लस एन्जलसको उपनगरीय क्षेत्रमा जंगली डढेलोको असर पर्न थालेपछि त्यस भेगका दसौँ हजार मानिस आफ्ना घरबाट भागेका छन् । अमेरिकी मिडियाका अनुसार उच्च वर्गीय प्यासिफिक पालिसेड्स बस्तीनजिकै आगो निभाउने क्रममा कम्तीमा एक दमकलकर्मी घाइते भएका छन् । केही अन्य मानिस जलेको खबर आएको छ ।
भयानक हुरीले आगोलाई फैलाएकाले डढेलो नयाँ स्थानतर्फ पनि सल्किँदै गएको छ । डढेलोको कारण बुधबार बिहान लस एन्जलसको आकाश धुवाँको विशाल पर्दाले ढाकिएको देखिन्थ्यो ।
सहरका मेयर करेन बासले बुधबार बिहान एक्समा पोस्ट गर्दै स्थिति थप खराब हुने चेतावनी दिएका छन् । लस एन्जलस टाइम्सका अनुसार पालिसेड्समा केही दमकलकर्मीले हाइड्रेन्टमा पानीको कमी सामना गरिरहेका छन् ।
त्यहाँको आगो अहिलेसम्म लगभग तीन हजार एकडमा फैलिसकेको छ । लस एन्जलसको उत्तरमा अवस्थित अल्टाडेनावरपरका दुई हजार दुई सय एकडमा पनि आगजनी नियन्त्रणबाहिर पुगेको एएफपीले जनाएको छ ।