मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
प्रेमलकुमार खनाल
२o८१ पौष १७ बुधबार o८:२८:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रेड युनियन आन्दोलनमा एकताको खाँचो

ट्रेड युनियन विभाजित अवस्थामा रहेका कारण सशक्त आन्दोलन हुन नसक्दा राज्यले ट्रेड युनियन मुद्दालाई नै बेवास्ता गरिरहेको छ

Read Time : > 5 मिनेट
प्रेमलकुमार खनाल
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार o८:२८:oo

एकता नै बल हो, एकता भए सफलतापूर्वक टिकिन्छ, विभाजित हुँदा असफल भइन्छ भन्ने मूल मन्त्रबाट ट्रेड युनियन स्थापना भएको हो । कार्ल माक्र्सले पुँजीवादी शोषणविरुद्ध लड्न श्रमिकहरू एक हुनुपर्ने आह्वानसँगै सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गर्दा पहिलो पृष्ठको सिरानमै ‘विश्वभरका श्रमिक एकजुट होऔँ’ भनेका थिए । वास्तवमा श्रमिकको तागत भनेकै एकता हो ।

लेनिनले मजदुरलाई भनेका छन्– ‘मजदुरको संगठन ट्रेड युनियन हो, राज्यसत्ता होइन, मजदुरले राज्यमाथि होइन, आफ्नै वर्गको संगठन ट्रेड युनियनमाथि भरोसा गर्नुपर्छ । ट्रेड युनियनहरूले राज्यको आदेशमा होइन, आफ्नै वर्ग मजदुरको सल्लाह र भावनामा आधारित भई चल्नुपर्छ । तर, श्रम आन्दोलनको विकासका क्रममा ट्रेड युनियनहरूमा वैचारिक ध्रुवीकरण देखा पर्‍यो । श्रमिकहरू एकजुट भएर संघर्ष गर्न थालेपछि थर्कमान बनेका पुँजीपतिहरूले नै आफ्नो स्वार्थरक्षाका लागि छुट्टाछुट्टै ट्रेड युनियन बनाउन थाले । यसरी बनेका युनियनले मालिकको हितअनुरूप काम गरे । यस्ता युनियनले वर्ग आधारित संघर्षको साटो वर्ग समन्वयवादी हिसाबले भूमिका निर्वाह गर्छ । यिनलाई ‘यलो युनियन’ भनियो । यलो युनियनले समग्र श्रमिकको हितमा भन्दा पुँजीपतिका लागि काम गर्छ र श्रमिकको आन्दोलनलाई अगाडि बढ्न दिँदैन ।

विश्व ट्रेड युनियन आन्दोलनलाई नियाल्दा सुरुवातमा एउटा मात्र अन्तर्राष्ट्रिय केन्द्र थियोे । पुँजीवादी उत्पादन प्रणालीको पहिलो दिनदेखि नै पुँजीवादी शोषणविरुद्ध मजदुरको प्रतिरोध विकसित भयो । सुरुमा यो शोषणविरुद्ध मजदुरको स्वस्फूर्त प्रतिरोध थियो । तर, मजदुरबिचको एकता निकै छिटो फैलियो । माक्र्सले साझा शत्रु ‘पुँजीवाद’विरुद्ध लड्न र आफूलाई बचाउन विश्वव्यापी रूपमा श्रमजीवी वर्गको एकताको विषयलाई अगाडि सारे । माक्र्सकै अगुवाइमा सन् १८६४ मा लन्डनमा पहिलो अन्तर्राष्ट्रिय भयो । पहिलो अन्तर्राष्ट्रियले श्रमिकलाई एक ठाउँमा जुटायो । र, अन्तर्राष्ट्रिय श्रमिक एसोसिएसन (आइडब्लुए) गठन भयो । तर, यो पहिलो श्रमिक अन्तर्राष्ट्रिय अल्पकालीन थियो, क्रान्तिकारी र सुधारवादका दुई प्रवृत्तिबिचको तिक्ततापूर्वक उठेको अन्तरसंघर्षका कारण यो अन्तर्राष्ट्रिय केन्द्र सन् १८७६ सम्म मात्रै अस्तित्वमा रह्यो । त्यसपछि १९०९ मा अर्काे अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र गठन भयो, अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइएफटियू) । तर, त्यो क्रान्तिकारी अन्तर्राष्ट्रिय होइन, एक सामाजिक, लोकतान्त्रिक ट्रेड युनियन महासंघ मात्र हो । तर, सन् १९१७ मा रुसमा भएको समाजवादी क्रान्तिले विश्व हल्लायो । यो एउटा श्रमिक क्रान्ति थियो, जसले विश्वको पहिलो श्रमिक राज्य स्थापना गरेको थियो । त्यसपछि सन् १९२१ मा मस्कोमा रेड ट्रेड युनियन इन्टरनेसनलको स्थापना भयो । यसले ट्रेड युनियन आन्दोलनमा क्रान्तिकारी विचारधारा फैलाउन खोजेकाले यो पुँजीवादी र मजदुर वर्गबिचको वर्गसंघर्षको दर्शनमा आधारित अन्तर्राष्ट्रिय थियो ।

अन्तर्राष्ट्रिय पनि सन् १९३७ सम्म अस्तित्वमा थियो । यस अवधिमा ट्रेड युनियन आन्दोलनका दुई धारा रेड इन्टरनेसनलद्वारा प्रतिनिधित्व गरिएको क्रान्तिकारी ट्रेड युनियनवाद र सुधारवादी ट्रेड युनियनवादले एक–अर्कासँग प्रतिस्पर्धा गर्न थाले । यसैबिच, सन् १९२० देखि क्रिस्चियन ट्रेड युनियनको अन्तर्राष्ट्रिय महासंघ (आइएफसिटी) का रूपमा एक तेस्रो शक्तिको विकास भयो । यो तेस्रो शक्ति चरित्रमा सुधारवादी मात्रै थिएन, धर्मउन्मुख पनि थियो र यो केन्द्र र डब्लु एफटियूबाट अलग भएर गठित आइएफसिटियू मिलेर सन् २००६ मा अर्काे पुँजीवादी धारको सोसल डेमोक्रेट्सहरूको अन्तर्राष्ट्रिय केन्द्र आइटियुसी बनेको छ ।

साम्राज्यवादी पुँजीवादी संसारसँगै अर्काे संसार पनि देखा परेको छ, त्यो समाजवादी संसार हो । त्यसैले, तिनीहरूले सोभियत रुसविरुद्ध शीतयुद्ध सुरु गरे र जताततै कम्युनिज्मको भूतले तिनलाई सतायो । यही पृष्ठभूमिमा सन् १९४९ मा बेलायती ट्रेड युनियन कंग्रेस, अमेरिकी ट्रेड युनियन सिआइओ र उनीहरूसँगै केही अन्य ट्रेड युनियन सन् १९४५ मा स्थापना भएको विश्व ट्रेड युनियन महासंघ (डब्लुएफटियू) बाट बाहिरिएपछि मजदुरको दृष्टिकोणमा ठुलो धक्का लाग्यो । यो धक्का अप्रत्याशित पनि थिएन । विश्वमा समाजवादी क्याम्पको रूप लिएर उग्र वैचारिक संघर्ष चलिरहेको वेला साम्राज्यवादी र आफ्नो वैचारिक नियन्त्रणमा रहेका ट्रेड युनियनले पनि डब्लुएफटियूको नीतिमा कम्युनिस्टको भूत देखेर डब्लुएफटियूबाट अलग भएर आइसिएफटियू (हालको आइटियुसी) गठन गरे ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि वामपन्थी आन्दोलनको युरोपलगायत विभिन्न देशमा तीव्र विकास र विस्तार हुनु पुँजीवादी धारको नेतृत्व गरिरहेको अमेरिकालाई सह्य भएन । अमेरिकाले युरोपलगायत देशमा पुनर्निर्माणका नाममा मार्सल प्लान योजना (अहिलेको एमसिसीजस्तै अर्बौं डलरका परियोजना लागू गरेको थियोे । यसको मुख्य अभिप्रायः भनेकै उदाउँदो वामपन्थी आन्दोलनलाई निस्तेज बनाउनु थियोे । यति मात्रै होइन, विश्वव्यापी रूपमा वाम लहर सुरुवातपछि पुँजीवादीले सन् १९५१ मा सोसलिस्ट इन्टरनेसनल गठन गरे । नेपालबाट नेपाली कांग्रेस सुरुदेखि नै यस केन्द्रमा आबद्ध भएको छ ।

यसरी विश्व ट्रेड युनियन आन्दोलनमा दुई धार एवं दुई लाइनको अन्तर्राष्ट्रिय केन्द्र छन् । प्रगतिशील एवं समाजवादी धारको नेतृत्व विश्व ट्रेड युनियन महासंघ (डब्लुएफटियू) ले गर्छ भने बुर्जुवा पुँजीवादी सोसल डेमोक्रेट्स धारको नेतृत्व अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले गर्दै आएको छ । डब्लुएफटियूले स्थापनाकालदेखि नै विश्व साम्राज्यवादले सञ्चालन गरेको युद्ध, हत्या, हिंसा र आतंकविरुद्ध तथा देशको सार्वभौमिकता रक्षाका लागि भएका आन्दोलनमा ऐक्यबद्धता जनाउँदै वर्गसंघर्ष केन्द्रित आन्दोलनको अगुवाइ गर्दै श्रमिकविरुद्ध भएको पुँजीवादी शोषणको विरोध गर्दै आएको छ । तर, आइटियुसीले विश्वव्यापी रूपमा साम्राज्यवादले सञ्चालन गरिरहेको युद्ध, हत्या, हिंसा र आतंकको विरोध गर्दैन । श्रमिकका मुद्दामा पनि वर्गसंघर्षलाई तीव्रतापूर्वक अगाडि बढाउनको सट्टा सोसल डायलगको नीतिलाई अवलम्बन गरेर वर्ग समन्वयवादी धारको नेतृत्व गर्दै आएको छ ।

नेपालमा ट्रेड युनियन आन्दोलनको थालनी विराटनगर जुट मिलबाट भएको पाइन्छ । २००३ फागुन २० गते मजदुरसभा नामबाट युनियन गठन भयो । तत्कालीन नेताहरू मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा यही मजदुर सभाको आह्वानमा हडताल भयो । राणाशासनको दबदबामा सो आन्दोलनले राणाशाहीलाई थर्कमान बनायोे । आन्दोलनलाई दबाउन काठमाडौंबाट सरकारले २०० सैनिक विराटनगर पठायोे । विराटनगर मजदुर आन्दोलनका क्रममा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालालगायत नेतालाई गिरफ्तार गरी काठमाडौं ल्याइयो । विराटनगर मजदुर आन्दोलनको राप र ताप काठमाडौं हुँदै देशभर फैलियोे । त्यसैको प्रभावमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियोे । २००७ सालको परिवर्तनसँगै २००३ सालको मजदुर आन्दोलन त्यसपछिका दिनमा ट्रेड युनियनको विस्तारका क्रममा अखिल नेपाल ट्रेड युनियन कांग्रेसका रूपमा अगाडि बढेको थियो । २००८ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएपछि २००८ साल असार २३ मा बनेको राजनीतिक शक्ति एवं जनवर्गीय संगठनको संयुक्त मोर्चा ‘जातीय जनतान्त्रिक मोर्चा’को सबैभन्दा क्रियाशील घटक अखिल नेपाल ट्रेड युनियन कांग्रेस नै थियो । २००८ सालको आन्दोलनपछि मजदुर आन्दोलनमा विभाजन भई एउटा संघ र अर्काे सभामा परिणत भयो । गिरिजाप्रसाद कोइराला भन्थे– ‘ट्रेड युनियन कांग्रेस हाम्रो हो भने मजदुरसभा मनमोहनजीको हो ।’

२००७ सालको परिवर्तनपश्चात् सशक्त ट्रेड युनियन आन्दोलन विकास गर्नुभन्दा पनि तत्कालीन वामपन्थी र सोसल डेमोक्रेटबिचको भिन्न राजनीतिअनुरूप वामपक्षीय र गैरवामपक्षीय ट्रेड युनियन आन्दोलनका रूपमा यसको तीव्र ध्रुवीकरण भयो । श्रमराजनीति, श्रमिक वर्गको मुद्दाबाट राजनीतिक पार्टीलाई प्रभावित गर्नेभन्दा पनि आफू संलग्न पार्टीको निर्देशनमा राज्य तथा श्रमिकबाट कसले बढी मान्यता पाउने भन्ने प्रकृतिको प्रतिस्पर्धामा नै सीमित रह्यो । नेपालको ट्रेड युनियन आन्दोलनमा विभाजन हुनुको अर्काे कारणचाहिँ भारतीय ट्रेड युनियन आन्दोलनमा भएको विभाजन र यसको प्रभाव पनि तत्कालीन अवस्थाको मुख्य कारण रहेको देखिन्छ । विसं २०१७ पछि राजनीतिक दल, संघ संगठनमाथि प्रतिबन्ध लगाएपछि ट्रेड युनियनका गतिविधि खुल्ला रूपमा भएनन् । ०४६ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि राजनीतिक दलहरू पनि खुला भए र एकपछि अर्काे गर्दै नयाँ–नयाँ राजनीतिक दल स्थापना भए । राजनीतिक दलको स्थापना, गतिशीलता र विभाजनसँगै आआफ्नो दलको भ्रातृ संगठनका रूपमा ट्रेड युनियनलाई अघि बढाउने होडका कारण यो आन्दोलन आफैँमा कमजोर बन्न पुग्यो । 

शिक्षक, कर्मचारी तथा श्रमिकका मुद्दा यति धेरै झांगिइरहेका छन्, तर ट्रेड युनियनहरू विभाजित अवस्थामा रहेका कारण सशक्त आन्दोलन हुन नसक्दा राज्यले ट्रेड युनियन मुद्दालाई नै बेवास्ता गरिरहेको छ । परिणामतः संविधान बन्दा राजनीतिक अधिकारअन्तर्गत समानुपातिक प्रतिनिधित्वमा श्रमिकको क्लस्टर बन्न सकेन । यस्तै संवैधानिक अंगका रूपमा राष्ट्रिय श्रम आयोग गठन हुन सकेन । तत्कालीन ट्रेड युनियन नेतृत्व र राजनीतिक पार्टीका नेताबिचको सौदाबाजीले गर्दा श्रमिकको राजनीतिक अधिकार ओझेलमा पर्‍यो । 

ट्रेड युनियन आन्दोलन आरम्भदेखि नै वाम र सोसल डेमोक्रेट गरी दुई धारमा विभाजित भयो । कम्युननिस्ट पार्टीहरू नै आपसमा विभाजित भई एक दर्जनभन्दा बढी पुगेसँगै ट्रेड युनियनहरू पनि विभाजित भएर पार्टीपिच्छेका ट्रेड युनियन खडा भएका छन् । यसले गर्दा श्रमिकको शक्ति विभाजित भएर ट्रेड युनियन आन्दोलन कमजोर बन्न पुगेको छ । पार्टीपिच्छे ट्रेड युनियनको सक्रियताले सार्वजनिक क्षेत्रमा बढिरहेको राजनीतीकरणको विषयमा यतिवेला ट्रेड युनियन नेतृत्वले आत्मसात् गर्नुपर्ने भएको छ ।

ट्रेड युनियन आन्दोलनमा वैचारिक ध्रुवीकरण भनेको विचार र कार्य प्रकृति मिल्ने ट्रेड युनियनबिच ध्रुवीकरण र एकताको सम्भावना छ । प्रगतिशील एवं समाजवादी विचार लिएका ट्रेड युनियनको सुरुवातमा एउटा संयुक्त मोर्चा बनाउन सकिन्छ । सार्वजनिक क्षेत्रमा पेसागत महासंघ, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडरेसनलगायत ट्रेड युनियन महासंघ विश्व ट्रेड युनियन महासंघका सदस्य छन् । अन्तर्राष्ट्रियस्तरमा एकै केन्द्रमा आबद्ध हुने, प्रगतिशील र समाजवादी विचार बोक्ने विभिन्न ट्रेड युनियन महासंघ बेग्लाबेग्लै अस्तित्वमा रहनुभन्दा आपसमा मोर्चा बनाएर ध्रुवीकृत हुँदै समयक्रममा एकीकृत हुने बाटोमा जानु उपयुक्त हुन्छ ।

यद्यपि, यी महासंघमा आबद्ध व्यक्तिहरू अमुक पार्टीनिकट वा आबद्ध हुन पाउँछन् । यस्तोमा ट्रेड युनियन भने साझा बनाउने अभियानले सार्वजनिक क्षेत्रमा सकारात्मक प्रभाव पर्छ । सुरुवातमा महासंघको केन्द्रबिच मात्रै ध्रुवीकरण गर्ने र एकता भावको विकास गर्नुपर्छ । यसो गर्न केही समय वा वर्ष लाग्छ । त्यतिवेलासम्म हरेक महासंघका राष्ट्रिय फेडरेसन र प्रतिष्ठानस्तरका ट्रेड युनियनचाहिँ आआफ्ना तर्फबाटै सञ्चालन गर्ने र समयक्रममा उनीहरूबिच पनि ध्रुवीकृत गर्ने नीति अवलम्बन गर्नुपर्छ । यस्तै ध्रुवीकरण र एकताको काम होटल, कारखाना र असंगठित क्षेत्रको प्रतिनिधित्व गर्ने जिफन्ट र आन्टुफले पनि अगाडि बढाउन सक्दा त्यस क्षेत्रमा ट्रेड युनियन सशक्त बन्न सक्छ ।

(खनाल पेसागत महासंघ नेपालका अध्यक्ष हुन्)