स्मार्टफोन र सामाजिक सञ्जालको उदयपछि किशोर–किशोरीमध्ये पनि विशेषतः किशोरीको मानसिक स्वास्थ्यमा तीव्र रूपमा गिरावट आएको छ
गत वर्षको अन्त्यतिर अस्ट्रेलियाको संसद्ले सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावप्रति चिन्तित भएर अनलाइन सुरक्षा ऐन संशोधन गर्यो । यो संशोधनले टिकटक, स्न्यापच्याट, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा एकाउन्ट खोल्न प्रयोगकर्ता कम्तीमा १६ वर्ष उमेरको हुनैपर्ने प्रावधान राखेको छ । यो संशोधन सन् २०२५ को अन्त्यसम्ममा कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । यो कानुनमा अस्ट्रेलियाली संसद् र आमजनताको व्यापक समर्थन देखिन्छ, तथापि यसको आलोचना पनि नभएको होइन । कोही किशोर–किशोरीको मानसिक स्वास्थ्य समस्यासँग सामाजिक सञ्जाल प्रयोगको सम्बन्धलाई अस्वीकार गर्छन् । अन्यले यसलाई अभिव्यक्ति स्वतन्त्रताको उल्लंघनका रूपमा पनि हेरेका छन् । यस प्रयासलाई समर्थन गर्ने पनि यसलाई कार्यान्वयन गर्न कसरी सम्भव हुने हो भनेर आशंका व्यक्त गर्छन् ।
स्मार्टफोन र सामाजिक सञ्जालको उदयपछि किशोर–किशोरीमध्ये पनि विशेषतः किशोरीको मानसिक स्वास्थ्यमा तीव्र रूपमा गिरावट आएको कसैबाट लुकेको छैन । यो कानुनले तोकेका डिजिटल प्लेटफर्मले मानिसलाई आफ्नो साइटमा लामो समयसम्म राख्नका लागि एल्गोरिदम डिजाइन गर्छन् । यसले क्लिक बढाउँछ र यी क्लिकले विज्ञापन आम्दानी सुनिश्चित गर्छ । नतिजा ‘ग्यालप’को एक सर्वेक्षणअनुसार अमेरिकी किशोर–किशोरीले सामाजिक सञ्जालमा दैनिक औसत चार घन्टा ४८ मिनेट समय बिताउँछन् । स्मार्टफोन र सामाजिक सञ्जाल किशोर–किशोरीको फुर्सदको ठुलो हिस्सा हो, जसलाई उनीहरूले आफ्नो उमेर समूहका साथीसँग प्रत्यक्ष रूपमा अन्तत्र्रिmया गर्न सघाउँछ र वास्तविक विश्वका ठाउँ एवं वस्तुसँग समय बिताउन प्रयोग गर्छन् । सामाजिक मनोवैज्ञानिक तथा दि एंग्सियस जेनेरसन पुस्तकका लेखक जोनाथन हैड्टले ‘सामाजिक सञ्जाल मञ्चले बाल्यकाललाई पुनः आकार दिएको र मानव विकासलाई झन्डै कल्पना गर्न नसकिने तहसम्म परिवर्तन गरिदिएको’ बताएका छन् ।
किशोर–किशोरीको सामाजिक सञ्जालको अत्यधिक प्रयोग र बढी डिप्रेसन तथा छटपटी (एन्जाइटी) बिच सम्बन्ध रहेको देखिन्छ । तर, यो केवल सम्बन्ध हो वा कारण भन्ने अझै स्पष्ट भएको छैन । सामाजिक सञ्जालको प्रयोग घटाउँदा डिप्रेसन र चिन्ता कम हुन्छ कि भनेर परीक्षण गर्ने अध्ययन चुनौतीपूर्ण छन्, किनभने किशोर–किशोरीलाई आफ्ना साथीले प्रयोग गरिरहेका प्लेटफर्मबाट अलग गर्दा त्यति धेरै फाइदा नहुन सक्छ र उल्टै क्षति पुर्याउन सक्ने सम्भावना पनि रहन्छ । किशोर–किशोरीले वास्तविक विश्वमा अन्तत्र्रिmया बढाउन सामूहिक रूपमा सामाजिक सञ्जाल छोड्न आवश्यक छ । अत्यधिक सामाजिक सञ्जाल प्रयोगलाई चिन्ता र डिप्रेसनसँग जोडिएको प्रमाण भए पनि निष्कर्षमा पुग्नका लागि नियन्त्रण समूहसहितका कडा परीक्षण आवश्यक छन् । यस अर्थमा अस्ट्रेलियाले एक राष्ट्रिय प्रयोग सञ्चालन गरेर विश्वलाई सहयोग गरिरहेको हुन सक्छ । यो प्रयोगलाई तब मात्र सफल मानिनेछ, जब अस्ट्रेलिया किशोर–किशोरीले सामाजिक सञ्जालमा बिताउने समयलाई उल्लेखनीय रूपमा घटाउन सफल हुन्छ । नीति–निर्माताले १६ वर्षमुनिका बालबालिकाले एकाउन्ट खोल्नबाट रोक्न ‘उचित कदम’ नचालेका अवस्थामा नयाँ उमेर–सीमित सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीलाई भारी जरिवाना लगाएर आफ्नो लक्ष्य प्राप्त गर्ने योजना बनाएका छन् । यस ऐनले के–के ‘उचित कदम’मा पर्छन् भन्ने निर्धारण गर्ने जिम्मा अस्ट्रेलियाको इ–सेफ्टी कमिसनर (एक स्वतन्त्र वैधानिक कार्यालय) लाई सुम्पेको छ ।
ह्वाट्सएपलगायत मेसेजिङ एप र केही अनलाइन स्वास्थ्य एवं शैक्षिक सेवालाई यस कानुनले छुट दिनेछ । किशोर–किशोरीले एकाउन्ट नखोलीकनै युट्युब भिडियो वा सामाजिक सञ्जालका पेज (उदाहरणका लागि फेसबुकमा व्यापारिक ल्यान्डिङ पेज) हेर्न पाउनेछन् । अर्कातर्फ सरकारले ‘डिजिटल दायित्व’ सिर्जना गर्ने थप कानुन ल्याउने योजना घोषणा गरेको छ, जसले डिजिटल प्लेटफर्मलाई ज्ञात वा सम्भावित क्षति रोक्न जिम्मेवारी दिनेछ । यद्यपि विरोधाभाषी ढंगले अस्ट्रेलियाली कानुनले सामाजिक सञ्जालका कार्यकारी र प्रोग्रामरलाई फाइदा पुर्याउन सक्छ, जो बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने सम्भावित असरबारे सचेत छन् र यसबारे असहज महसुस गर्छन् । हाल नियमनको अभावको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि सामाजिक सञ्जाल मञ्चले बालबालिकाले एकाउन्ट खोल्नबाट रोक्न गम्भीर कदम चाल्ने हो भने त्यसले बालबालिकामा चासो राख्ने प्रतिस्पर्धीका तुलनामा अन्य प्रतिस्पर्धीले प्रयोगकर्ता गुमाउन सक्छन् । यो कानुनले सबै मञ्चका लागि समान अवसर सिर्जना गर्छ, जसले सामूहिक कार्यसम्बन्धी समस्या समाधान गर्छ ।
अस्ट्रेलियाको संविधानले आधारभूत अधिकार व्यापक स्पष्टतासाथ उल्लेख गरेका छैनन् । अमेरिकाका विपरीत अस्ट्रेलियाका अदालतले निर्वाचित संसद्को सर्वोच्चता स्वीकार गर्छन् । तथापि अस्ट्रेलियाको उच्च अदालतले संविधानका प्रतिनिधि र जवाफदेही सरकारको सिद्धान्तका आधारमा संसद्ले राजनीतिक सञ्चारमा अत्यधिक प्रतिबन्ध लगाउन नहुने निर्णय गरेको छ ।
अस्ट्रेलियाको कानुनले यो सिद्धान्तको उल्लंघन गरेको भन्ने सुझाव दिनेलाई एक सम्भावित जवाफ भनेको १६ वर्षमुनिका बालबालिकाले मतदान गर्दैनन् र त्यसैले तिनलाई राजनीतिक सञ्चारको कम आवश्यकता हुन्छ भन्ने हो । यसका अतिरिक्त भार अनुपातिक छैन पनि भन्न सकिन्छ, किनभने सामाजिक सञ्जालबाट हुने क्षति गम्भीर छ र यसैले कानुनमा समावेश गरिएको थोरै प्रतिबन्धलाई न्यायिक दायरामा ल्याउन सक्षम बनाउँछ । अस्ट्रेलियाली सरकारले राजनीतिक सञ्चारमा सीमित सामाजिक सञ्जाल प्लेटफर्मलाई पनि छुट दिन सक्छ, यद्यपि यसका लागि सरकारले कुन सञ्चार राजनीतिक हो र कुन होइन भनेर निर्धारण गर्नुपर्ने हुन्छ ।
(सिंगर प्रिन्सटन विश्वविद्यालयका बायो इथिक्सका इमिरेट्स प्राध्यापक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट