महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले, कृषि तथा पशुपन्छी विभागलाई परम्परागत र मौलिक खानाका उत्पादकहरूलाई व्यवसायिकता, गुणस्तर र स्वच्छतासम्बन्धी तालिम प्रदान गर्न निर्देशन दिएकी छिन् । मंगलबार महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, विभागका प्रमुख नुरनिधि न्यौपाने र कार्यक्रमका सल्लाहकार सन्तोष गिरीसँग अनुगमन प्रणाली अद्यावधिक गर्ने, आधारभूत खाद्य जाँचका लागि महानगरपालिका आफैँले प्रयोगशाला निर्माण गर्ने, खाद्य सुरक्षाका लागि दिइने तालिमको प्रक्रिया र पाठ्यक्रम तर्जुमा गर्नेलगायत विषयमा छलफल गर्दै उनले मौलिक खानाको व्यावसायिक प्रवर्द्धनका लागि तालिम दिनुपर्ने बताएकी हुन् ।
‘जात्रा, पर्व, संस्कार, संस्कृति तथा मौसम र कामअनुसार खानाका प्रकृति फरक–फरक छन् । समयबजी, यमरी, ग्वारमरी, लाखामरी, चटामरी, जेरीस्वारीजस्ता कलात्मक र पौष्टिक खाना बनाउने सीप भएका महिलालाई व्यावसायिक ज्ञान दिन सकियो भने आयआर्जन गर्ने पेसा बन्न सक्छ ।’ उनले भनिन्, ‘व्यावसायिक उत्पादन नभएका, तर जनजिब्रोमा परिचित स्वादका कारण व्यावसायिक वस्तुका रूपमा उत्पादन गर्न सकिने वस्तुलाई प्रवर्द्धन गराउनुपर्छ । यसका लागि माः पुचःहरूले आफ्नै प्रयासमा काम गरिरहेका छन् । यस्तै बुहारी, छोरीहरूका पनि आफ्नै समूह छन् । यस्तै, मेला तथा भेलाहरूमा परम्परागत खाद्य सेवा प्रदान गर्ने समूह छन् । यस्ता स्थानीय समूहलाई व्यावसायिक सीप प्रदान गर्नुपर्छ ।’
छलफलमा विज्ञ सल्लाहकार लामा र सल्लाहकार गिरीले, स्वचालित प्रणालीबाट गुणस्तर नियमन र व्यावसायिक प्रवर्द्धनमा नतिजा हासिल गर्न सकिने धारणा राखेका छन् । विभागका प्रमुख न्यौपानेका अनुसार खाद्य पदार्थको गुणस्तर मापनसम्बन्धी आधारभूत पक्ष हेर्ने क्षमता भएको प्रयोगशाला निर्माण सम्पन्नताको चरणमा पुगेको बताए । छलफलमा एग्रो पुलिङ कार्यक्रम कार्यान्वयनमा योजना, बजार अनुगमनको प्रक्रिया, यसबाट प्राप्त भएका नतिजा तथा सुधारका पक्ष, अन्तरविभाग सञ्चार तथा समन्वयात्मक कार्यक्रमका बारेमा छलफल भएको थियो ।
महानगरपालिकाले स्वच्छ खाद्य सेवाका लागि व्यवसायीहरूलाई क्षमता विकास तालिम प्रदान गरिरहेको छ । चालू आर्थिक वर्षको सुरुमा साना तथा मध्यम भोजनालयका तीन सयजना सञ्चालकलाई तालिम दिएर पहिलो संस्करणको तालिम समापन गरेको थियो । दोस्रो संस्करणमा दसैँलक्षित खानेकुरामध्ये मासुजन्य खाद्य वस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम प्रदान गरेको थियो । दसैँलगत्तै तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यवस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । यसका लागि २११ जनालाई बोलाइएकोमा १६२ जना सहभागी भएका थिए । होटेल, ब्यांक्वेट र क्याटरिङ सेवाका व्यवसायीलाई दिइएको चौथो संस्करणको तालिममा ३६६ जना सहभागी भएका थिए । यसरी प्रदान गरिएका तालिममा अहिलेसम्म एक हजार एक सय ४९ जना व्यवसायीलाई तालिम प्रदान गरिसकिएको छ ।
यो तालिम ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्द्धन शिविर (फुड सेफ्टी, बुट क्याम्प) कार्यक्रमअन्तर्गतको हो । स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड : वेटर बिजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्यधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ ।