बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमन्ड माइलफस्की पुरस्कार –२०२४’ प्रदान गरेको छ । आइब्रुले श्रेष्ठको फोटोसहित केन्द्रको वेबसाइटमा यो घोषणा गरेको हो । श्रेष्ठ नेपाल मात्र नभएर दक्षिण एसियाकै सिमानाको विषयमा विज्ञका रूपमा आइब्रुले उल्लेख गरेको छ ।
उनी नापी विभागका पूर्वमहानिर्देशक हुन् । सन् १९९२ मा महानिर्देशकबाट निवृत्त भएपछि श्रेष्ठले नेपालका सीमा व्यक्तिका रूपमा आफैँले दोस्राे करिअर सुरु गरेका थिए । उनी सीमा व्यवस्थापन,सीमा रिकोभरीलगायतको कानुनका समेत विज्ञ हुन् । देशको भौगोलिक सीमांकन, ऐतिहासिक सन्धिका आधारमा तयार भएका नक्साहरूको अध्ययन गर्दै सीमा विवाद समाधानमा उनले सुझावसमेत प्रस्तुत गर्दै आएका छन् ।
‘बोर्डर म्यान अफ नेपाल’को रूपमा उनले सीमा व्यवस्थापन र सीमाक्षेत्र पुनर्प्राप्तिका कानुनी मुद्दाहरूमा आफूलाई शिक्षित गरेपछि सीमा अध्ययनमा व्यापक मुद्दाहरूप्रति आफ्नो सर्वेक्षण पृष्ठभूमि लागू गर्न, सीमांकनमा विशेषज्ञ बन्न, ऐतिहासिक सन्धि र मानचित्रको जटिलताहरू र समकालीन विवाद समाधानका लागि तिनीहरूको प्रभावबारे सरकारलाई सल्लाह दिन यस विषयमा १४ वटा पुस्तक प्रकाशित गरे ।
उनले सीमारक्षकका रूपमा आफूलाई उभ्याएका छन् । उनले देशको भौगोलिक सीमाको रक्षकका रूपमा निरन्तर आफूलाई उभ्याएको पनि वेबसाइटमा उल्लेख छ । ‘श्रेष्ठ सीमारेखा, सीमास्तम्भ र सीमाचिह्नहरूमा आफ्नो आँखा पुर्याउने गर्छन्। उनले आफ्नो देशको राष्ट्रिय सीमाको सुरक्षाका लागि तीन दशकभन्दा बढी समयदेखि सीमारक्षक, सीमा सूचनाकर्ता, सीमा संरक्षक, भौगोलिक सीमाप्रति दृष्टि पुर्याउने व्यक्तिका रूपमा विभिन्न गतिविधि र कर्तव्यहरू निर्वाह गर्दै आएका छन् । त्यसैले उनलाई द बोर्डर म्यान अफ नेपाल भनिन्छ,’ वेबसाइटमा उल्लेख छ ।
पुरस्कार प्रदान गरिएको उजागर गर्दै आइब्रुका निर्देशक फिलिप स्टाइनबर्गले उल्लेख गरेका छन्, ‘बुद्धिनारायण श्रेष्ठले आफ्नो देशप्रति समर्पित गर्ने चाहनाका साथसाथै शान्ति र स्थिरता ल्याउनका लागि सीमाक्षेत्रमा आफूलाई समर्पित गर्न रोजेका छन्। उनले नेपाल र सीमापार सीमा निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन् र हामी उनलाई माइलफस्की अवार्डले मान्यता दिन पाउँदा गर्व गर्छौँ ।’
माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ । माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमन्ड माइलफस्कीको सम्पत्तिबाट प्राप्त वसियतबाट सम्भव भएको हो, जो आइब्रु प्रशिक्षण कार्यशालाहरूमा प्रशिक्षक रहेका थिए । पुरस्कारमा ७४५ स्टर्लिङ पाउन्ड नगद राशि रहेको छ ।