मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी कसुरकी प्रतिवादी अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन्।
सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी एवं सहकारीकी पूर्वसञ्चालक समिति सदस्य अञ्जला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन्। सहकारी ठगी कसुरमा सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मुद्दा दर्ता गरेपछि विराटनगरस्थित विराट रात्रि माविकी शिक्षिकासमेत रहेकी अञ्जला फरार थिइन्।
अदालतमा हाजिर भएपछि उनको बुधबार नै जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा बयान भइरहेको छ। बयानपछि हुने थुनछेक बहस सकिएपछि उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि हिरासतमा पठाउने भन्ने आदेश सम्भवतः बुधबार नै आउन सक्ने अदालतका सूचना अधिकारी होमकुमार बुढाथोकीले बताए।
२७ मंसिरमा २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार सात सय रुपैयाँ बिगो दाबी गर्दै सहकारीको रकम हिनामिना कसुरमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा एकजना वर्तमान सञ्चालक रोशन राजवंशी पुर्पक्षका लागि थुनामा गएका छन् भने पूर्ववडाध्यक्ष सन्तलाल खवास पाँच लाख धरौटीमा छाडिएका छन्।
उक्त मुद्दामा अझै २३ जना फरार छन्। प्रहरीले अध्यक्ष शम्भु रौनियारसहित २५ जनाविरुद्ध नै अदालतबाट पक्राउ पुर्जी लिएको थियो। तर, हालसम्म प्रहरीबाट कोही पनि पक्राउ परेका छैनन्। पुर्पक्षमा गएका राजवंशी पनि आफूलाई पीडित बताउँदै सहयोग गर्छु भन्दै प्रहरीमा आफैँ हाजिर भएका थिए।