सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अघिल्लो सरकारले व्यक्तिविशेषका नाममा ल्याएका योजना आफूले काटेको बताएका छन । बिहीबार नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको पदस्थापना दिवस कार्यक्रममा आर्थिक मामिलामन्त्री थापाले अघिल्लो सरकारले व्यक्तिविशेषका नाममा ल्याएका योजना आफूले काटेको बताएका हुन् ।
‘म विशेष जटिल परिस्थितिमा मन्त्री बनेको हुँ, अधिल्ला सरकारले व्यक्तिविशेषका लागि ल्याएका योजना काटेँ,’ उनले भने, ‘राम्रो योजना मात्रै ल्याएका छु, अब प्रदेशका योजना अघि बढ्छन् ।’ बजेटमा अघिल्ला सरकारका योजनामा थुप्रै कमी–कमजोरी भएकाले योजना संशोधन गरेर नयाँ बजेट ल्याएको बताए ।
सविधान संशोधनमार्फत मुलुकमा सुशासन ल्याउनुपर्नेमा जोड दिँदै उनले आर्थिक सुशासन कायममा जोड दिएका छन् । प्रदेश सरकारले आर्थिक वृद्धि विकासका कार्यक्रम अघि सञ्चालन गरेको बताए । आर्थिक सुशासनदेखि वित्तीय सुशासनका लागि पत्रकारको समेत महत्त्वपूर्ण भूमिका हुने बताए ।