नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब स्थिर सरकार निर्माणका लागि बहस केन्द्रित गर्नुपर्ने बताएका छन्। त्यसका लागि निर्वाचनमा पहिलो हुने दलले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
मंगलबार पूर्वकर्मचारी समाजको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने, ‘राजनीतिक पद्धति स्थिर भइसक्यो। संसद् पाँच वर्षभित्रमा भंग गर्न कुनै बहादुरले चाहेर अब त्यति सजिलै भंग हुँदैन। सम्मानित सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ को जे व्याख्या गरेको छ, त्यो व्याख्याबमोजिम जबसम्म संसदमा विकल्प हुन्छ, तबसम्म संसद् विघटन हुँदैन। तर, हामीलाई पाँच वर्ष स्थिर संसद मात्रै होइन, अब पाँच वर्षसम्म स्थिर रहने प्रधानमन्त्री पनि चाहियो। अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ।’
संविधान संशोधनका लागि गहन छलफल गरेर पूर्वकर्मचारी समाजले पनि सुझाव दिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘यो राष्ट्रले एउटा यस्तो आइडियाको खोजी गर्नुपर्याे, जसबाट कोही प्रधानमन्त्रीले निरन्तर पाँच वर्षसम्म शासन गर्न सकून्।’
चुनावमा जानुअघि नै पहिलो हुने दलबाट प्रधानमन्त्री हुने र अन्य दल पाँच वर्ष सरकारमा सहभागी नहुने व्यवस्था गर्नुपर्ने महामन्त्री शर्माको धारणा छ। ‘प्रधानमन्त्री स्थिर बनाउने बहसको खोजी गरौँ। चुनावमा जाँदाखेरि नै निश्चित हुनुपर्छ। प्रत्यक्षबाट प्राप्त सिट र पपुलर भोटको आधारमा निकालेको संख्याले जो पहिलो दल हुन्छ त्यसले पाँच वर्ष शासन गर्नेछ लेख्नुपर्छ,’ उनले भने।
संविधान संशोधन गर्दा अब उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउने विषयमा समेत छलफल गर्नुपर्ने उनको भनाइ छ।