानी दिन नपाएको बताए। ‘सिनेट बैठक अझैसम्म भएको छैन, अख्तियारी पनि नआउँदा सबै आर्थिक गतिविधि ठप्प छन्,’ उनले भने। विश्वविद्यालयको सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री रहने र निजले नै सिनेट बैठक बोलाउने प्रावधान छ। तर, लोसपाबाट शिक्षामन्त्री बनेकी रानीकुमारी तिवारीले बैठक बोलाउन आनाकानी गरिरहेको आरोप छ।
विश्वविद्यालयको निर्माणाधीन भवन शिलान्यास हुँदा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका समर्थकबिच झडप भएको थियो। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त भवनको शिलान्यास गर्न लाग्दा जनमतले विरोध जनाएको थियो। जसपा नेपाल नेतृत्वको प्रदेश सरकारले कृषि विश्वविद्यालयको स्थापना गरेकाले अहिले जनमत पार्टी नेतृत्वको सरकारले उक्त काममा असहयोग गरिरहेको जसपा नेपालका नेताहरूको आरोप छ।
गत कात्तिक ३० र पुस ५ मा कुलपतिको निर्देशनमा सहकुलपतिले बैठक डाके पनि पछि आफैँ स्थगित गरेपछि अझै अर्को मिति तय भएको छैन। मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री तिवारीले निर्माण कम्पनीलाई रकम भुक्तानी गर्न बाँकी रहेको स्वीकार गर्दै केही दिनभित्रै भुक्तानी हुने बताइन्।