वैकल्पिक राजनीतिको नायक खोइ ?

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

नेपाली राजनीतिले नीतिसहितको नायक खोजेको सत्य हो, तर नीति र नेतृत्वहीन व्यक्तिमा नायक खोजेर हुँदैन 

हामी चित्रको नायक खोजिरहेका हुन्छौँ । नायक चरित्रप्रधान, आचरणप्रधान र विश्वसनीय हुनुपर्छ । उसको विगत पनि सुकिलो हुनुपर्छ र मितव्ययी तथा सामाजिकीकरण भएको पनि हुनुपर्छ । नायक भन्नु र नायक बन्नुमा फरक छ । जब अनायकहरू नायक बनाइन्छन् र तिनीहरू आफ्नो अक्षमता छोप्न नसकी दुर्घटनाग्रस्त बन्छन् र समाज अस्थिर भएर पुनः नायकको खोजीमा भौँतारिन्छ ।

नयाँ नायकको जन्म पुरानाको अवसान : हामी हत्तपत्त नारी पात्रको नायकत्व स्विकार्दैनौँ । जस्तो भए पनि पुरुष चरित्र र प्रवृत्तिले मात्र मुक्ति दिन्छ, दुःख निवारण गर्छ भन्ने भ्रम छ समाजमा । त्यसैले प्रायः पुरुष चरित्र र पितृसत्ताले ओतप्रोत व्यक्ति नै समाजमा नेता बन्न मरिहत्ते गर्छन् र भिड जम्मा गर्छन् । अमुक व्यक्तिको सम्पत्तिको धाक, पारिवारिक खानदानको धाक कुनै जाति विशेष हुनुको गर्वोक्ति, विदेश छाडेर आएको जस्ता विषय हामीलाई प्रिय र आकर्षक लाग्छन् । न स्वदेश मात्र बसिरहनु योग्यता हो, न विदेश जानु र फर्कनु नै योग्यता हो । योग्यता त्यो हो, जो जहाँ बसे–रहे पनि मातृभूमिप्रतिको निष्ठामा बेदाग रहनु हो । 

विश्वसनीयतामा कमी : विश्वका नामुद धनीहरूले कहिल्यै आफ्नो सम्पत्तिको धाक लाएको र सम्पत्तिको आडमा राजनीतिमा छु भनेको सुनिँदैन । तर, हाम्रा केही अमुक व्यक्तिमा केही अर्बको ऋणधनसहितको सम्पत्तिको धाक र घमण्ड यति छ कि उनीहरू एलन मस्क, बिल गेट्स, बर्नाड अर्नोल्ड, मुकेश अम्बानी र नेपालमै पनि विनोद चौधरीकै हाराहारीका धनाढ्यझैँ आफूलाई प्रस्तुत गर्छन् र सबै दुःख, पीडा, रोग, भोक र शोकको हरणकर्ता मै हुँ भन्छन् । सबै दुःखमोचनको ठेक्का पनि आफ्नो मान्छन् र आफूलाई एक मात्र मुक्तिदाता र नेपालको रोग, भोग र शोक खत्तम गर्ने ब्रह्मास्त्र बोकेको दाबी गर्छन् ।

हाम्रो समाज त्यतै भड्किन्छ, दौडिन्छ । कुनै पनि विषय, राजनीतिक नारा, अभियान र मुक्तिको पछाडि मान्छेको विश्वसनीयता जाँच गर्दैन र ‘हो मा हो’ मिलाउँदै कुद्छ समाज । भिडको कुनै आकार हुँदैन, भिडलाई जसले जस्तो आकार दिए पनि हुन्छ । भिड ओरालोतिर बग्ने पानी प्रकृतिको हुन्छ, त्यसैले यसको स्थायी चरित्र हुन्न । अस्थिरता नै भिडको स्थायी विशेषता र चरित्र हो । त्यसैले कुनै भिड हेरेर निर्णय गर्न मिल्दैन । कुनै पनि निर्णय विवेक र कानुन आधार, प्रमाण र नजिर अनि कार्यगत प्रगतिको धरातल टेकेर गर्नु वाञ्छनीय हुन्छ ।

सार्वजनिक मञ्चबाट बोल्न हुने–नहुने सबै बोल्छन् । तथापि, हामी त्यस्तै मान्छेको पछि लाग्छौँ । नागरिक हुनुको गर्व र आफू हुनुको स्वत्वको अनुभूति गर्दैनौँ । हामी कसैलाई मुक्तिदाता र नयाँ नायकको अवतारका रूपमा प्रस्तुत गर्छौं । कसैको लहड र उर्दीलाई शिरोपर गरेर भेला हुन्छौँ । वाक्स्वतन्त्रता मात्र बुझेका वाक्मर्यादा र शिष्टता नभएका मान्छे किन प्रिय छन् हाम्रा लागि ? के हाम्रा लागि सुसंस्कृत, सभ्य र शिष्ट युग सकिएकै हो ? एउटा खराबविरुद्ध अर्को झन् खराब र घातक प्रवृत्ति हामीलाई मन पर्नुको कारण के हो ? यसको जवाफ अब नेपाली समाजले नखोजी भएको छैन । वर्तमान व्यवस्था सानो दुःख र कष्टले प्राप्त भएको होइन । व्यवस्थामा गलत पात्र आएर हाबी भए होलान्, तिनलाई सच्याउने हो । तर, व्यवस्था नै सिध्याउने परिकल्पना उत्तम विकल्प होइन ।

नेपाली मनोविज्ञान : हाम्रो एउटा मनोविज्ञान छ, हामी ‘छु–मन्तर’ गर्ने नायक, जादुमयी चरित्र, काल्पनिक चित्रको सम्मोहनबाट मुक्त छैनौँ । चलचित्रमा झैँ देखिने नायक, धार्मिक कथामा झैँ देखिने पात्र र मिथकीय बिम्बका रूपमा प्रकट हुने पौराणिक ऐतिहासिक पात्र र तिनबाट तिलस्मी जादुको अपेक्षा गर्छौं । त्यस्तो अपेक्षा पूरा हुन नसक्दा छिटो निराश हुन्छौँ । अन्धविश्वास र अति विश्वासले गाँजेको मनोविज्ञान छ हामीसँग । स्वैरकाल्पनिक पात्र हामीलाई आज र अहिल्यै चाहिएको छ । हामी समाधान दिने सूत्र के छ नहेरी चर्को आवाजमा विश्वास गर्छौं ।

हामी कसैको पनि विगत, आगत र सैद्धान्तिक धरातलको लेखाजोखा गर्दैनौँ । बहकाउमा लाग्छौँ । इतिहासको विवेचना गर्दैनौँ । राजनीतिक घटनाक्रम र विश्व परिस्थितिको मूल्यांकन गर्दैनौँ । राजनीतिको नियम र समाज विज्ञानको गतिलाई बुझ्ने प्रयास गर्दैनौँ । वर्तमान र विगतको नागरिक चेतनाको विश्लेषण गर्दैनौँ । हाहा र होहोमा कुद्छौँ । अमुक व्यक्तिको चटके र झिल्के कुराको पछि लागेर दौडनु हाम्रो परिवर्तित आचरण भएको छ । अझै पनि कसैलाई अलौकिक शक्तिको प्रतिमूर्ति मान्ने र अतिशय कल्पनाको पात्र ठान्ने समाजको मनोवैज्ञानिक स्थिति छ । 

नयाँ नायकको खोजी सामान्य र आमप्रवृत्ति हो । मान्छे परिवर्तन र नयाँ स्वाद चाहन्छ । तर, आजको मान्छेले चाहने नयाँ स्वाद विष घोलिएको पक्कै होइन । प्रगतिशील चरित्र र आचरणयुक्त हो । पत्रु विकल्प होइन, सर्वोत्कृष्ट विकल्प हो । विगत र वर्तमान बेदागी र भविष्यप्रति विश्वसनीयतासहितको आशावादी नेतृत्व हो । सुसंस्कृत र दूरदर्शी नेताको खोजी हो । २००७ सालको पेरिफेरीमा बिपी भनेजस्ता नेता थिए । तथापि, बिपीमाथि पनि २०१७ मा आपत् आइलाग्यो १८ महिनाभन्दा बढी दुईतिहाइको सरकारले काम गर्न सकेन ।

०४६ को परिवर्तनपछि हामीले कांग्रेसका नेतामा नायकत्व खाेज्याैँ । बहुदलीय जनवादका प्रणेता बनेर मदन भण्डारी उदाए । तर, छोटो समयमै उनको भौतिक चोला उठ्यो । ०५२ को जनयुद्धदेखि प्रचण्ड र बाबुराममाथि आशा राखियो, तर त्यस आशाले पनि निराशालाई जित्न सकेन । ०७२ पछि ०७४÷७५ सम्म केपी ओलीको क्रेज तथा माओवादी र एमालेको एकीकरणमा देश बदल्ने अठोट र सपना प्रतिबिम्बन भयो । तर, त्यो पनि असमयमै दुर्घटित भयो । नेतृत्व गर्ने नेतामा कुनै क्षमता हुनुपर्छ कि पर्दैन ? विशेष योग्यता नभए पनि हुन्छ ? उडन्ते कुरा गरेर र गरिबको आँसु र दुःखको कुरा गरेर सहानुभूतिको राजनीतिमार्फत कुनै कार्ययोजना, सैद्धान्तिक माध्यम, दर्शनको धरातल र आकारविनै देश परिवर्तन गर्न सकिन्छ ? 

अन्यायविरुद्ध आवाज उठाउने, आगो ओकल्ने निःसहायलाई निसाफ र न्याय दिने गुन्डागर्दीलाई काउन्टर दिने शोषक र भ्रष्टाचारीको सातो बोक्ने चलचित्रका नायक र चरित्र हुन् । आममान्छे त्यस्तै चरित्रको नायक खोज्छ । 

बिग्रेको राजनीतिलाई तिलस्मी तवरले सपार्ने नायकको अपेक्षा गर्छ । तर, चरित्र र नायकमा भिन्नता छ । विभिन्न चलचित्रमा विभिन्न चरित्र निर्वाह गर्नेहरू नायक होइनन्, अभिनेता हुन् । उनीहरू चलचित्रमा स्क्रिप्टबमोजिमको चरित्र निर्वाह गर्छन् । चरित्रले समाजका पात्रलाई आफूमा रूपान्तरण गर्छन् । नायकले समाजलाई आफ्नो अनुकरण गर्न लगाउँछ । नायक आदर्श र रोलमोडल हुन्छ । देशको दीर्घकालीन हित र समृद्धिको आधार दिने राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक र सामाजिक कार्यक्रम बोकेको हुन्छ । 

नेपालको राजनीतिमा अभिनेता र खलपात्र थुप्रै छन् । केहीमा नायकीय गुण नभएको पनि होइन । तैपनि, जनता नयाँ नायकको उपस्थिति खोज्दै छन् र नयाँ–नयाँ पात्रमा परीक्षण गर्दै छन् । नेपाली समाज र राजनीतिको विचलन, विखण्डन, विरोधाभास, विभेद, वैराग्य र बदमासीबाट मुक्त हुन जनतालाई नयाँ नायकको खाँचो टड्कारो देखिएको पक्कै हो । यद्यपि, विकल्प निम्सरो र निर्धो होइन, सबल, सक्षम र आजकोभन्दा बढी गतिशील र प्रगतिशील हो । 

आलोचनात्मक चेत : हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीबारे विहंगम समीक्षा गर्न कत्ति पनि विलम्ब गर्न हिचकिचाउनुहुन्न । निरन्तर प्रश्न, छलफल, बहससहित निष्कर्षमा जानुपर्छ । उठेका प्रश्नको सामना गर्ने लोकतान्त्रिक विधि र पद्धति छन् । तिनलाई सक्रिय पार्नुपर्छ । प्राडा. सञ्जीव उप्रेतीले भनेझैँ ‘आलोचनात्मक चेतरूपी क्यामेराको लेन्स नेता, सामाजिक अगुवा, लब्धप्रतिष्ठित व्यक्ति, पत्रकार, विद्वान् र बुद्धिजीवीले समाजतिर मात्र फर्काएर पुग्दैन, आफैँतिर पनि फर्काउनु र आत्मालोचनात्मक हुनु जरुरी छ । अरूलाई हेर्ने नजरले आफैँलाई हेर्ने र आफ्नो ‘सेल्फी’ पनि खिच्नुपर्छ । बाहिरी संसारको मात्र विश्लेषण गर्ने होइन, आफूलाई पनि विश्लेषण गर्ने विवेचना गर्नेतर्फ ध्यान दिनुपर्छ ।’

म जे पनि गर्छु भन्नु र गर्ने विधि र पद्धति बनाउनु फरक विषय हो । तथापि, आज थुप्रै विसंगति र चुनौती छन् । भ्रष्टचार कुशासन आदिको व्यापक आरोप छ । देश सही दिशामा छैन । वैदेशिक ऋणको भार बढेको छ । परनिर्भरता बढ्दो छ । आक्रोश, निराशा र असन्तोषको व्यवस्थापन त्यस्तै अर्को खराब प्रवृत्ति र पात्रले गर्न सक्छ ? उडन्ते कुरा गरेर केही हुल मान्छेलाई अनेक तिकडम गरेर पछि लाउँदैमा समाज परिवर्तनको नेतृत्व असम्भव छ । आजका दिनमा भावनाका अगाडि तर्क, तथ्य र वास्तविकता कमजोर बनेका हुन् ? विश्वसनीय आधार र व्यक्तिको निरन्तर निष्ठाविना कुनै भावनात्मक धारणा सुनेर कसैलाई किन विश्वास गर्छ मान्छे ? टिभी र युट्युबमा हेरेर सुनेर विश्वास गर्ने र पछि लाग्ने मान्छे बढेका हुन् ? छलफल र बहसको विषय हो । 

नेता भनेको भिजनरी, डाइनामिक र बहुआयामिक हुनुपर्छ । नेता सामाजिक वैधता प्राप्त गरेको व्यक्ति हुनुपर्छ । रातारात कोही नेता बन्नु र नेतृत्वमा पुग्नु तिलस्मी दुनियाँका किस्सा मात्र हुन् । केही अपवाद होलान् । कसैले चुनाव जित्लान् । चुनाव जित्नु पार्टीको सभापति, महामन्त्री बन्नु र नेता बन्नु फरक हो । अपवादको नियम अपवाद नै हो, सामान्य नियम होइन । 

देशमा निराशा, भ्रष्टाचार, नातावाद, अन्याय, छोइछिटो, शासकीय अकर्मण्यता, ढिलासुस्ती आदि छन् । तर, यसको निदान कुनै एउटा व्यक्ति र गलत प्रवृत्तिले आजको आज, अहिलेको अहिले ‘फुमन्तर’ गरेर निदान दिन सक्दैन । चर्को र जथाभावी बोल्नेको सामाजिक आवाज सुनिएला । तर, त्यसले सामाजिक मूल्य र वैधता प्राप्त गर्न सक्दैन । राजनीतिले नीतिसहितको नायक खोजेको सत्य हो, तर नीति र नेतृत्वहीन व्यक्तिमा नायक खोजेर हुँदैन । 

(कार्की अनुसन्धाता हुन्)
 

सुझावित समाचार