स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। सडक तथा नाला निर्माणमा गुणस्तरहीन काम गरेको अभियोगमा आयोगले ६ कर्मचारी तथा ६ जना उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन अध्यक्ष अर्यालविरुद्ध ३५ लाख ३९ हजार तीन सय ३१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ । अर्याल नेपाली कांग्रेसका उम्मेदवारका रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
आयोगले तत्कालीन प्रशासकीय अधिकृत पुरन गुरुङ र कमलप्रसाद गौतम, इन्जिनियरहरू नवीन थापा, सूर्यप्रसाद पौडेल, सुदीप आचार्यविरुद्ध मुद्दा दायर गरेको हो।
उपभोक्ता समितिमार्फत गाउँपालिकाले नहर ढलानको काम गरेको थियो । आर्थिक वर्ष ०७५/७६ मा २७ लाख पाँच हजार ११ तथा ०७६/७७ मा आठ लाख ३४ हजार ३२० रुपैयाँबराबरको निर्माणको काम भएकोमा केही महिनामै भत्किएपछि भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो।
आयोगले उपभोक्ता समितिका पदाधिकारीलाई समेत प्रतिवादी बनाएको छ। दुईवटा उपभोक्ता समितिमार्फत निर्माणको काम भएको थियो। उपभोक्ता समितिका अध्यक्षहरू बालकृष्ण पौडेल र मंगलदेवी थापामगर, सचिवहरू कृष्णप्रसाद काफ्ले र विष्णुकुमारी विक तथा कोषाध्यक्षहरू हिमकुमारी केसी र एकनारायण देवकोटालाई प्रतिवादी बनाइएको छ ।