राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ सुरु गरेको छ । नेपालमा स्तन क्यान्सरको वंशाणुगत परीक्षण पहिलोपटक गरिएको हो ।
यसअघिसम्म परीक्षणका लागि विदेश पठाउँदै आएकोमा प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेपछि वंशाणुगत परीक्षण नेपालमै सम्भव भएको हो ।
योसँगै प्रयोगशालाले देशभरबाट स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिएका हुन् । उनले भने, ‘यस्तो परीक्षण पहिलोपटक सम्भव भएको हो । अब देशबाहिर नमुना पठाउनुपर्दैन ।’
यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भए–नभएको पत्ता लगाउन यस्तो परीक्षणका लागि नमुना भारत तथा अन्य देशमा पठाउनुपर्ने बाध्यता थियो । परीक्षणबाट वंशाणुगत कारणले हुने क्यान्सरको सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए–नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिनेछ ।
बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तिर्नुपर्ने समस्या कम हुने प्रयोगशाला प्रमुख भट्टले बताए । प्रयोगशालाका अनुसार रगत र टिस्युबाट नमुना परीक्षण गरिनेछ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चारथरीका नमुना परीक्षण नियमित थप गर्ने भएको छ ।
भारतमा स्तन क्यान्सरको वंशाणुगत नमुना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । र, नमुना पठाउनका लागि लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् । तर, प्रयोगशालाले भने ३० हजार रुपैयाँ भित्रै परीक्षण गर्नेछ ।
नेपालमा वर्षमा करिब दुई हजारजनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न् । अर्थात् नेपालमै परीक्षण हुदाँ करिब १२ करोड रुपैयाँबराबरको रकम बिदेसिनबाट जोगिने बताइएको हो ।