सन् १९९७ देखि २०१२ को बिच जन्मिएका जेन–जी पुस्ता अहिले १२ देखि २८ वर्षको उमेरमा छ, जो अहिलेका युवा मात्रै नभई नजिकको भविष्यका वाहक पनि हुन् । जेन–जी पुस्ता अहिले आफ्नो जीवनको महत्वपूर्ण चरणमा छ, उनीहरूको स्वास्थ्य र जीवनशैलीले उनीहरूको व्यक्तिगत जीवन मात्रै नभई राष्ट्रको भविष्य पनि निर्धारण गर्छ । तर, आधुनिक अर्थतन्त्र, सामाजिक संरचना र प्रविधिमा भएको प्रगतिले युवा जोस र सिर्जनात्मकतामा धेरै निर्भर गरेको अहिलेको अवस्थामा प्रश्न उठ्छ– के जेन–जी पुस्ता यो जिम्मेवारीको भार वहन गर्न तयार छ ?
राष्ट्रको विकासका लागि स्वस्थ र सक्षम युवा एउटा अनिवार्य सर्त हो । जेन–जी पुस्ताको शारीरिक तथा मानसिक स्वास्थ्यले भावी उत्पादनशीलता, आर्थिक स्थिरता र सामाजिक समृद्धिमा प्रत्यक्ष असर पार्छ । सामान्यतया कमजोर स्वास्थ्य भएको जनशक्तिले कम उत्पादन गर्ने, स्वास्थ्य उपचारमा ठुलो खर्च गर्ने र विकासमा अवरोध खडा गर्ने जोखिम हुन्छ, जसको सामाजिक प्रभाव असमानता, गरिबी र जलवायु परिवर्तनजस्ता सामाजिक चुनौतीहरूको समाधानसम्म जोडिएको हुन्छ । साथै, भविष्यको नेतृत्व र आविष्कारसमेत तिनको निर्णय–क्षमता, गहन सोच, शारीरिक सहनशीलता र मानसिक स्पष्टतामा निर्भर गर्छ ।
जेन–जीको जीवनशैली : जानकार, तर लापरबाह
अहिलेको पुस्ता स्वास्थ्य र जीवनशैलीप्रति ‘अप टु डेट’ छ । फिटनेस ट्रेन्ड र माइन्डफुलनेस एपहरूदेखि प्लान्ट–बेस्ड डाइट उनीहरूको जीवनशैलीको हिस्सा बनेको छ । साथै कुन व्यायाम वा खानपानले शरीरमा कस्तो असर पार्छ वा फाइदा हुन्छ भन्ने विषयमा समेत उनीहरू अघिल्लो पुस्ताको तुलनामा निकै जानकार देखिन्छन् । तर, स्वस्थ जीवनशैलीसँग परिचित जेन–जी पुस्ता व्यावहारिक भने देखिँदैन । खानपान, निद्रा र व्यायामका दृष्टिले उनीहरूको दैनिकी निकै अव्यवस्थित देखिन्छ ।
फुर्सदको अत्यधिक समय शारीरिक व्यायामभन्दा बढी सामाजिक सञ्जालमा बिताउने भएकाले समेत अहिलेको युवा पुस्ता स्वास्थ्यका दृष्टिकोणले कमजोर बन्दै गएको छ, जसको असर मानसिक समस्याको बढ्दो ग्राफले स्पस्ट देखाउँछ । पछिल्ला अध्ययनहरूले मानसिक समस्याबाट बढी प्रभावित हुनेहरूमा युवाहरूले ठुलो हिस्सा ओगटिरहेको देखाएका छन् । अर्थात्, जेन–जी पुस्ताको अधिकांश हिस्सा तनाव, चिन्ता र डिप्रेसनको सिकार बनिरहेको छ । अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपिए)को पछिल्लो एक अध्ययनले प्रत्येक १० जनामध्ये नौ अर्थात् ९१ प्रतिशत युवाले तनावका कारण शारीरिक वा भावनात्मक लक्षणहरू अनुभव गर्ने गरेको देखाएको छ ।
सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण मानसिक समस्याहरू बढ्दै जानु चिन्ताजनक विषय हो । साइबरबुलिङ, अनलाइनमार्फत हुने हिंसा, पर्दाको जीवनशैलीलाई आफूसँग तुलना गर्नु वा वास्तविक मान्नु र व्यक्तिगतभन्दा अनलाइन व्यक्तित्व कायम राख्न आफू वा परिवारलाई दबाब दिनुजस्ता आफैँले निम्त्याएका समस्या अहिलेको पुस्ताका लागि अभिशाप बन्दै गएका छन् । यस्तै, युवाहरू आर्थिक अस्थिरता र रोजगारसम्बन्धी तनावले समेत मानसिक समस्याको सिकार बनिरहेको विभिन्न अध्ययनले देखाइरहेका छन् । महँगो जीवनयापन, अस्थिर अर्थव्यवस्था, सीमित रोजगारी र स्थिर तलबजस्ता कुराले यी तनावलाई झन् बढाएका छन् ।
जेन–जी पुस्ताको अस्वस्थकर जीवनशैलीमा डिजिटल परनिर्भरताले मुख्य भूमिका खेलेको छ । खानपानको संस्कृतिदेखि पहिरन, बोलिने भाषा वा व्यवहार र पेसाको रोजाइसम्म सामाजिक सञ्जालको संसारमा निर्भर हुन थालेको छ । यसरी सिर्जित अपेक्षाहरू पूरा नहुँदा एन्जाइटी, डिप्रेसन, एडिएचडीसँगै शारीरिक रोगको समेत भार थोपरिरहेको छ ।
लामो ‘स्क्रिन टाइम’ले आँखाको समस्या, एउटै आसनमा लामो समयसम्म बस्दा ढाडमा देखिने समस्याका साथै शारीरिक निष्क्रियता बढ्दै जाँदा निस्कने विभिन्न दीर्घरोगसमेत बढिरहेका छन् । साथै, अति प्रशोधित खानाको अत्यधिक उपभोगका कारण कमजोर पोषणले निम्त्याउने मोटोपनसम्बन्धी जटिलता पनि युवाको टाउको दुखाइको कारण बनेको छ ।
फुर्सदको अत्यधिक समय शारीरिक व्यायामभन्दा बढी सामाजिक सञ्जालमा बिताउने भएकाले समेत अहिलेको पुस्ता स्वास्थ्यका दृष्टिकोणले कमजोर बन्दै गएको छ, जसको असर मानसिक समस्याको बढ्दो ग्राफले स्पस्ट देखाउँछ।
रोगका भार पछिल्लो पुस्तामा बढ्दै जानुको अर्को कारण डिजिटल उपकरणहरूको उच्च प्रयोगका कारण निम्तिने अनिद्रा र त्यससँगै जोडिएर आउने शारीरिक एवं मानसिक रोग पनि हो । पर्याप्त निद्राको अभावले रोगप्रतिरोध प्रणाली र संज्ञानात्मक क्षमतामा असर पु¥याउँदाका जोखिमसमेत अहिलेको पुस्ताले खेपिरहेको छ । एन्जाइटी, डिप्रेसन, आत्महत्या, एडिएचडीका साथै मोटोपन, मधुमेह, माइग्रेन, हृदयाघात, स्ट्रोक, दम वा श्वास–प्रश्वाससम्बन्धी समस्या र विभिन्न संक्रमणबाट अहिलेको पुस्ता बढी प्रभावित छ । जसमा बदलिँदो बाहिरी वातावरण, जलवायु परिवर्तन, प्रदूषण र प्यारेन्टिङ मोडेल (लालन–पालनको तरिका)ले समेत प्रत्यक्ष भूमिका खेलिरहेको छ ।
अहिलेको किशोर एवं युवा मृत्युदरका मुख्य कारणहरूले वातावरणसँग बलियो सम्बन्ध राख्ने विश्व स्वास्थ्य संगठनले समेत औंल्याएको छ, जसमा अनावश्यक चोटपटक र संक्रामक रोगहरू समावेश छन् । अहिले युवा अनुचित जीवनशैलीका कारण वातावरणीय जोखिम र प्रदूषणको बढ्दो जोखिममा छन् । वायु प्रदूषण, रसायन र गह्रुँगा धातुजन्य प्रदूषण, जलवायु परिवर्तन, विकिरण, अस्वस्थ सहरी स्वास्थ्य र सरसफाइजस्ता विविध समस्याले अबका पुस्ताको स्वास्थ्यलाई जटिल बनाउँदै लगेको डब्लुएचओले जनाएको छ ।
यी समस्याले सामाजिक सञ्जालको दबाब र ‘काम र व्यक्तिगत जीवन’बिच सन्तुलनको तनावपूर्ण जीवन बाँचिरहेको अहिलेको पुस्ताको व्यक्तिगत जीवनलाई मात्र प्रभावित गर्दैन, समाजव्यापी नकारात्मक प्रभावसमेत पारिरहेको छ । यद्यपि, वैश्विक स्तरका हरेक परिघटनासँग अद्यावधिक रहने यो पुस्ता परिवर्तनसँग अनुकूल हुने क्षमता र विविधता स्वीकार गर्ने मानसिकताले चिनिन्छ । मानसिक स्वास्थ्यलाई समाजले अपेक्षा गरेभन्दा बढी प्राथमिकता दिन सक्ने क्षमता र समस्यासँग जुध्न पर्याप्त विकल्प भएको पुस्तासमेत हो यो पुस्ता । एआईको युगमा हुर्किरहेको यो पुस्ताका प्राथमिकतासमेत बदलिरहेको छ । उनीहरूले जानकारीलाई व्यवहारमा बदल्न सक्ने हो भने मानव जीवनशैलीमै परिवर्तन ल्याउन सक्छन् । शारीरिक रूपमा निष्क्रिय जीवनशैलीले निम्त्याएका स्वास्थ्य समस्यासँग जुध्न समयमै दैनिकी बदल्न निकै आवश्यक देखिएको छ ।
फास्टफुड र प्रशोधित खानामा बाँचिरहेको यो पुस्तासँग खानपानलाई व्यवस्थित बनाउनुपर्ने चुनौती छ । स्क्रिनमा देखिने आकर्षक खानाभन्दा स्थानीयस्तरमा पाइने अर्गानिक र घरमा बनेको खानाले बढी फाइदा गर्छ भन्ने बुझाउन अभिभावक र विद्यालयसमेत लाग्नुपर्ने देखिन्छ । जेन–जी पुस्ताको खानपान र जीवनशैली वास्तविकतामा भन्दा बढी स्क्रिनमा निर्भर हुनु र दैनिकी अस्तव्यस्त हुनुमा यो पुस्ता हुर्काउने अभिभावक पनि उत्तिकै जिम्मेवार छ । खानासँगै माइक्रोप्लास्टिक र श्वाससँगै प्रदूषण पान गरिरहेको यो पुस्तालाई स्वस्थ जीवनयापन गराउन अभिभावक र सरकारसमेत गम्भीर हुनुपर्छ ।
स्वस्थ जीवनयापनका लागि प्रयास
विद्यालयदेखि नै करिअर बनाउने होडमा रहेको जेन–जी पुस्ताको स्वस्थ भविष्यका लागि सामूहिक प्रयास आवश्यक छ । विद्यालय र कलेजहरूले पोषण, मानसिक स्वास्थ्य र शारीरिक फिटनेसमा केन्द्रित स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । ‘डिजिटल डिटक्स’जस्ता अभ्यासलाई प्रोत्साहन गर्नु र स्क्रिन समय घटाउने गतिविधिहरूलाई बढावा दिनु अत्यावश्यक बनिसकेको छ । यसका लागि नीतिगत हस्तक्षेपहरू अर्थात् सरकारले सुलभ स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य स्रोत र युवामुखी कार्यक्रमहरूमा लगानी गर्न सक्नुपर्छ ।
जेन–जी पुस्ता भोलिलाई नेतृत्व गर्ने पुस्ता हो । यसैले उनीहरूको स्वतन्त्र र बेपरवाह जीवनशैलीले सिर्जना गरेका चुनौतीहरूको सामना गर्न ध्यान दिनु अत्यन्त आवश्यक छ । युवाको स्वास्थ्यमा लगानी गर्नु केवल व्यक्तिगत जिम्मेवारी होइन, यो सामूहिक र राष्ट्रिय प्राथमिकता नै बन्न सक्नुपर्छ । यो पुस्तालाई सशक्त बनाउन स्वस्थ खानपान र जीवनशैलीमा लगानीका लागि हामीले सामूहिक रूपमा काम गर्नुपर्छ ता कि सबैका लागि स्वस्थ, सबल र समृद्ध भविष्य निर्माण गर्न सकियोस् ।
(बस्नेत काठमाडौं मेडिकल कलेजमा आबद्ध छिन्)