उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताएका छन्। मंगलबार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवं उपप्रमुहरूसँग गरेको प्रस्तावित बागमती कार्ययोजनामाथि छलफल कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।
‘बागमती कार्ययोजना टुटेको थियो। फेरि यसलाई निरन्तरता दिएका छौँ। बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अगाडि बढाउँछौँ, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ,’ उनले भने, ‘यहाँको वातावरण सुहाउने गरी योजना अघि बढाउँछौँ। कार्ययोजनामा छलफलमा आएका सुझावहरू समेटेर, सरोकारवालाहरूसँग छलफल गरेर अन्तिम रूप दिन्छौँ।’
बागमती कार्ययोजनाले बागमती नदी प्रणालीमा रहेका १७ वटा अन्य नदीको समेत अध्ययन गरी प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपसहरी क्षेत्र, सहरी क्षेत्र र तल्लो क्षेत्र गरी पाँच भागमा वर्गीकरण गरेर अध्ययन गर्नेछ। २० वर्षे कार्ययोजनाको लागत अनुमान दुई खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए।
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारसम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना २०२४–४४ माथि छलफल आयोजना गरेको हो। छलफलमा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कार्ययोजना सकारात्मक रहेको भन्दै हरियाली जोगाउने गरी प्रकृतिमैत्री रूपमा योजना अघि बढाउनुपर्ने धारणा राखेका थिए।