रामेछाप जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाले लिखु नदीबाट ढुंगा, गिटी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको छ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को काम भइरहेकाले उक्त प्रक्रिया पूरा नभएसम्म नदीजन्य पदार्थ उत्खनन, बिक्री–वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको जनाएको हो।
पालिकाको सोमबार बसेको बैठकले गाउँपालिकाअन्तर्गत लिखु नदीमा ढुंगा, गिटी, बालुवा उत्खनन तथा बिक्री–वितरणका लागि इआइए प्रतिवेदन तयार गर्न तत्काल प्रक्रिया अगाडि बढाउने गरी उत्खनन तथा बिक्री–वितरणमा रोक लगाएको प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारीले जानकारी दिए।
लिखु नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले नदीमा छाड्नुपर्ने १० प्रतिशत पानीसमेत नछोडी मनलाग्दी तरिकाले नदीजन्य पदार्थ उत्खनन गर्दै आएपछि गाउँपालिकाले उत्खननमा रोक लगाएको हो।