मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ पौष २३ मंगलबार १२:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलिब्रिज जडान गर्न तातोपानी नाका बन्द हुने

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १२:o७:oo

गत असोज १२ गतेको बाढीले बगाएको लिपिङखोला पुलमा बेलिब्रिज जडान गर्ने तयारी भएको छ। वैकल्पिक मार्ग नभएकाले निर्माण समयावधिको केही दिन तातोपानी नाका बन्द हुने सडक डिभिजन कार्यालय चरिकोटले जानकारी दिएको छ।

सडक डिभिजनका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनले लिपिङ खोलामा बेलिब्रिज जडान गर्दा केही दिन सडक बन्द हुने बताए। अहिले ह्युमपाइप बिछ्याएर ढुंगामाटोले भरिएको जोखिमपूर्ण बाटोबाट कन्टेनर आवतजावत गरिरहेका छन्।

२९ जनवरीमा चिनियाँ नयाँ वर्ष प्रारम्भ हुने भएकाले सोही अवधिमा नाका बन्द गर्ने नेपाल पक्षको तयारी छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले चिनियाँ समकक्षीसँग समन्वय गरेर केही दिनलाई आयात बन्द गर्ने तयारी गरेको र त्यसको आधिकारिक सूचना जिल्ला प्रशासनले जारी गर्ने जानकारी दिए।

‘सडक डिभिजनले कुन समय र कसरी काम गर्न खोजेको हो ?  चिनियाँ पक्षको कुरा के छ ? सबै पक्षसँग छलफल गरेर राजस्व संकलनमा असर नपर्ने गरी केही दिन नाका बन्द गर्नुपर्ने अवस्था छ,’ थापाले भने। नेपाल–चीन अधिकारीबिच अनौपचारिक छलफल भएअनुसार माघ ६ गतेदेखि २५ गतेसम्म आयात बन्द गर्ने तयारी गरिएको सडक डिभिजनका अधिकारी महर्जनको भनाइ छ।

‘एक–दुई दिन अघिपछि हुन पनि सक्छ। तर, माघमा १५–२० दिन नाका बन्द हुन्छ,’ उनले भने। नेपाली पक्षको अनुरोधलाई स्वीकार गर्दै चिनियाँ अधिकारीले ल्होसार पर्व आसपास बन्द गर्दा दुवै पक्षलाई असर नपर्ने बताएका छन्। चिनियाँ नयाँ वर्ष र तिब्बती ल्होसार १५ दिन मनाउने चलन छ। तर, त्यहाँ सरकारी बिदा एक हप्ता मात्रै हुन्छ। नेपाली पक्षको तयारी बुझेका चिनियाँ कन्टेनर व्यवसायीले ल्होसार पर्व आसपास सामान क्यारिङ नगर्न सम्बन्धित ट्रान्सपोर्ट कम्पनी र व्यापारिक केन्द्रलाई सरकारमार्फत निर्देशन गरेका छन्।