मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १ सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १ सोमबार o८:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

टिआरसी आयोगमा पदाधिकारी सिफारिस हुन सकेन 

सिफारिस समितिको आज निर्णायक बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १ सोमबार o८:४९:oo

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस सकसपूर्ण बनेको छ । दुवै आयोगका पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समितिले समयसीमाको एक दिनअघिसम्म पदाधिकारी सिफारिस गर्न नसकेको हो । आइतबार साँझ दुई घण्टाभन्दा बढी समय बसेको सिफारिस समितिको बैठक निष्कर्षविहीन बनेको छ । अर्काे बैठक सिफारिस गर्ने अन्तिम दिन सोमबार बिहान ८ बजे बोलाइएको छ ।

सिफारिस समितिका प्रवक्ता खम्मबहादुर खातीले संक्षिप्त सूचीमा परेका व्यक्तिबाट कसलाई छनोट गर्ने भन्ने निष्कर्षमा पुग्न नसकिएको बताए । ‘दुई घण्टाभन्दा बढी समय बसेको सिफारिस समिति बैठक कुनै निष्कर्षमा पुग्न सकेन,’ उनले भने, ‘सोमबार अन्तिम दिन पनि हो । हामी सघन छलफलबाट नजिक पुगेका छौँ । बिहान ८ बजे बसेर १०–११ बजेभित्र टुंग्याउँछौँ ।’

दुई आयोगमा १० जना पदाधिकारीका लागि १५८ जनाले आवेदन दिएका थिए । सिफारिस समितिले ४० जनाको नाम सर्टलिस्ट अर्थात् संक्षिप्त सूचीमा राखेको थियो । ४० जनाबाट १० जना छनोट गरी मन्त्रिपरिषद्मा पठाउनुपर्ने जिम्मेवारी सिफारिस समितिलाई छ । दुई आयोगको अध्यक्षका लागि आठजना र सदस्यका लागि ३२ जनाको नाम सर्ट लिस्टमा छ ।

सरकारले २ कात्तिकमा आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा मनोज दवाडी, अर्जुनबहादुर कार्की, स्टेला तामाङ र खम्मबहादुर खाती सदस्य छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन दफा ३ बमोजिम सिफारिस समितिले ६० दिनभित्र दुइटै आयोगमा अध्यक्षसहित पाँच–पाँचजना गरी १० जनाको नाम पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नुपर्छ । मन्त्रिपरिषद्ले नियुक्त गरेपछि आयोगका पदाधिकारीले काम थाल्नेछन् ।