मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
गणेश लम्साल विराटनगर
२o८१ पौष ७ आइतबार o७:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोशी प्रदेश आफैँले लगानी सम्मेलन गर्ने 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार o७:५८:oo

११ माघदेखि उद्योग संगठन मोरङको सहआयोजनामा तयारी गरिएको सम्मेलनमा स्थानीय उद्योगीबिच मतभेद भएपछि प्रदेश सरकार आफैँले आयोजना गर्ने

आगामी माघमा हुन लागेको पहिलो तीनदिने लगानी सम्मेलन अब कोशी प्रदेश सरकारले मात्रै आयोजना गर्ने भएको छ । उद्योग संगठन मोरङको सहआयोजनामा ११ माघदेखि गर्ने तयारी गरिएको सम्मेलनमा स्थानीय उद्योगीहरूबिच मतभेद भएपछि प्रदेश सरकार आफैँले आयोजना गर्ने भएको हो । 

पहिलोपटक सरकारले आयोजना गर्न लागेको बृहत् लगानी सम्मेलनबारे निजी क्षेत्रबिचको विवाद सार्वजनिक भएपछि कोशी प्रदेश सभाको सुशासन समितिले पनि चासो लिएको छ । ४ पुसमा कोशीको सुशासन तथा योजना समितिले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बोलाएर जानकारी लिएको थियो । समितिमा मुख्यमन्त्री कार्कीले सम्मेलन निजी संस्थाको ब्यानरमा नभई सरकार आफैँले आयोजना गर्ने स्पष्ट पारेका थिए । निजी संस्थालाई आयोजक बनाएर लगानी सम्मेलन गर्दा सरकारको अपमान हुने भन्दै विरोध भएपछि कोशी प्रदेश सरकार आफैँले आयोजना गर्न बाध्य भएको हो ।  

३७ योजना सोकेसमा 
प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले लगानी सम्मेलनमा ३७ वटा योजना सोकेसमा राखिने तयारी भएको बताए । अझै आउने परियोजनालाई थप गर्न फोरम ओपन नै राखिएको उनको भनाइ छ । प्रदेशले १० करोडभन्दा तलका योजना नहेर्ने भएकाले सोभन्दा बढीका योजनाहरू नै सोकेस गरिने उनले जानकारी दिए । लगानी बोर्डका अनुसार पहिलो चरणमा आएका ३७ योजनाको एक खर्ब पाँच अर्ब ८५ करोडको प्रारम्भिक प्रस्ताव तयार पारिएको छ ।

विवादमा पर्नुको कारण 
प्रदेश सरकारले निजी क्षेत्रलाई पनि सहभागी गराउन उद्योग संगठनलाई लगानी सम्मेलन संयोजन गर्न अनुमति दिएको थियो । सोही विषयलाई लिएर अर्को संस्था नेपाल उद्योग परिसंघ कोशीले एक संस्थाको आयोजनामा लगानी सम्मेलन गरिएमा बहिष्कार गर्ने चेतावनी दिएको थियो । परिसंघको उक्त चेतावनीलाई मोरङ व्यापार संघले पनि समर्थन जनायो । तर, उद्योग वाणिज्य संघ कोशीले लगानी सम्मेलन उद्योग संगठनकै सहकार्यमा हुने र त्यसमा सहभागी भएर सफल बनाउन केन्द्रमार्फत देशभरिका शाखालाई पत्राचार गराइसकेको थियो ।  

खासगरी विराटनगरका औद्योगिक संस्थाहरूले हरेक वर्ष आआफ्नो तर्फबाट व्यापारिक मेला र प्रदर्शनीहरू गर्दै आएका छन । उद्योग परिसंघ कोशीले ११ पुसदेखि विराटनगर, मुनालपथस्थित खाली मैदानमा र उद्योग संगठन मोरङले ५ पुसदेखि विराटनगर डिग्री क्याम्पसको मैदानमा मेला (एक्सपो) गर्ने सार्वजनिक जानकारी गराइसकेका थिए । दुई मेलाको समयको ग्याप थोरै भयो भन्दै उद्योग संगठनले मिति सार्न आग्रह गरेपछि परिसंघले फागुन ११ देखि एक्सपो गर्ने निर्णय गरेको थियो । तर, संगठनले प्रदेश सरकारको लगानी सम्मेलनलाई समेत समेटेर परिसंघले तोकेको पुरानो मिति ११ देखि  २० माघसम्म लगानी सम्मेलनसहित मेला गर्ने निर्णय गर्‍यो ।

एकतर्फी एक्स्पोको मिति सारेको भन्दै परिसंघका अध्यक्ष पवनकुमार सारडाले मुख्यमन्त्री, उद्योग संगठन र उद्योग परिसंघका पूर्वअध्यक्ष, जिल्ला प्रशासन र विराटनगर महानगरपालिकालाई समेत बोधार्थ दिएर सोही मितिमा समानान्तर एक्सपो लगाउने र सम्मेलन बहिष्कार गर्ने चेतावनी दियो । मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले पनि कुनै एउटा संस्थाको आयोजनामा मात्र लगानी सम्मेलन हुनुनहुने बताए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सम्मेलनका विषयमा विवाद नरहेको बताए । उनले भने, ‘प्रदेश सरकारले किन र कोसँग पार्टनरसिप गर्‍यो हामीले बोल्ने हैन । हामी त पाएको जिम्मेवारीलाई बेस्ट गर्न लागिपरेका छौँ ।’