मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १ सोमबार
  • Monday, 16 December, 2024
२o८१ पौष १ सोमबार o८:३८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शेखर समूहलाई महाधिवेशन ढिलाइको संशय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १ सोमबार o८:३८:oo

कांग्रेसमा सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको भए पनि विधानको धारा ४३ अनुसार असाधारण स्थिति देखाएर संस्थापन पक्षले एक वर्ष समयावधि थप गर्न सक्ने डर

कांग्रेस संस्थापनइतर समूहनिकट नेताहरूले बिहीबार अनामनगरमा ‘१५औँ महाधिवेशनकेन्द्रित सम्पर्क कार्यालय’ खोले । सम्पर्क कार्यालयमार्फत औपचारिक दबाब अभियानमा गुरुराज घिमिरे, डा. चन्द्र भण्डारी, देवराज चालिसे, सरिता प्रसाईं, हृदयराम थानीलगायत नेता शेखर कोइरालानिकट नेताहरू जोडिएका छन् ।

अभियानको नेतृत्व गरेका घिमिरेले पार्टीले कुनै तयारी नगरेपछि ०८२ मंसिरभित्र महाधिवेशन सम्पन्न गराउन केन्द्रीय समितिमार्फत दबाब दिन अभियान थालिएको बताए । अभियानअन्र्तगत तत्काल कार्यतालिका बनाएर महाधिवेशनको प्रक्रिया थाल्न दबाब दिइने उनको भनाइ छ । अभियानअन्तर्गत तल्लो तहबाट दबाब बढाउन अन्तरक्रिया, पार्टीको निर्वाचन प्रणालीलगायतका बारेमा बहस सिर्जना गर्ने तयारी छ ।

‘विधानको व्यवस्थाअनुसार ०८२ मंसिरमा पार्टीको महाधिवेशन हुनुपर्छ । अहिले म्याद थपका लागि कुनै विशेष परिस्थिति पनि छैन । महाधिवेशनका लागि राजनीतिक र सांगठनिक पूर्वाधार तयार हुनुपर्ने हो, तर त्यसका लागि केन्द्रीय समिति अग्रसर भएको देखिएन,’ उनले भने, ‘व्यावहारिक तदारुकताविना भनेर मात्रै महाधिवेशन हुँदैन । कार्यतालिका बनाएर प्रारम्भिक गतिविधि सुरु गर्न केन्द्रीय समितिमार्फत दबाब बढाउन लागेका छौँ । हामी पार्टीलाई सुझाव र दबाब दिन्छौँ । अभियान गुटगत होइन ।’ 

पछिल्लोे समय शेखर–गगन समूहमा दरार छ । लामो समयदेखि यो समूहको बैठकसमेत बस्न सकेको छैन । तल्लो तहका नेताहरू भने दुई नेतालाई जुटाउन सक्रिय छन् । महामन्त्री थापा पछिल्लो समय मौन बनेपछि कोइरालाले १५औँ महाधिवेशनमा सभापतिका लागि देशदौडाहा सुरु भएको घोषणा गरेका छन् । पछिल्लो गतिविधि हेर्दा कोइराला समूहले महाधिवेशनको प्रक्रिया थाल्न ढिलाइ भएको भन्दै विभिन्न गतिविधि गरिरहेको छ ।

गत २ कात्तिकमा कोइरालानिकट युवा नेताहरूको नेतृत्वमा १० बुँदे एजेन्डासहित ४ मंसिरसम्म मेची–महाकाली ‘युवा संकल्प यात्रा’ गरिएको थियो । अभियानमा संलग्न नेताहरूका अनुसार कोइरालाका पक्षमा माहोल बनाउन अभियान थालिएको थियो । तर, अभियानमा संलग्नहरू कोइरालाको योजनाअनुसार नै महाधिवेशनकेन्द्रित अभियान रहेको दाबी गर्छन् । ‘अभियान १५औँ महाधिवेशनलाई दबाब दिन लक्षित थियो,’ कोइरालानिकट एक नेताले भने । अभियान संयोजक भूपेन्द्रजंग शाही भने यसलाई इन्कार गर्छन् । ‘हामीले गुट विशेषको स्वार्थमा अभियान गरेका थिएनौँ । हामीलाई आरोप लाग्यो, तर कार्यक्रम समापनसम्ममा गुटगत गन्ध कहीँ पनि देखिएन,’ उनले भने ।

महाधिवेशनका लागि दबाब दिन गत २२ मंसिरमा कांग्रेसको कोशी प्रदेश सम्मेलनलाई टक्कर दिने गरी कोइरालाले आफ्नो गृहनगर विराटनगरमा १८ मंसिरमा पालिका सभापतिहरूको भेला राखेका थिए । भेलामा कोइरालाले आफू ०८२ को महाधिवेशनमा सभापति उम्मेदवार बन्ने र त्यसका लागि अभियान सुरु भएको घोषणा गरे । महामन्त्री थापानिकट नेताहरूको कोइरालाको भेलामा सहभागी थिएनन् । कांग्रेसले २४ मंसिरमा विराटनगरमै गरेको कोशी प्रदेशस्तरीय भेला कोइरालाले बहिष्कार गरे । भेलामा महामन्त्री थापाले कोइरालाले बोलाएको भेला सही नभएको टिप्पणी गरेका थिए ।

विधानको धारा १७ को व्यवस्थाअनुसार ०७८ मंसिरमा १४औँ महाधिवेशन भएको कांग्रेसको नियमित रूपमा १५औँ महाधिवेशन ०८२ मा हुनुपर्ने हुन्छ । यसबाहेक असाधारण परिस्थितिमा एक वर्ष बढाउने विधानमा व्यवस्था छ । ‘पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ,’ धारा ४३ मा भनिएको छ । यही व्यवस्थाका कारण संस्थापन समूहले एक वर्ष समयावधि थप्ने संशय शेखर समूहलाई छ ।

संस्थापन समूहका नेता एनपी साउद ०८२ मै महाधिवेशन हुने अवस्था देख्दैनन् । महाधिवेशनका लागि आवश्यक संगठनात्मक गतिविधि पर्याप्त नभएको उनको निष्कर्ष छ । भएका गतिविधिलाई पनि महाधिवेशनकेन्द्रित भन्न नमिल्ने उनले बताए । ‘कांग्रेस विधानमा चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ, तर प्रायः एक वर्ष थप गरेर पाँच वर्षमा महाधिवेशन सम्पन्न हुने गरेका छन् । अहिले पनि पार्टीले सदस्यता नवीकरणको काम जुन गतिमा हुनुपर्ने हो, त्यसो भइरहेको छैन । नयाँ सदस्यता वितरणको काम भइरहेको छैन,’ उनले भने, ‘पार्टीका केही गतिविधिले महाधिवेशनका लागि सांगठनिक प्रक्रिया पूरा गर्न लागिरहेको भान हुन्छ, तर यसलाई महाधिवेशनकेन्द्रित गतिविधि भन्न मिल्दैन,’ उनले भने ।