प्राइम कमर्सियल बैंक लिमिटेडको साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) दिने सञ्चालक समितिले प्रस्ताव पारित गरेको हो ।
बैंकको चुक्ता पुँजी रु. १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको छ ।
साथै, सञ्चालन मुनाफामा पनि गत वर्षभन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल रु. ७ अर्ब ५१ करोड आर्जन गरेको छ । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले भने, ‘यसले दीर्घकालीन रूपमा आफ्ना सेयरधनीहरूलाई बैंकले दिन सक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिवृद्धि गर्दै लगेको र आगामी वर्षहरूमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको छ ।’
साधारणसभामा सेयरधनीले उठाएका प्रश्नको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिका बिच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिसन आम्दानी एवं गैरकोषमा आधारित अन्य आम्दानीसमेतमा उल्लेखनीय वृद्धि गर्दै लगेको जानकारी गराए ।