सप्तरीको विष्णुपुर गाउँपालिकाले गरेको शिक्षक सरुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत जनकपुरले अन्तरिम आदेश गरेको छ। उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय वामदेव ज्ञवाली र पूर्णप्रसाद राजवंशीको संयुक्त इजलासले गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
‘विष्णुपुर गाउँपालिकाले बनाएको शिक्षा ऐन, २०७९ को दफा २५ (४)बमोजिम विशेष अवस्थामा बाहेक शिक्षकको सरुवा शैक्षिक सत्रको सुरु वा अन्त्यमा मात्र गरिने व्यवस्था गरेकोमा यी निवेदकलाई शैक्षिक सत्रको बिचमा सरुवा गरेको देखियो। विपक्षीले गरेको सरुवा निर्णयमा सरुवा गर्नुपर्ने विशेष अवस्था उल्लेख भएको देखिँदैन,’ अन्तरिम आदेशमा भनिएको छ।
शैक्षिक सत्रको बिचमै गरिएको सरुवा निर्णयबाट विद्यार्थीको पठनपाठनमा प्रतिकूल असर पर्न जाने औँल्याउँदै अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म गाउँपालिकाले गरेको सरुवाको निर्णय कार्यान्वयन नगर्न विपक्षीको नाममा अन्तरिम आदेश दिएको छ।
विष्णुपुर गाउँपालिकाले कात्तिक ३० गतेको निर्णयअनुसार मंसिर २० गते सरुवापत्र दिएपछि शिक्षक शिवनन्दन यादवसहित पाँचजनाले पुस ९ गते अदालतमा मुद्दा दायर गरेका थिए।