युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल नेपालगन्ज र काठमाडौंमा हुन सक्ने बताएका छन् । प्रतियोगिताको सचिवालयको बुधबार उद्घाटन गर्दै मन्त्री चौधरीले खेलस्थलको चाँडै टुंगो लगाइने जानकारी दिए । उनका अनुसार आवासको निरीक्षण भइरहेको छ । ‘आवश्यक पूर्वाधार अभावले दशौँ राष्ट्रिय खेलकुदका केही खेल नेपालगन्ज र काठमाडौंमा पनि हुन सक्नेछ,’ मन्त्री चौधरीले भने, ‘अधिकांश खेल कर्णालीमै हुनेछ । त्यस्तै, कर्णाली प्रदेशको खेल पूर्वाधार, बाटो र होटेललगायत अवस्थाबारे पनि निरीक्षण भइरहेको छ ।’
२१ मंसिरमा बसेको राखेप बोर्ड बैठकले प्रतियोगिता २३ देखि ३० चैतसम्म हुने निर्णय गरेको थियो । राखेपले ३६ मध्ये २४ खेल मात्रै कर्णाली प्रदेशमा हुन सक्ने बताउँदै आएको छ । १७ खेलका स्पर्धा सुर्खेतमा हुनेछ । मन्त्री चौधरीले ३ माघमा बस्ने राखेप बोर्ड बैठकमा दशौँ राष्ट्रिय खेलकुदबारे थप छलफल हुने बताए । यसअघि २ देखि ९ मंसिरसम्म हुने भनिए पनि राखेप बोर्ड बैठक बस्न नसक्दा प्रतियोगिता निर्धारित समयमै हुन सकेको थिएन । गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएपछि कर्णालीले दशौँ आयोजना गर्न झन्डा लिएको थियो ।
दशौँ राष्ट्रिय खेलकुदको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन त्रिपुरेश्वरस्थित राखेप कार्यालय भवनको दोस्रो तलामा सचिवालय सञ्चालनमा ल्याइएको हो । मन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुद भव्य, सभ्य र उत्कृष्ट हुने बताए ।
प्रदेशलाई जिम्मेवारी दिइने
राखेपका सदस्यसचिव टंकलाल घिसिङले देश संघीय संरचनामा गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई अझ धेरै जिम्मेवारी दिने बताएका छन् । सदस्यसचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोसाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी पनि प्रदेशलाई नै दिइने स्पष्ट पारे । घिसिङले दशौँ राष्ट्रिय खेलकुदको सचिवालयको उद्घाटन पहिलो चरणको काम मात्र भएको बताए । उनका अनुसार प्रतियोगिताको तालिका, पुरस्कार, उद्घाटन, समापनलगायतका विषयमा क्रमैसँग सार्वजनिक गरिनछ ।