मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
फाइल तस्बिर
२o८१ पौष ७ आइतबार १२:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले काम गर्न नसकेको प्रधानमन्त्रीले नै स्विकार्नुभएको छ : कोइराला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार १२:२१:oo

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दुई ठुला दल मिलेर बनेको वर्तमान सरकार असफल हुने छुट नरहेको बताएका छन्। धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यो सरकार असफल भए देशमा अराजकता निम्तिने भन्दै कुनै हालतमा सरकार चल्नुपर्ने धारणा राखे। 

‘सरकार बनेको पाँच महिनाजति भयो। जनताले अपेक्षा गरेको जस्तो काम सरकारले गर्न सकेको छैन, केही भइरहेको छैन भन्ने कुरा प्रधानमन्त्री नै भनिरहनुभएको छ। मन्त्रिमण्डल चेन्ज गर्ने कुरा पनि सुनिन्छ,’ कोइरालाले भने, ‘तर, सरकारलाई असफल हुने छुट छैन।’

दुई दलको सहमति हुँदा प्राप्त ‘म्यान्डेट’का साथ सरकार बनेको र त्यसमा भने सरकारले ध्यान दिन नसकेको उनले बताए। राजनीतिक स्थायित्वका लागि सरकार गठन भएको उल्लेख गर्दै उनले त्यसका लागि संविधानमा केही संशोधन आवश्यक रहेको बताए। कांग्रेस–एमालेबिच सरकार गठन हुँदा भएको संविधान संशोधन गर्ने सहमतिमा सरकारले कुनै काम नगरेकोप्रति समेत उनले असन्तुष्टि व्यक्त गरे। 

‘राजनीतिक स्थायित्वका लागि संविधानमा केही सुधार गर्नुपर्छ। तर, संविधान संशोधनतिर सरकारको ध्यान नगएकोमा हाम्रो चिन्ता छ,’ कोइरालाले भने, ‘यो विषयमा पटक्कै छलफल भएको छैन। हामी सबैले सरकारलाई दबाब दिनुपर्छ।’ संविधान संशोधनबारे अन्य दलहरूसँग पनि छलफल गर्नुपर्ने उनको भनाइ थियो।

आगामी महाधिवेशनलाई लक्षित गरेर तीन दिनसम्म धनगढीमा सुदूरपश्चिमका आफूनिकट नेता–कार्यकर्तासँग छलफल गरेका कोइराला आजै काठमाडौं फर्कँदै छन्।

पत्रकारले सोधेको प्रश्नमा उनले निर्वाचित हुने आत्मविश्वासका लागि आगामी महाधिवेशनमा सभापतिमा उठ्न लागेको बताए। महामन्त्री गगन थापासँग आफ्नो कुनै असमझदारी नरहेको उनले दाबी गरे।

‘गेटामा मेडिकल कलेज सञ्चालनको पहल गर्छु’
पत्रकार सम्मेलनमा नेता कोइरालाले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए। सेती प्रादेशिक अस्पताललाई लिएर गेटामा अहिले नै मेडिकल कलेज सञ्चालन गर्न सकिने उनको भनाइ थियो।

गेटामा संरचना बनिसकेकाले मेडिकल कलेज चलाउन कुनै अप्ठ्यारो नरहेको उनको भनाइ छ। ‘गेटामा मेडिकल कलेजका लागि त्यत्रो संरचना बनेको छ, तर काम अगाडि बढेको छैन। किन बनेन थाहा छैन। तर, सञ्चालनका लागि मेरो पहल हुन्छ,’ उनले भने।