नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले हेटौँडा उपमहानगरपालिका-६ मा रहेको गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका खड्काले शनिवार निर्माणाधीन क्रिकेट मैदानको निरीक्षण गरेका हुन् ।
सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट संघका पदाधिकारीहरू गौरीटार पुगेका थिए । उनले हेटौँडामा क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेकोप्रति खुसी व्यक्त गरे । क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको उनको भनाइ छ ।
‘क्रिकेट मैदानको निर्माण तीव्र गतिमा भइरहेको रहेछ । खेलकुद क्षेत्रको पूर्वाधार निर्माण कार्यालय तीव्रता पाउनु स्वाभाविक रूपमा खुसीको कुरा हो,’ उनले भने, ‘क्रिकेट खेलको विकासका लागि प्रदेश सरकारले गरेको लगानी सकारात्मक छ ।’ देशमा स्तरीय खेल पूर्वाधारको अभाव भएको वेला बन्दै गरेको गौरीटार रंगशालाले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालनमा सहजता मिल्ने उनले विश्वास व्यक्त गरे ।
सचिव खड्काले संरचनासँगै खेलाडी उत्पादन र प्रोत्साहनमा सरकारले काम गर्न आवश्यक रहेको बताए । उनका अनुसार क्रिकेट संघले पनि आफ्नो तर्फबाट क्रिकेटको विकास र खेलाडी उत्पादनमा पहल गरिरहेको छ । तर, उक्त पहलमा सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
पाँचवटा पिचसहितको क्रिकेट मैदान बन्दै
गौरीटार रंगशालाभित्र ड्रेनसहितको क्रिकेट मैदान निर्माणका लागि ११ करोड ७४ लाख रुपैयाँको लागतमा धमाधम काम भइरहेको छ । क्रिकेट मैदान निर्माणका लागि नाै करोड ४२ लाख ८२ हजार रुपैयाँमा २० चैत ०८० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का सम्झौता गरेर काम गरिरहेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए ।
उनका अनुसार हाल ग्राउण्डको लेभलिङको काम भइरहेको छ । ग्राउन्डको लेभलिङपछि अन्डरग्राउन्ड ड्रेनेजको पानी पठाउन पाइप बिछ्याउने काम हुने उनले जानकारी दिए । यस्तै, त्यसको माथि विभिन्न लेयरमा ग्राभेल, माटो बिछ्याउनेलगायतका काम हुने उनले बताए ।
अन्तर्राष्ट्रियस्तरको सो क्रिकेट मैदानमा ६०० दर्शक क्षमताको एउटा प्यरापिटसहित पाँचवटा पिच, ७० मिटर रेडिएसको ग्राउन्ड, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुनेछ ।
त्रिकेट मैदानमा चारवटा ब्लकमा प्यारापिट निर्माण गर्ने योजनाअनुसार डिपिआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको एक पिसको काम भइरहेको सदस्यसचिव लामाले बताए ।