ताप्लेजुङमा विदेशी पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। प्रचारप्रसार तथा भौतिक संरचनाको अभावका कारण पछि परेको ताप्लेजुङको पर्यटन क्षेत्रले सकारात्मक गति देखाउन थालेको हो।
जिल्लामा सात हजार मिटरभन्दा माथिका हिमालहरू एक दर्जनभन्दा बढी छन्। पछिल्लो समय विदेशी पर्यटकको संख्या बढेको कञ्चनजंघा संरक्षण क्षेत्रको अभिलेखमा उल्लेख छ। संरक्षण क्षेत्र कार्यालयका अधिकृत प्रमोदकुमार यादवले पछिल्ला पाँच वर्षको तथ्यांक नियाल्ने हो भने हरेक वर्ष विदेशी पर्यटकको आगमनमा वृद्धि हुँदै गएको बताए।
अधिकृत यादवका अनुसार आर्थिक वर्ष ०७६/७७ को एकवर्षे अवधिमा ६०८ विदेशी पर्यटक कञ्चनजंघा आएका थिए। कोरोना संक्रमणको मुख्य अवधि आव ०७८/७९ मा २०६ जना मात्र आउँदा आव ०७९/८० मा सो संख्या बढेर ७१३ पुग्यो।
कोरोना संक्रमण नियन्त्रण भएपछि यहाँ आउने विदेशी पर्यटकको संख्यामा बर्सेनि वृद्धि हुँदै गइरहेको संरक्षण अधिकृत यादवले बताए। आव ०८०/८१ मा एक हजार ८५ विदेशी पर्यटक ताप्लेजुङ आउँदा चालू आवको मंसिरसम्ममा सो संख्या ८७७ पुगेको छ। पहिलो सिजनमा उल्लेख्य मात्रामा पर्यटक आएका उनले बताए।
पर्यटनका लागि मुख्य दुई सिजन उपयुक्त मानिन्छ। चैत–जेठ (पहिलो सिजन) र भदौ–मंसिर (दोस्रो सिजन)मा विदेशी पर्यटक पदयात्राका लागि आउने गरेका छन्। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले सिजनको पहिलो अवधिमै उत्साहजनक रूपमा विदेशी पर्यटक आएका बताए।
ताप्लेजुङ आउने पर्यटक सबैभन्दा बढी कञ्चनजंघा हिमाल जान केन्द्रित हुने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्। कञ्चनजंघा विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल (आठ हजार ५८६ मिटर) हो। कञ्चनजंघा जान तीनवटा पदमार्ग प्रयोग हुँदै आएको छ। सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकामा पर्ने सिँवा–छिरुवा–तापेथोक–घुन्सा हुँदै जान सकिन्छ। तापेथोकसम्म सवारीमा जान सकिन्छ भने त्यसउताको भागमा पैदलयात्रा गर्नुपर्छ।
कञ्चनजंघा जाने अर्को पदमार्ग सुकेटार हुँदै सिरिजंघा गाउँपालिकाको सिकैचा–तेल्लोकको माथिल्लो भाग–पेदाङ, फुम्पेडाँडा–मामाङ्खे हुँदै याम्फुदिन हो। तेस्रो पदमार्ग भनेको पाँचथरको गणेशचोक–दाहालगाउँ–सिनाम–आम्बेगुदिन–हप्पुखोला–खेवाङ हुँदै याम्फुदिनसम्म रहेको कञ्चनजंघा संरक्षण क्षेत्र परिषद्ले जनाएको छ।