१. तपाईंहरू आफैँ सरकारमा हुनुहुन्छ, तैपनि सरकारसँग असन्तुष्ट देखिनुहुन्छ नि ?
यो सरकारले पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनुलाई ‘जस्टिफाई’ गर्नै सकेको छैन । प्रधानमन्त्रीले सदनमा पढेर सुनाएको सातबुँदे नै यो सरकार निर्माणको मुख्य आधारशिला हो । तर, यो सरकारले त्यसैको कार्यान्वयन गर्न सकेको देखिन्न । यो सरकारले जनतामा आशा जगाउने काम गर्नै सकेको छैन । सरकार सञ्चालनका लागि गठित दुईदलीय संयन्त्रले पनि आफ्नो अस्तित्व देखाउन सकेको छैन । कांग्रेसको आकार र ओजलाई पनि यो सरकारले महत्व दिएको देखिन्न । यसले आमकांग्रेस कार्यकर्तामा निराशा बढेको छ । अहिले हामी गाउँगाउँमा पुग्दा पनि जनता र आमपार्टी कार्यकर्ताबाट त्यस्तै निराशाका स्वर आइरहेका छन् । त्यसैले, हामी सरकारबाट असन्तुष्ट भएका हौँ ।
२. असन्तुष्टि आफ्नै पार्टीबाट मन्त्री बन्नेहरूसित पनि हो कि एमाले पक्षका सित मात्र ?
सातबुँदेको स्पिरिटअनुसार सरकार अघि बढ्न नसक्दा हामीले असन्तुष्टि देखाएका हौँ । त्यसमा को कताबाट मन्त्री बन्यो भन्नेले फरक पार्दैन । समग्र सरकारसँगको असन्तुष्टि हो यो । सरकारबाट जनजीविकाका सवालमा जनतामा आशा जगाउन सकेन भन्ने हाम्रो भनाइ हो । यस्तै निराशाको अवस्था रहिरहेमा सरकारबारे बहस त हुन्छ नै ।
३. भनेपछि सरकारको विकल्प खोज्न पनि सकिन्छ भन्न खोज्नुभएको हो ?
अहिले नै त्यति पर नजाऔँ । हामी अहिले नेपाली कांग्रेस एक सयदिने विशेष अभियानका क्रममा गाउँगाउँ पुगिरहेका छौँ । त्यहाँबाट फर्किएपछि अभियानको प्रतिवेदन बुझाउँछौँ । त्यसपछि केन्द्रीय समिति बैठक बस्छ । त्यतिवेला सरकारका विषयमा अवश्यै बहस हुन्छ । त्यहाँबाट जे निष्कर्ष निस्किन्छ, त्यसैका आधारमा अघि बढ्छौँ ।