खेलकुद त्यस्तो विधा हो, जहाँ युवा अग्रमोर्चामा हुन्छन् । उमेर पुगेकाहरूले प्रशिक्षक, निर्णायक वा विज्ञका आफ्ना अनुभव बाँड्छन् । देशलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन खेल क्षेत्रको महत्व विशेष छ । पूर्वखेलाडी र नेपाल क्रिकेट संघको सचिव भएका नाताले युवापुस्ताप्रति मेरो ठुलो भरोसा र सम्मान छ । किनकि, खेलकुदमा युवा अपरिहार्य शक्ति हो । चाहे खेलाडीका रूपमा होस् वा दर्शक, उनीहरूको उपस्थितिबेगर खेल क्षेत्र चलायमान हुन सक्दैन ।
‘जेन–जी’ पुस्तासँग असीमित क्षमता र सम्भावना छ । त्यसलाई पहिचान गरेर देश निर्माणमा लगाउन सक्नु नै आजको आवश्यकता हो । यही मनन गरेर हामीले पहिलो फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल)मा पनि जेन–जी पुस्तालाई पर्याप्त स्पेस दियौँ । प्रतियोगितामा हरेक टोलीमा आबद्ध जेन–जी पुस्ताका खेलाडीको प्रदर्शन निकै अब्बल थियो । उनीहरूले क्रिकेट खेलेर नामसँगै राम्रो दाम पनि कमाइरहेका छन् । अहिले नेपालमा अति चलेका १० देखि १२ जना खेलाडीले औसतमा क्रिकेटबाटै वार्षिक १२ लाख रुपैयाँ कमाइरहेको अवस्था छ । एनपिएलजस्ता फ्रेन्चाइज प्रतियोगिता हुँदा यो आय निकै बढ्छ । विदेशी लिगमा खेल्न जाँदा त अझै आकर्षक कमाइ हुन्छ । हाम्रो समयसँग तुलना गर्दा यो निकै ठुलो हो । मानिस कति कमाएर खुसी हुन्छ ? यसको ठ्याक्कै जवाफ कसैसँग नहोला । यति भन्न सकिन्छ– राम्रो प्रदर्शन गर्दा क्रिकेटमा अहिले राम्रै पैसा छ ।
नेपाली खेलाडीले विदेशी फ्रेन्चाइज लिग खेल्ने अवसर पनि पाउन थालेका छन् । त्यस्ता फ्रेन्चाइज लिगमा उनीहरूको उपस्थिति बढाउन हामीले पहिले घरेलुस्तरमा राम्रा प्रतियोगिताहरू आयोजना गर्न जरुरी छ । नेपाली खेलाडीको क्षमता र सम्भावनालाई घरेलु दर्शक र अन्तर्राष्ट्रिय जगत्मा पनि चिनाउन हामीले एनपिएल आयोजना गरेका हौँ । पहिलो संस्करणमै यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो चर्चा बटुलेको छ । धेरै युवा क्रिकेटमा आकर्षित हुन थालेका छन् । नेपाली क्रिकेटलाई भविष्यमा नयाँ दिशामा लैजान यसले ठुलो भूमिका खेल्नेछ । नेपाली क्रिकेटमा देखिएका यी विकासक्रमका बाबजुद युवापुस्ताले इतिहास बिर्सन मिल्दैन । हिजो क्रिकेटमा धेरै दुःख थियो । अवसरहरू कम थिए । तैपनि हामीले प्यासनका साथ खेलेका हौँ ।
जेन–जी कसैले अवसर बनाइदेला भनेर ढुकेर बसेको छैन, उनीहरू आफैँ अवसरहरू सिर्जना गर्न र क्षमता अभिवृद्धि गर्न लागिपरेका छन्।
अरू खेलबारे मलाई धेरै थाहा छैन । तर, फुटबल र क्रिकेटमा राम्रो बजेट छ । फुटबल विश्वमै एक नम्बरको खेल हो । हामी यसलाई किन राम्रो गराउन सकिरहेका छैनौँ, मलाई थाहा भएन । तर, नेपाली फुटबल राम्रो होस् भन्ने चाहना छ । म नेपाली फुटबल मन पराउँछु । इंग्लिस प्रिमियर लिग पनि हेर्छु । चेल्सी, म्यानचेस्टर, लिभरपुललगायत टिमका खेल हेर्ने गरेको छु । ठुलो संख्यामा नेपाली युवाले विदेशी फुटबल लिग हेर्ने गर्छन् । पक्कै पनि, उनीहरू नेपाली फुटबलमा पनि योगदान गर्न आतुर छन् ।
समयसँगै क्रिकेटमा धेरै कुरा फेरिएका छन् । पहिला हामी पत्रिकामा कहिले फोटो आउँछ भनेर कुर्ने गथ्र्याैँ । र, फोटो छापिँदा त्यसलाई काटेर पनि सजाएर राख्ने गरेका थियौँ । रेडियोमा नाम कहिले आउँछ भनेर कुरेर बस्ने गरेका थियौँ । नाम आउँदा र म्यान अफ दी म्याच घोषणा हुँदा गज्जबको अनुभूति हुन्थ्यो । म र विनोद दाइ (दास) निकै खुसी हुने गरेका थियौँ । कालान्तरमा सोसल मिडिया आयो, सम्पर्क–सूत्र बढे । सूचनामा मानिसको पहुँच बढ्यो । मोबाइलबाटै धेरै जानकारी हासिल हुने अवस्था आयो । अब, खबर सुन्न र हेर्नका लागि कुरेर बस्नुपर्ने जमाना छैन ।
अहिलेको युवापुस्ता सोसल मिडियामा अत्यधिक सक्रिय छ । यसले उनीहरूलाई आफ्नो रुचिका विषयमा धेरैभन्दा धेरै जानकार बनाएको छ । विदेशको अवस्था, समृद्धि र नेपालको वातावरणलाई उनीहरूले राम्ररी बुझेका छन् । त्यहीकारण, जुन क्षेत्रमा धेरै सुविधा मिल्छ, उनीहरू त्यतै आकर्षित हुन्छन् । देशमा अवसर नपाए बिदेसिन्छन् । उनीहरूलाई स्वदेशमै टिकाउन सेवा–सुविधा बढाउनुपर्ने चुनौती हामीसामु छ । अन्यथा, बिदेसिनेहरूको संख्या थप बढेर देशमा युवाको संकट निम्तनेछ ।
अहिलेको जेनेरेसन प्यासनकै भरमा अघि बढ्न सक्दैन भन्ने लाग्छ । पहिले हामी सामान्य अभ्यासकै भरमा विपक्षीसँग भिड्न तम्सिन्थ्यौँ । तर, अहिलेको पुस्ताले पूर्ण तयारीपछि मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने मान्यता राख्छ । उनीहरू राम्रो क्वालिटीको जर्सी, राम्रो बल, राम्रो ब्याट र राम्रो अवसर चाहन्छन् । अर्को शब्दमा भन्नुपर्दा निकै क्यालकुलेटिभ र स्मार्ट छन् । बाहिरी दुनियाँ बुझेका छन् ।
उनीहरू प्यासनकै भरमा निर्णय लिने पुरानो पुस्ताभन्दा फरक छन् । क्रिकेट मन पर्ला, तर करिअर नै छैन भने यसमा को आउँछ ? यो समयको माग पनि हो । हाम्रो दैनिक जीवन नै महँगो भइसकेको छ । पाइला–पाइलामा पैसा आवश्यक पर्छ भन्ने अहिलेको पुस्ताले राम्ररी बुझेको छ । म आशा गर्छु, भविष्यमा खेलकुद एउटा राम्रो उद्योग हुनेछ । जहाँ, मानिसले सफलता र समृद्धि हासिल गर्न सक्छन् । आफ्नोे जीवन क्रिकेटमा समर्पित गर्दा उनीहरू खुसी हुन सक्छन् । हामीले यस्तो अवस्था निर्माण गर्न सके खेलकुदमा लागेबापत कसैले पनि थक–थक मान्नुपर्ने छैन । क्रिकेटमा रुचि राख्ने पुस्ता बढेसँगै यस खेलमा सक्रिय सहभागी भएर देशको जर्सी लगाउन चाहनेहरूको संख्या पनि बढ्दो छ । उनीहरूले यसका लागि सही प्लाटफर्म खोजिरहेका छन् । हामीले त्यसतर्फ ध्यान दिनुपर्छ ।
स्मार्ट पुस्ता : तथ्यांकअनुसार एनपिएलको पहिलो संस्करणका कुल खेल युट्युबमा पाँच करोड २० लाखभन्दा धेरैपटक हेरियो । सोसल मिडियामा पनि यसका क्लिपहरू उत्तिकै भाइरल भए । यसमध्ये अधिकांश भ्युअर्स युवा हुन् भन्ने लाग्छ । यस्तो उत्साह प्रविधि र समयले ल्याएको हो । यससँग जेन–जी पुस्ता जोडिएको छ । उनीहरू प्रविधिमा निकै अगाडि छन् । आज हरेक व्यक्ति न्युज पोर्टल भएको छ । छुट्याउनै नसक्ने अवस्था छ । यो एउटा चुनौती पनि हो । किनकि, गलत समाचार वा जानकारी समाजमा फैलँदा त्यसले नराम्रो असर गर्न सक्छ । तर, जेन–जी पुस्तासँग आफ्नै विशेषता पनि छ, उनीहरू नकारात्मक कुरा चाँडै बिर्सन्छन् ।
समाज र राज्य : नेपालको जेन–जी पुस्ता अन्य देशका युवाभन्दा कमजोर छैन । सूचना–प्रविधि, फेसन, गीत–संगीत, खेललगायत धेरै कुरामा उनीहरू अगाडि छन् । अब न्युयोर्कमा जन्मने र काठमाडौंमा जन्मनेबिचको सोचाइमा खासै अन्तर होला भन्ने मलाई लाग्दैन । विश्वमा चलेका ट्रेन्डले यहाँ ठुलो प्रभाव राख्न थालेको छ । उनीहरूले सुन्ने गीत, लगाउने कपडा, खानेकुरा, प्यासन, हेयरस्टाइल सबै उस्तै–उस्तै हुन्छ । फरक यत्ति हो, हामी विदेशीको दाँजोमा आर्थिक रूपमा केही कमजोर छौँ । तर, जेन–जी पुस्ता कसैले अवसर बनाइदेला भनेर ढुकेर बसेको छैन, उनीहरू आफैँ अवसरहरू सिर्जना गर्न र क्षमता अभिवृद्धि गर्न लागिपरेका छन् ।
म स्पोर्टस् लभर भएकाले दुई वर्षदेखि महिला फुटबल हेरिरहेको छु । स्रोत र साधनको कमीका बाबजुद पनि नेपाली महिला टिमले निकै उत्कृष्ट खेलिरहेको छ । क्रिकेटमा जस्तै यहाँ पनि केही गरौँ भन्ने युवाहरूको राम्रो उपस्थिति छ । मलाई विश्वास छ– महिला फुटबलमा लगानी थोरै मात्र बढाउँदा पनि विश्वकप चाँडै खेल्न सकिन्छ । यसमा भविष्य छ ।
अन्य क्षेत्रमा पनि युवाहरूले राम्रो गरिरहेका छन् । तर, सरकारले उनीहरूका सम्भावनालाई पहिचान गरेर सहयोग गर्नुपर्छ । खेल क्षेत्रका हकमा, यो सबैतिरबाट पीडित क्षेत्र हो । क्रिकेट र फुटबलसँगै भलिबल पनि उत्तिकै चर्चामा छ । कभर्डहलमा भलिबल हेर्न मान्छे भरिन्छन् । यो भनेको समर्थकको माया हो । युवाको आकर्षण हो । राज्यले सम्भावना देखिएका क्षेत्रमा थप वातावरण बनाइदिने काम गर्नुपर्छ । भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।
नीति–नियम : नीति–नियम बनाउँदा युवाहरूलाई प्राथमिकतामा राखेको देखिँदैन । म खेलाडी भएर क्रिकेटको प्रशासनिक जिम्मेवारीमा चुनिएर आएको छु । दुवै पक्ष राम्रोसँग बुझेको छु । खेलाडीलाई चाहिने भनेको खेल नै हो, राम्रो वातावरण, अन्तर्राष्ट्रिय अनुभव नै हो । यसमा ध्यान दिनुपर्छ । जितेपछि मेडल र पुरस्कार पाउनु भनेको स्वाभाविक हो । नेपाली क्रिकेट विश्वकप पुगेपछि मात्रै हामीले सरकारबाट राम्रो प्रतिक्रिया पाएका हौँ । त्योभन्दा अघि त ‘खेलेर गर्लान् र !’ भन्ने मात्रै थियो । अहिले पनि चर्चा बटुल्न खेलकुदमा विभिन्न पुरस्कार घोषणा गरिन्छ, तर दिन गाह्रो मान्छन् । नेपालको प्रशासनिक क्षेत्रमा झन्झटिला प्रावधान छन् । सरकारी काम ढिला हुन्छ भन्ने छाप अधिकांशमा छ । त्यस्ता, झन्झटिला ऐन–नियमलाई परिमार्जन गरेर सरल र जनमैत्री बनाउनुपर्छ । किनकि, आजका युवा कुनै पनि काम सटिक ढंगले गर्न चाहन्छन् । एउटा फाइल बोकेर दशवटा टेबुल चहार्नुपर्दा गुम्ने समय र लगानीको हिसाब उनीहरूले राम्ररी बुझेका हुन्छन् । उनीहरू यस्तो सकस होइन, सहज वातावरण खोजिरहेका छन् । आश्वासन होइन, डेलिभरी खोजिरहेका छन् ।
के चाहन्छन् ? : पहिला हामी स्कुलमा खेल्दा थोरै मात्र खेल खेल्न पाइन्थ्यो । फुटबल, बास्केटबल वा क्रिकेट मात्रै । सबैले त्यही खेल्ने र उस्तै कुरा हुन्थे । अहिले रेस्टुरेन्ट जाने, कफी खाने, नाइट क्लब जाने, होलिडे जाने, सिनेमा हेर्न जाने, स्न्यापच्याट चलाउने, एक्स चलाउनेलगायत फरक–फरक रुचि भएका युवाहरू छन् । उनीहरू आ–आफ्नै रुचिमा तल्लीन हुन्छन् । रुचि मिल्नेहरू नै एक–आपसमा ज्यादा मिल्छन् । अरूको जीवनशैली र सोचलाई सम्मान गर्छन्, तर आफ्नै बाटो हिँड्छन् । सूचना पनि आफूलाई मन परेको क्षेत्रका विषयमा मात्रै लिन्छन् । तर, जुन सूचनालाई लिन्छन्, त्यसमा गहिरिएर अध्ययन गर्छन् । अहिलेको युवापिँढीलाई को प्रधानमन्त्री छ ? को खेलकुदमन्त्री भयो भन्ने खासै मतलब नहुन पनि सक्छ । तर, आफ्नो रुचि र करिअरको क्षेत्रमा उनीहरूले अथाह ज्ञान लिएका हुन्छन् ।
(नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का नेपाल क्रिकेट संघ (क्यान) का सचिव हुन्)