१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एक्स्ट्राटेक ओभलमा लेजेन्ड्स कप हुँदै, पारस खड्कादेखि प्रमोद खरेलसम्म मैदान उत्रने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५५:oo

निजी लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको खेलमैदानमा सोमबार ‘एक्स्ट्राटेक लिजेन्ड कप’ हुने भएको छ। गैरआवासीय नेपाली विनोद कुँवरले अस्ट्रेलियामा गरेको कमाइबाट तिलोत्तमा नगरपालिकामा निर्माण गरेका एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिलो चरणको संरचनाको फागुन २८ गते सोमबार उद्घाटन गरी खेल सञ्चालन गर्ने तयारी भएको हो।

गत जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशालामा लिजेन्ड्स क्रिकेट कप आयोजना गर्न लागेको एक्स्ट्राटेक ओभल क्रिकेटका निर्देशक विनोद कुँवरले जानकारी दिए। श्रीमती सदीक्षासहित अस्ट्रेलियामा बस्दै आएका कुँवरले तिलोत्तमा नगरपालिका– १७ मा ४० करोड रुपैयाँभन्दा बढीको लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिरहेका छन्। रंगशाला खेल्न तयार भए पनि अझै भौतिक निर्माण बाँकी छ।

एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनस्वरूप २८ गते टी–१० एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिताका टिमलाई शनिबार जर्सी प्रदानसमेत गरिएको छ।

नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसिसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो। यो टोलीका १४ मध्ये १२ खेलाडी लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिनेछन्।

यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन्। पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन्। २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका आठ खेलाडी अहिले विदेशमा छन्। सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन्।

त्यसैगरी नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोलीबीचको कम्बिनेसन गराएर रेस्ट अफ नेपाल बनाइएको छ। विनोद दासको कप्तानीमा रहेको रेस्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी रहेका छन्।

हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरू रहेका छन्।

नेपाली महिला टोलीले २००७ मा मलेसियामै भएको एसिसी कप प्रतियोगिता खेलेको थियो। सो टोलीका चार खेलाडीले यस तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन्। नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४, नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्ने छिन्। त्यस्तै, गायक प्रमोद खरेलले रेस्ट अफ नेपाल, बद्री पंगेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट खेल्नेछन्।

तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रूपमा यति एयरलाइन्सले सहयोग गरेको छ। एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले नाै महिनामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट निर्माण गरी प्रतियोगिता गर्न लागिएको जानकारी दिए।

अस्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने कुँवरले निजी स्रोतबाट उक्त रंगशाला निर्माण गरेका हुन्। रंगशालाको स्थायित्वका लागि गुरुयोजना बनाइसकेको र निर्माण सम्पन्न भएपछि व्यावसायिक रूपमा अघि बढाएर नमुना योजना बनाउने उनले बताए। ‘मैदानमा प्यारापिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने अनुमान छ। प्यारापिट बनाउने काम सुरु भइसकेको छ। यसका लागि करिब १८ करोड खर्च हुनेछ,’ उनले भने।

ad
ad