नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई पूरा गराउन सडकमा जाने अवस्था आउन सक्ने बताएका छन्।
राज्यद्वारा बेपत्ता योद्धा राजेन्द्र ढकालको २६औँ स्मरण दिवसको अवसरमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन्।
शान्ति प्रक्रियालाई राजनीतिक सहमतिकै आधारमा टुंग्याउनुपर्छ भनेर निरन्तर लागिरहेको उल्लेख गर्दै उनले केही राजनीतिक शक्तिले यसलाई माओवादीविरुद्ध प्रयोग गर्ने हतियारको रूपमा लिएका कारण टुंगिन समस्या भएको बताए।
‘अघिल्लो संसद्कै वेलामा विधेयक टुंग्याउनका लागि सहमति भएको थियो, तर अन्तिममा समस्या आयो,’ उनले भने, ‘यसपटक विधेयक टुंगिएर पनि आयोग गठनका लागि सिफारिस समिति बनेको वेलामा अन्तिम समयमा समस्या आएको छ। यसको मुख्य कारण राजनीतिक नै हो। शान्ति प्रक्रियालाई माओवादी कमजोर बनाउने अन्तिम हतियारको रूपमा लिइएकाले नै यो नटुंगिएको हो।’
निरन्तर यो विषयलाई उठाउँदै पीडितहरू पनि सडक आन्दोलनको तयारीमा जुट्नुपर्ने प्रचण्डको भनाइ छ। सरकार र राजनीतिक नेतृत्वलाई दबाब दिएर ‘अब शान्ति प्रक्रिया नटुंग्याए बर्बाद हुन्छ’ भन्ने ठाउँमा नपुर्याएसम्म अर्को १८ वर्ष यत्तिकै जाने खतरा रहेको उनले बताए।
१२ बुँदे समझदारी र शान्तिसम्झौता संविधानको अंग भइसकेपछि अब संविधान कार्यान्वयन गर्नु राज्यको दायित्व भएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले यसमा गम्भीर हुन सरकारलाई आग्रह गरे। उनले चाँडै अन्य प्रमुख दलका शीर्ष नेताहरूसँग भेटेर यो विषयमा ध्यानाकर्षण गराउने बताए।