जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित यात्रा जारी राखेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई १ रनले हरायो । जितसँगै जनकपुर ८ अंकका साथ शीर्ष स्थानमा उक्लियो । लगातार तीन खेलमा जित निकालेको सुदूरपश्चिमले लिगमा पहिलो हारको सामना गरेको छ । आइतबार भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिमलाई ३३ रनले पराजित ग¥यो ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लगातार चार हारका साथ पुछारमा छ । लुम्बिनीको प्लेअफ सम्भावना अंकगणितीय रूपमा मात्रै जीवितै छ । शीर्ष चार फ्रेन्चाइज टोली प्लेअफमा पुग्नेछन् । सुदूरपश्चिमको हारले जनकपुर पुनः शीर्ष स्थानमा उक्लेको हो । पहिलो हारपछि सुदूरपश्चिम ६ अंकसहित दोस्रो स्थानमा झरेको छ । समान ६ अंक जोडेको चितवन तेस्रो स्थानमा उक्लियो ।
जनकपुरसँग लुम्बिनी १ रनले स्तब्ध
त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले २० ओभरमा नौ विकेट गुमाएर १३६ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा ब्याट्सम्यानले धैर्य गुमाउँदा लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाएर १३५ रन जोड्यो । अन्तिम ओभरसम्म लुम्बिनीको हातमा खेल थियो । लिगमा पहिलो जित निकाल्नका लागि क्रिजमा अनुभवी खेलाडी सन्दीप जोरा थिए । जनकपुरका हर्ष ठाकरले बलिङ गरेका थिए ।
लुम्बिनीलाई जित निकाल्न ६ बलमा ९ रन जोड्नुपर्ने थियो । हर्षले १९.१ ओभरमा साद विन जाफरलाई आउट गरे । त्यसपछि क्रिजमा दुर्गेश गुप्ता आए । उनले सामना गरेको पहिलो बलमै चौका लगाए । हर्षले १९.३ ओभरमा डट फ्याँके । दबाबमा आएका दुर्गेशले १ रन लिँदै सन्दीपलाई स्ट्राइक दिए । सन्दीपले १९.५ ओभरमा २ रन लिँदै लुम्बिनीको स्कोर १३५ रन पु¥याए ।
सन्दीप स्ट्राइकमा रहँदा जनकपुर केही दबाबमा देखियो । सन्दीपले बाउन्ड्री लगाएर खेल टुंग्याउने रणनीति अपनाउँदा क्याच आउट भए । सन्दीप क्याच आउट हुँदा लुम्बिनीको डे«सिङ रुममा सन्नाटा छाएको थियो । खेल सकिएको केही मिनेटसम्म सन्दीपले हार स्वीकार्न सकेका थिएनन् । उनी दुर्गेशसँगै निराश हुँदै क्रिजमै बसेका थिए । अर्कोतिर असम्भव जित निकालेको जनकपुरले खुसी मनायो ।
हर्षको पाँच विकेट
जनकपुरका स्पिनर हर्ष ठाकरले तेस्रो पाँच विकेट लिने बलरका रूपमा आफूलाई उभ्याए । उनले चार ओभरमा २३ रन खर्चेर पाँच विकेट लिएका हुन् । यसक्रममा उनले कप्तान रोहितलाई १५.४, टम मोरेसलाई १७.१ ओभर र विवेक यादवलाई १७.३ ओभरमा आउट गरे । उनले अन्तिम ओभरमा साद र सन्दीपको विकेट लिँदै जनकपुरको अपराजित यात्रालाई निरन्तरता दिए ।
लुम्बिनीका कप्तान रोहितले ३८ बलमा ३५ रन बनाए । टम मोरेसले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३१ रन जोडे । ओपनर अर्जुन साउदले २३ बलमा २० रन बनाए । रोहित र अर्जुनले दोस्रो विकेटका लािग ४२ तथा रोहित र मोरेसले तेस्रो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । यसअघि ब्याटिङ गरेको जनकपुरका कप्तान अनिलकुमार शाहले ३९ बलमा एक चौका र चार छक्कासहित सर्वाधिक ४५ रन बनाए । लाहिरू मालिन्थाले २४, शुभ कंसाकारले २२ र आसिफ शेखले १६ रन जोडे ।
सुदूरपश्चिमको फितलो ब्याटिङ
लगातार तीन खेलमा उत्कृष्ट ब्याटिङ गरेको सुदूरपश्चिमको चोथो खेल कमजोर बन्यो । तीन खेलमा जित निकालेको सुदूरपश्चिमको चितवनविरुद्ध ब्याटिङ चलेन । एनपिएलको १५औँ खेलमा चितवनले पहिलो ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेट गुमाएर १६४ रन बनाएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ र सैफ जैबले १८ रन बनाए । चितवनका लागि अफगानी १८ वर्षीय दायाँहाते इसाखिलले ५२ बलमा ६ चौका र तीन छक्कासहित सर्वाधिक ६५ रन बनाए । यसबाहेक रवि बोपाराले १८ बलमा समान दुई चौका र छक्कासहित ३६ रन जोडे । विपिन र इसाखिलबिच ४४ बलमा ५० रनको साझेदारी भएको थियो ।
फर्किए शिखर धवन
भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवन एनपिएलका चार खेल खेलेर फर्किएका छन् । उनी आइतबार सगरमाथा आधार शिविरको भ्रमणपछि स्वदेश फर्किएका हुन् । एनपिएलको फ्रेन्चाइज टोली कर्णाली याक्सले उनलाई चार खेलका लागि अनुबन्ध गरेको थियो । कर्णालीका सहमालिक गृहेन्द्र घिमिरेले सम्झौताअनुसार धवनले एनपिएलमा चार खेल मात्र खेलेको बताए । धवनले एक अर्धशतकसहित एनपिएलमा १३६ रन बनाए । ‘नेपाल आएर एनपिएल खेल्दा फरक अनुभव गर्ने अवसर पाएँ,’ धवनले भने, ‘स्थानीय खेलाडीलाई केही सिकाउने र आपूmले पनि केही अनुभव लिएँ ।’ धवनले कर्णालीसँग प्रतिखेल ३० हजार अमेरिकी डलरको सम्झौता गरेका थिए । गत सिजनको इन्डियन प्रिमियर लिगमा उनले पन्जाब किंग्सबाट खेलेका थिए ।
काँधको चोटका कारण उनले पन्जाबबाट पाँच खेल मात्र खेलेका थिए । भारतीय क्रिकेट बोर्डले राष्ट्रिय टोली तथा घरेलु क्रिकेट खेल्ने खेलाडीलाई विदेशको क्रिकेट खेल्ने अनुमति दिँदैन । सन्न्यासपछि मात्र अर्को देशबाट फ्रेन्चाइज क्रिकेट खेल्न पाइने भएका कारण धवन एनपिएल खेल्न नेपाल आएका हुन् । एनपिएल खेल्ने भारतको राष्ट्रिय टोलीबाट खेलेका उनी एक मात्र खेलाडी हुन् ।