एकपटक वसन्त ऋतुको समयमा कोइली एउटा रुखको हाँगामा बसेर कुहुकुहु गरिरहेको थियो । रुखनजिकको बाटो हुँदै आवतजावत गर्ने मानिस एकैछिन रोकिएर कोइलीको कुहुकुहु सुन्थे र उसको आवाजको प्रशंसा गर्दै बाटो लाग्थे । यस्तैमा एउटा काग तीव्र गतिमा कतैबाट उड्दै आएर कोइलीको नजिकैको हाँगामा बस्यो । ऊ केही दुःखी देखिन्थ्यो ।
कोइलीले कागसित सोध्यो– यति तीव्र गतिमा कता जाँदै छौ काग दाइ ? केहीबेर बस न, कुराकानी गरौँ । कागले भन्यो– म अलि हतारमा छु । म यो देश छाडेर परदेश जाँदै छु । कोइलीले त्यसरी परदेश जानुको कारण सोध्यो । कागले जवाफ दियो– यहाँका मानिस असाध्यै खराब छन् । सबै तिमीलाई मात्र माया गर्छन् । सबै तिम्रो आवाजको मात्र सम्मान गर्छन् । उनीहरू खालि तिमी मात्र आफ्नो आसपास बसेर बोलिरहेको सुन्न चाहन्छन् । कोही पनि मलाई देख्न र मेरो बोली सुन्नसमेत चाहँदैनन् । म कतै बसेको देखे भने ढुंगाले हिर्काएर भगाइहाल्छन् । जहाँ मेरो यस्तो अपमान हुन्छ त्यहाँ म एकछिन पनि बस्न चाहन्नँ । विद्वान्हरूले पनि आफ्नो अपमान हुने स्थानमा बस्नु उचित हुँदैन भनेका छन् ।
कागको गुनासो सुनेपछि कोइलीले भन्यो– परदेश जान चाहन्छौ भने आरामले जाऊ । त्यो तिम्रो व्यक्तिगत स्वतन्त्रताको विषय हो । तर, तिमी जहाँ गए पनि पहिले आफ्नो आवाज परिवर्तन गरेर मात्र जाऊ । आफ्नो बोली मधुर बनाऊ । तिम्रो बोली पहिलेजस्तै कठोर नै भइरह्यो भने परदेशमा पनि मानिसले तिमीलाई यहाँको जस्तै व्यवहार गर्नेछन् । संसार जस्तो छ, त्यसलाई हामी परिवर्तन गर्न सक्दैनौँ । तर, हामी आफ्नो दृष्टिकोण र बोली परिवर्तन गर्न सक्छौँ । यी दुई कुरा परिवर्तन गर्न सकियो भने हाम्रो जीवनको दिशा र दशा परिवर्तन हुनेछ अनि जीवन सुखमय हुनेछ ।