मुगुस्थित रारा राष्ट्रिय निकुञ्जको जंगलमा पहिलोपटक कालो रङको चितुवा र लोखर्के देखापरेका छन्।
निकुञ्ज स्थापनादेखि कहिल्यै नदेखिएका यी वन्यजन्तु त्रिभुवन विश्वविद्यालयका शाेधकर्ता विद्यार्थीहरूले स्तनधारी वन्यजन्तुको अध्ययन, अनुसन्धान गर्न जडान गरेका क्यामेरामा कैद भएका निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए।
क्यामेराहरूमा हिमाली भालु, स्याल, कस्तुरी, बँदेललगायत विभिन्न स्तनधारी जनवारको भिडियो कैद भएकोमा कालो रङको चितुवा (मेलनिस्टिक लिओपार्ड) र लोखर्के भने पहिलोपटक देखिएको निकुञ्जका सूचना अधिकारी धर्मजित साउदले जानकारी दिए। निकुञ्जभित्र पाइने ठुला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण तथा तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयापिङ गरिएको हो।
त्रिवि, प्राणीशास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापा मगर, अनुसन्धानकर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाईं र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकायालगायत अनुसन्धानमा सक्रिय छ्न्। यो अनुसन्धानको सुपरिवेक्षण प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हरिप्रसाद शर्माले गरिरहेका थिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुको अनुमतिमा गत कात्तिक ६ देखि २१ दिनको लागि निकुञ्जका विभिन्न ४० स्थानमा क्यामेरा जडान गरिएको थियो।
निकुञ्ज क्षेत्रमा निकुञ्ज कार्यालयले चराचुरुंगीहरूको गणना गर्दै आएको भए पनि यहाँ रहेका वन्यजन्तुहरू, जलचर, वनस्पतिको अवस्था, अध्ययन र गणना कहिल्यै गरिएको छैन। जैविक विविधता, प्राकृतिक स्रोतसाधनले भरिपूर्ण यो निकुञ्जमा ५४ प्रजातिका स्तनधारी जनावर, २९६ प्रजातिका चराचुरुंगी, सात प्रजातिका माछा (जसमा तीन प्रजातिका असला माछा विश्वभर रारा तालबाहेक अन्यत्र पाइँदैन), एक प्रजातिको उभयचर, एक प्रजातिको घस्रने वन्यजन्तु र एक हजार २४ प्रजातिका वनस्पति पाइन्छ।