मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर २३ आइतबार o५:५६:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : प्रलयको कारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार o५:५६:oo

एकपटक एक गुरुसित उनका एक शिष्यले प्रश्न गरे– गुरुदेव ! प्रलय निकै शक्तिशाली हुन्छ रे ! प्रलयमा सारा संसार ध्वस्त पार्न सक्ने शक्ति हुन्छ रे ! के हजुर बताउन सक्नुहुन्छ कि यो प्रलय भनेको के हो र यो कस्तो हुन्छ ? आफ्ना छात्रको प्रश्न सुनेर केही गम्भीर हुँदै गुरुले जवाफ दिए– हो, तिमीले ठिक सुन्यौ । प्रलय साँच्चै शक्तिशाली हुन्छ । हेरौँ, तिम्रा साथीहरू यस विषयमा के भन्छन् ? उनीहरूलाई यसबारे थाहा छ या छैन । त्यसपछि गुरुले बाँकी शिष्यसित यही प्रश्न सोधे । 

एक शिष्यले जवाफ दिए– गुरुदेव ! मेरो विचारमा भगवान्प्रति मानिसले गरेको अपराध नै प्रलयको मुख्य कारण हो । अर्का शिष्यले भने– जब मानिसको अत्याचार धर्तीले झेल्न सक्दैन, तब भगवान्ले प्रलयको माध्यमबाट यस धर्तीको बोझ हटाउने गर्छन् । तेस्रो शिष्यले भने– कमजोर मान्छेको आँसुको एक–एक थोपा नै प्रलयको वास्तविक कारण हो । 

गुरुले पालैपालो सबै शिष्यको विचार सुने । सबैको विचार सुनिसकेपछि उनले भने– कमजोर मानिसको आँखाबाट बग्ने आँसु नै प्रलयको मुख्य कारण हो भन्ने विचार सही हो । त्यसैले, हामीले कुनै पनि कमजोर मानिसको दुःखलाई हटाउन सक्दैनौँ भने कुनै हालतमा उनीहरूलाई दुःख पनि दिनुहुँदैन । असहाय मानिस यति निरीह हुन्छ कि ऊ अर्काले दिएको कष्ट सहन मात्र सक्छ, तर कुनै प्रतिक्रिया जनाएर त्यसको विरोध गर्न सक्दैन । उसको मुखबाट विरोधमा एक शब्द पनि निस्कन मुस्किल पर्छ । त्यसैले, उसको निरीहता मुखबाट होइन, आँखाबाट आँसुको माध्यमबाट निस्कने गर्छ । गरिबमाथि दया गर्‍यौँ भने भगवान्ले हामीलाई पनि दया गर्छन् । तर, हामी यो सबै जान्दाजान्दै पनि गरिबको पीडाप्रति ध्यान दिँदैनौँ । उल्टै उनीहरूलाई सताउने काम गरेर प्रलयलाई निम्तो दिइरहेका हुन्छौँ ।