‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको २ करोड ९२ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोगमा सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस तथा छात्रावास भवन निर्माण भएको छ।
भवनहरू शुक्रबार क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ। जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले भवन उद्घाटन गर्दै क्याम्पस हस्तान्तरण गरे।
क्याम्पसमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवीहरू सहभागी थिए। भारत सरकारको अनुदानमा दुईतले कक्षाकोठा ब्लक, दुईतले होस्टेल ब्लक र अन्य सम्बद्ध सुविधाहरूसहितको भवन निर्माण भएको छ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी)को रूपमा लिएर जिल्ला समन्वय समिति काठमाडौंमार्फत भवन निर्माण परियोजना कार्यान्वयन भएको भारतीय राजदूतावासले जनाएको छ।
सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस सन् २००० मा स्थापना भएको हो। क्याम्पसले नर्सिङमा तीनवर्षे प्रवीणता प्रमाणपत्र तहको अध्ययन गराउँदै आएकाे छ। क्याम्पसले हरेक वर्ष १२० जना प्रशिक्षित नर्स उत्पादन गर्दै आएको छ।