सिराहाको गोलबजार नगरपालिका वडा नम्बर २, ३ र ६ अन्तर्गतका तीनवटा गाउँबाट रोजगारीका लागि भारतको कस्मिर श्रीनगर पुगेका १२० जना नेपाली कामदार चरम श्रम शोषणमा परेका छन् । बन्धक बनाएर काममा लगाइएका उनीहरूलाई ज्याला माग्दा ज्यान मार्ने धम्की दिइन्थ्यो । स्थानीय ठेकेदारको प्रलोभनमा परेर आठ महिनापछि पारिश्रमिकसमेत नपाई रित्तो हात फर्किएकामध्ये ४५ जनाले आइतबार वडा कार्यालयमा पारिश्रमिक दिलाइदिन निवेदन दिएका छन् ।
गत चैत, वैशाख र जेठमा तीन चरणमा गरी गोलबजार– ३ जम्दहका हरिचन सदा र नाम नखुलेका उनका सम्धीमार्फत ४०–४० जनाको दरले १२० जना नेपाली कामदार भारतको कस्मिर पुर्याइएको गोलबजार नगरपालिका– ३ भाङबारीका ३१ वर्षीय वीरेन्द्र सदाले बताए । आकर्षक रोजगारी दिलाइदिने भन्दै लगिए पनि भवन निर्माणको काममा लगाइएको र आफूहरूमाथि चरम यातना भएको उनले बताए । महिना बित्नेबित्तिकै ज्याला दिलाइदिने भनेका ठेकेदार सदा आफू भने बिचबाटोबाटै फर्किएको र अहिले फरार रहेको सदाले बताए ।
‘घर खर्च पठाउन भारतीय ठेकेदारसँग पारिश्रमिक माग्दा दिनहुँ कुटपिट गर्थ्यो । धेरै हल्ला गर्यो भने मारेर फ्याँकिदिन्छु भन्दै धम्क्याएर श्रम शोषण गर्यो । मजदुरीका लागि भारत जाने वेला गाउँले ठेकेदार हरिचन सदाले दिएको सात हजार छाडेर गएँ । फर्किने वेलामा दुई हजार रुपैयाँ भाडा पाएँ, मासिक ३३ हजार रुपैयाँको दरले आठ महिनामा हुने दुई लाख ५७ हजार रुपैयाँ अझै पाएको छैन,’ उनले भने । स्थानीय ठेकेदार सदाले मासिक ३३ हजार रुपैयाँ पारिश्रमिक पाइन्छ भन्दै गत चैतमा कस्मिरको ललरपुरा पुर्याइएलगत्तै मोबाइलसमेत खोसेर बन्धक बनाई आठ महिनासम्म भवन निर्माणको काममा आफूहरूलाई लगाइएको उनको भनाइ छ ।
कस्मिरबाट जसोतसो ज्यान जोगाएर वीरेन्द्रसँगै गाउँ फर्किएका ३५ वर्षीय सुन्दर सदाले भारतीय ठेकेदारले दिनहुँ कुटपिट गर्दै राम्ररी खानसमेत नदिई काममा जोताएको गुनासो गरे । ‘कस्मिर पुगेलगत्तै हामीसँग भएको सबैको मोबाइल खोसियो,’ उनले भने, ‘दैनिक १२–१४ घण्टासम्म विश्राम नगरी काममा जोताउँथे, तर एक छाक मात्र खान दिन्थ्यो । पेटभरि खान र काम गरेको ज्याला मागे कुटपिट गरिहाल्थे । घरमा फोन गर्दा भारतीय ठेकेदारकै मोबाइलबाट कुरा गर्नुपर्थ्यो, कुटपिटको डरले जे बोल्न भन्थ्यो, त्यही बोल्थ्यौँ ।’
भारतीय ठेकेदारको आँखा छलेर भागी नेपाल फर्केका भाङबारी गाउँका ३७ वर्षीय अनिरुद्ध सदाले मजदुरी गरेको पारिश्रमिकसमेत नपाएकाले बाटामा माग्दै, रेलमा विनाटिकट सास्ती झेलेर घर फर्किएको सुनाए । ‘गत कात्तिकमा कस्मिरबाट भारतीय ठोकेदारको आँखा छलेर भाग्न सकेँ । फर्किएपछि कस्मिरमा आफूहरूले भोगेको दुःख र सास्तीबारे गाउँलेलाई सुनाएँ,’ उनले भने । त्यसपछि गाउँलेले हरिचनलाई गाउँका अन्य मजदुरहरू सकुशल फिर्ता गराउन दबाब दिएपछि दुई–दुई हजार रुपैयाँ भाडा लिएर गाउँ फर्किएको उनले बताए ।
गाउँ फर्किने वेला गाउँले ठेकेदार हरिचनले भारतीय ठेकेदारलाई फोनमार्फत १५ लाख भारु आफ्नो खातामा जम्मा गरिदिन र काममा लगाएका मजदुरहरूलाई भाडा मात्र दिएर फर्काउन भनेको ४५ वर्षीय विनोदकुमार सदाले बताए । कस्मिर पुगेलगत्तै आफ्नो मोबाइल खोसेर कम्पाउन्डसहितको घरमा राखेर भारतीय ठेकेदारले भनेअनुसार काम गर्न बाध्य भएको उनीहरूको गुनासो छ ।
महिनौँसम्म राम्ररी खानसमेत नपाएर जोखिमपूर्ण काममा लगाइएका मजदुरमध्ये अधिकांश बिरामी परेको स्थानीय ४८ वर्षीया जलास सदाले बताइन् । ‘मेरो छोरो विवेक पनि बिरामी भएर फर्किएको छ,’ उनले भनिन्, ‘कमाउन गएको छोरा कुटपिटले बिरामी भएर फर्कियो ।’ गाउँमा ऋण–सापटी गरेर उपचार गराएपछि बल्ल हिँड्डुल गर्न सक्ने भएको उनले बताइन् ।
‘पीडित मजदुरहरूले दिएको निवेदनका आधारमा न्यायका लागि पहल गर्नेछु,’ वडाध्यक्ष धनप्रसाद लामाले भने । आफ्नो वडा क्षेत्रबाट गएकामध्ये ४५ जनाले गाउँ छोड्ने वेला तीन लाख ८५ हजार पाँच सय रुपैयाँ पेस्की लिएर गएको निवेदनमा उल्लेख रहेको उनले बताए । ‘निवेदनकै आधारमा पनि भारत लैजाने वेला कबोल गरिएबमोजिम ९५ लाख १४ हजार पाँच सय रुपैयाँ पारिश्रमिक बाँकी देखिन्छ,’ लामाले भने ।
सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले झुक्याएर भारत पुर्याई जोखिमपूर्ण काममा लगाइए पनि पारिश्रमिक नपाएको विषयमा कार्यालयमा कुनै उजुरी नपरेको बताए । ‘पीडितहरूले निवेदन दिए त्यसका आधारमा छानबिन गरी स्थानीय ठेकेदार झिकाएर पारिश्रमिक दिलाउन पहल गरिनेछ,’ उनले भने । सिराहाका विभिन्न स्थानबाट भारतमा आकर्षक रोजगारी दिलाइदिने भन्दै कामदार लैजाने स्थानीय ठेकेदार हरिचन सदा फरार भएका छन् । पीडितहरूले आफूविरुद्ध कारबाहीका लागि प्रशासन र वडा कार्यालय जाने तयारीको सूचना पाएपछि उनी श्रीमतीसहित सम्पर्कविहीन भएका हुन् ।
इँटा, ढुंगा, गिट्टी, बालुवा बोक्नुपर्थ्यो, पैसा मागे ठेकेदारले मारिदिने धम्की दिन्थ्यो : वीरेन्द्र सदा
०८० चैतको दोस्रो हप्तातिर हरिचन सदा, नातामा उनको सम्धी पर्नेले गाउँमा अपरिचित दुईजना व्यक्ति लिएर आए । कस्मिरमा मासिक ३३ हजार रुपैयाँ पारिश्रमिक हुन्छ, काम भवन निर्माणको होे भनेपछि लोभियौँ । हरिचन र उनका सम्धीसँग आएकामध्ये एकजना डिल्ली धमला र अर्का एकजनाको नाम थाहा छैन । हरिचनसहितका चारजनाले गोलबजार– ३ भाङबारी र वडा नम्बर २ मा पर्ने नवटोली गाउँका मुसहर समुदायलाई हाम्रै गाउँमा भेला गराएर कामबारे सुनाए । काम गरेको ज्याला दैनिक एक हजार एक सय रुपैयाँ पाइन्छ भन्दै प्रलोभन देखाए । भवन निर्माणको काममा राम्रो पारिश्रमिक पाइने सुनाएपछि तीनवटा गाउँका १२० जना मुसहर समुदायका मजदुरहरू श्रीनगर जान सहमत भयौँ ।
त्यही दिन गाउँमा रक्सी र मासु पनि खुवाए । कस्मिर जान तयार भएकाहरूको परिवारलाई पछि पारिश्रमिकबाट कट्टा हुने गरी पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म पेस्कीसमेत दिएपछि विश्वास नगर्ने कुरा पनि भएन । मलाई पनि पेस्कीबापत सात हजार रुपैयाँ दिएपछि फुरुंग भएँ । हरिचनले तोकिएको पारिश्रमिक महिना बितेलगत्तै दिने भनेर ग्यारेन्टी लिएपछि श्रीनगर जान तयार भयौँ । त्यसको करिब एक सातापछि भारतको कस्मिर जान पहिलो चरणमा मसहित ४० जना गाउँबाट निस्कियौँ ।
पहिलो चरणमा गाउँबाट गएका मसहित ४० जनालाई लहान हुँदै बसबाट भारतीय बजार लौकहा पुर्याएर त्यहाँबाट रेल चढाएर दुई दिनमा श्रीनगर पुर्याए । हामीलाई रेल चढाउन गएका हरिचन ‘राम्ररी काम गर्नु, पारिश्रमिकमा तलमाथि हुँदैन’ भन्दै लौकहाबाटै फर्किए । श्रीनगर पुगेलगत्तै हाम्रो मोबाइल खोसेर एउटा घरमा बन्धक बनाएर राखियो । त्यसपछि दैनिक एक छाक खाना खुवाएर अग्ला–अग्ला भवन निर्माणको काममा लगाइयो । हामी श्रीनगर पुगेको दुई महिनाभित्र दुई चरणमा छिमेकी गाउँका थप ८० जनालाई पनि त्यहीँ पुर्याइयो, तर उनीहरूलाई नजिकै अर्को घरमा राखिएको थियो । काम भने अलग–अलग ठाउँमा गर्नुपर्थ्यो । उनीहरूलाई पनि एक छाक मात्र खान दिइन्थ्यो । दिउँसो सामान्य खाजाको घरमै इँटा, ढुंगा, गिट्टी, बालुवा बोक्नुपर्थ्यो । महिना बितेपछि घरखर्च पठाउन ज्याला माग्दा भारतीय ठेकेदारले उल्टै कुटपिट गर्थे । घरमा कुरा गर्छु भन्दा उसैले आफ्नो मोबाइल दिएर कुरा गर्न लगाउँथ्यो । आफूहरूलाई परेको अप्ठ्यारोको बारेमा घरमा सुनाउनै पाउँदैनथ्यौँ । करिब आठ महिनासम्म यातना झेलेपछि जसोतसो ज्यान जोगाएर गाउँ फर्किएपछि सामाजिक छलफल राख्दा हरिचनले मासिक १५ हजार रुपैयाँको दरले एक महिनाको अवधिमा १२० जनाको पारिश्रमिक उपलब्ध गराउने कबोल गरे । त्यसपछि उनी श्रीमतीसहित गाउँबाट फरार भएका छन् ।