०७२ को महाभूकम्पले क्षतिग्रस्त बनेको केशरमहलको मुख्य भाग प्रबलीकरण (रेट्रोफिटिङ) भए पनि यहाँको केशर पुस्तकालय भने अझै सारिएको छैन । जसका कारण इतिहास बोकेको केशर पुस्तकालय करिब नौ वर्षदेखि टहरामा छ । साँघुरो टहरामा जबर्जस्ती पुस्तकालय राख्नुपर्दा पुस्तकहरू छरपस्ट छन्, पुस्तकालय आउने पाठकलाई बसेर पढ्ने ठाउँसमेत नहुँदा त्यत्तिकै फर्किने गरेका छन् ।
पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले भवन प्रबलीकरण भए पनि ठेकेदार कम्पनीले हस्तान्तरण नगर्दा पुस्तकालय सार्न ढिलाइ भइरहेको बताए । उनका अनुसार ठेकेदार कम्पनीले फिनिसिङ तथा डेकोरेसनको काम बाँकी रहेको भन्दै हस्तान्तरण गर्न आलटाल गरेको छ । ‘यो भवन बनिसकेको छ, तर ठेकेदारले हस्तान्तरण गरेको छैन, चैतसम्म हस्तान्तरण गर्ने कुरा छ,’ उनले भने, ‘पुरानै ठाउँमा सारेपछि मात्रै पुस्तकालय व्यवस्थित हुन्छ ।’
०७२ को भूकम्पपछि केशरमहलभित्र रहेका पुस्तकालयलाई नजिकैको टहरामा सारिएको थियो । करिब ३५ रोपनी क्षेत्रफलमा फैलिएको केशरमहल भूकम्पमा क्षतिग्रस्त भएपछि पुस्तकालयलाई सामुन्नेको अस्थायी टहरोमा सारिएको थियो । साँघुरो ठाउँमा पुस्तकालय सार्नु परेकाले किताब अस्तव्यस्त फिँजारिएका छन् । पुस्तकप्रेमीहरू यहाँ पुगे पनि ठाउँ अभावले कतिपय त्यसै फर्कने गरेका छन् । टहरामा केही कुर्सी–टेबल राखिए पनि पर्याप छैन । यहाँ दैनिक ६० जना अध्ययनका लागि आउँछन् । भूकम्पअघि दैनिक दुई सयभन्दा बढी पाठक आउने गर्थे ।
दुई वर्षमा सक्नुपर्ने प्रबलीकरण ६ वर्ष लाग्यो
केशरमहलको प्रबलीकरण (रेट्रोफिटिङ) ०७६ बाट सुरु भएको थियो । दुई वर्षभित्र सम्पन्न गर्ने भनिए पनि ६ वर्षमा सकिएको छ । राणा कमान्डर केशरशमशेरले आफ्नो निजी पुस्तकालय नेपाल सरकारलाई दान दिएपछि ०२६ देखि केशर पुस्तकालयको रूपमा सञ्चालन हुँदै आएको छ । पुस्तकालयमा ११ सय ५० वर्ष पुराना हस्तलिखित ग्रन्थहरूसमेत छन् । अब छिट्टै यी सबै पुस्तक ‘डिजिटलाइज’ गर्ने तयारी छ । पुस्तकालय हेरचाहका लागि १५ जना कर्मचारी छन् । पुस्तकालयमा नयाँ–पुराना गरी करिब ५५ हजार पुस्तक छन् । यहाँ रहेका पुस्तकमध्ये पाठकहरूले सबैभन्दा बढी साहित्यसम्बन्धी खोज्ने गरेको पुस्तकालयकी पुस्तकालय सहायक शोभा धितालले बताइन् ।उनका अनुसार केशर पुस्तकालयमा नयाँ र पुराना कलेक्सन भनेर छुट्याइएको छ । नयाँ कलेक्सन टहराभित्र छन् भने पुराना कलेक्सन केशर महलको दोस्रो तलामा सारिएको छ । पुराना किताब खोजी गर्ने धेरै हुने गरेको पुस्तकालयले जनाएको छ । इतिहास, साहित्य र संस्कृतिसम्बन्धी किताबहरू पुरानो कलेक्सनअन्तर्गत छन् । ‘अहिले पुस्तकालय साँघुरो ठाउँमा छ, भवन प्रबलीकरण भइसकेकाले यी पुस्तक पनि त्यही सार्ने तयारी हुँदै छ, पुरानो कलेक्सनका पुस्तक सारेर नयाँ भवनमा राखिएको छ, तर खुला गरिएको छैन,’ पुस्तकालय सहायक धितालले भनिन्, ‘अहिले किताब राखिएको ठाउँ साँघुरो छ, कतिपय आफ्नै किताब लिएर पनि पढ्न आउनुहुन्छ, त्यस्ता व्यक्तिका निम्ति हामीले भवन जीर्णोद्धार भइसकेकाले एउटा कोठा छुट्याएका छौँ ।’ उनका अनुसार भूकम्पपछि केही समय यो पुस्तकालय बन्द थियो । पछि टहरामा सारेर सञ्चालन गरियो ।
पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानांगले केशरमहलको पुस्तकालयलाई यथाशीघ्र व्यवस्थित गर्नुपर्ने बताइन् । ‘कुनै पनि पुरानो भवन जे प्रयोजनका निम्ति बनेको हो त्यसैका निम्ति प्रयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘केशरमहलको पुस्तकालयको ठाउँमा पुस्तकालय नै राख्नुपर्छ ।’
अब तीन तलामा हुनेछ पुस्तकालय
६ महिनाअघि नै भवन प्रबलीकरण सकिएको हो । यस महलका अन्य कार्यालय भने सरिसकेका छन् । तर, महत्वपूर्ण मानिने पुस्तकालय भने टहरामै छ । भूकम्पअघिसम्म केशरमहलको दोस्रो तलामा पुस्तकालय थियो । अब भने भुइँतला, पहिलो तला र दोस्रो तलाको दक्षिण र पूर्वी भागमा पुस्तकालय रहनेछ । यहाँ पुस्तकालय स्थापनापछि ‘क्याटलग’ पनि व्यवस्थित गरिनेछ भने पाठकले सबैखाले किताब भेट्टाउनेछन् । अहिले केही किताब टहरामा र केशरमहलको दोस्रो तलामा राखिए पनि पाठकका लागि खुला छैन । यसअघि गत २५ असारमा राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले निरीक्षणका क्रममा निर्माणाधीन पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको थियो । अहिले उक्त भवन बनिसकेको छ । यद्यपि, ठेकेदार कम्पनीले हस्तान्तरण नगरेको पुस्तकालयका प्रमुख निरौलाले बताए ।