मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष १० बुधबार o८:३२:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाढीले क्षति पुर्‍याएको ८८ दिनपछि सञ्चालनमा आयो माथिल्लो तामाकोशी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार o८:३२:oo

मंगलबार साँझ १२० मेगावाट विद्युत् उत्पादन, पुसभित्रै पूर्ण क्षमतामा सञ्चालनमा आउने

गत १०–१२ असोजको बाढीपहिरोका कारण बन्द भएको नेपालकै ठुलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना आंशिक रूपमा सञ्चालनमा आएको छ । 

अविरल वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्‍याएको थियो । नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवनमा कार्यरत चारजनाको मृत्यु पनि भएको थियो । त्यसपछि परियोजना बन्द नै भएको थियो । त्यसको ८८ दिनको अवधिमा आंशिक मर्मत–सम्भार गरी मंगलबार साँझ ७.४० बजेदेखि आयोजनाबाट विद्युत् उत्पादन सुरु गरिएको हो ।

प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरको सञ्चालक समितिका अध्यक्षसमेत रहेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहितको टोलीले १८ मंसिरमा स्थलगत अनुगमन गरी १० पुसभित्र विद्युत् उत्पादन गर्ने तालिका बनाएको थियो । त्यसको एक दिनअघि ९ पुसमा परियोजनाबाट विद्युत् उत्पादन सुरु भएको हो । कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र दिनरातको खटाइबाट माथिल्लो तामाकोशीको मर्मत–सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिनअघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताए ।  

हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रूपमा प्रयोग गरी एक सय २० मेगावाट विद्युत् उत्पादन गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । ‘अहिले बाँधमा पानी जम्मा गर्न मिल्ने अवस्था आइसकेको छैन । तसर्थ, नदीमा उपलब्ध पानीलाई नै प्रयोग गरेर विद्युत् उत्पादन सुरु गरिएको छ । त्यसो गर्दा एक सय २० मेगावाट विद्युत् उत्पादन भइरहेको छ,’ उनले भने, ‘परियोजनालाई पिकिङ मोडेल (दिन र रातिमा पानी जम्मा गरेर साँझ पिक आवरमा प्रयोग गर्ने)मा सञ्चालन गर्न भने दुई साताजति लाग्नेछ । त्यसपछि पिक आवरमा चार सय ५६ मेगावाट विद्युत् नै उत्पादन गर्न सकिन्छ ।’

दुईवटा डिस्यान्डरमध्ये बायाँतर्फको डिस्यान्डरको मर्मत–सम्भार गरी विद्युत् उत्पादन सुरु गरिएको हो । बायाँ डिस्यान्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी, कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गरी मर्मत गरिएको छ । त्यसो गर्दा नदीमा बग्ने पानीलाई कल्भर्ट–डिस्यान्डर हुँदै सुरुङमार्फत विद्युत्गृहसम्म पुर्‍याउन सकिएको छ । बाँधमा पानी जम्मा गरेर राख्ने अवस्था भने अझै बनेको छैन । बायाँ डिस्यान्डरकै पर्खालमा अझै पनि ‘कंक्रिट’ गर्ने काम बाँकी छ । उक्त काम सम्पन्न भएपछि बाँधमा पानी जम्मा गर्न सकिन्छ । त्यसपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक)मा केन्द्रलाई पूर्ण क्षमतामा चलाउन सकिन्छ । परियोजनालाई पुसभित्रमा पिक समयमा पूर्ण क्षमतामा चलाउन सक्ने गरी मर्मत–सम्भार भइरहेको बताइएको छ । 

आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने गोङ्गर–खिम्ती दुई सय २० केभी प्रसारणलाइनको सिंगटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो । त्यसको मर्मत–सम्भार भने यसअघि नै सकिएको थियो । ‘देशकै ठुलो विद्युत्गृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो,’ उनले भने, ‘केन्द्रबाट आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएसँगै भारतबाट गरिने विद्युत् आयात सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ ।’

कम्पनीका सिइओ मोहनप्रसाद गौतमले कम्पनीका सञ्चालक समिति, विज्ञसमूहबाट विद्युत्गृह सञ्चालन गर्न प्राप्त सुझावलाई समेटेर मर्मत–सम्भारका उपायहरू अवलम्बन गरी कार्ययोजनाका साथ काम अगाडि बढाइएको र त्यसको नियमित अनुगमनबाट तोकिएको दिनभन्दा अगाडि नै विद्युत् उत्पादन गर्न सफल भएको बताए । दायाँतर्फको अर्को डिस्यान्डर मर्मत आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने गरी काम गर्न निर्माण व्यवसायी छनोटका लागि बोलपत्र (टेन्डर) आह्वान भइसकेको उनको भनाइ छ । 

परियोजनाको सम्पूर्ण संरचनाको बिमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मत–सम्भार खर्च बिमाबाट प्राप्त रकमबाट व्यहोरिनेछ । कम्पनीले पहिरोले पुर्‍याएको क्षतिको एक अर्ब ७८ करोड रुपैयाँको प्रारम्भिक बिमा दाबी गरेको थियो । 

कम्पनी र राष्ट्रिय बिमा कम्पनीबाट संयुक्त रूपमा हाल क्षतिको यकिन मूल्यांकन भइरहेको छ । उक्त काम सम्पन्न भएपछि बिमाको रकम भुक्तानी प्राप्त हुनेछ । यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनाको बिमा गरिएको छ । बिमा सम्झौतामा उल्लिखित सर्तबमोजिम कम्पनीले दुई महिनाको आम्दानीको भुक्तानी पाउनेछ ।  

पिक आवरको माग धान्न सहज हुने
हिउँदका कारण खोलामा पानी कम भएर जलविद्युत् उत्पादन घटेसँगै प्राधिकरणले स्वदेशी माग धान्न भारतबाट विद्युत् आयात सुरु गरिसकेको छ । भारतले आफ्नो बजारबाट ६ सय ५४ मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणलाई स्वीकृत दिएको छ । तर, भारतले साँझ ६ देखि ९ बजेसम्म भने विद्युत् दिँदैन । त्यसले गर्दा साँझ पिक आवरमा विद्युत्को माग धान्न चुनौती भइरहेको छ । प्राधिकरणले पिक आवरमा उद्योगहरूमा विद्युत् कटौतीसमेत सुरु गरिसकेको छ । तर, माथिल्लो तामाकोशी सञ्चालनमा आएसँगै पिक आवरको विद्युत् माग धान्न सहज हुने बताइएको छ । नेपालमा अहिले विद्युत्को जडित क्षमता ३५ सय मेगावाट छ । त्यसमा अधिकांश नदी प्रवाहमा आधारित जलविद्युत् परियोजना छन् । चार सय ५६ मेगावाट क्षमताको यो नेपालको सबैभन्दा ठुलो परियोजना हो । सबैभन्दा ठुलो र अर्धजलाशय प्रकृतिको भएकाले हिउँदको समयमा यसको महŒव धेरै छ ।