मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २० बिहीबार
  • Thursday, 26 December, 2024
अजित अधिकारी काठमाडौं
२o८१ मङ्सिर २० बिहीबार ११:o९:oo
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमका कार्यकारी निर्देशक र डिजिएमबिच बोलचाल बन्द, सँगै हिँड्न पनि छाडे

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २० बिहीबार ११:o९:oo

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र नायब कार्यकारी निर्देशक (डिजिएम) दीपक बरालबिचको सम्बन्ध चिसिएको छ । दुवैबिच दसैँयता चिसिएको सम्बन्ध अहिले बोलचाल बन्दसम्म पुगेको हो ।

कार्यकारी निर्देशक भट्टसँग टसल बढ्दै गएको बरालले पनि स्वीकार गरेका छन् । उनले व्यक्तिगत नभई ‘अफिसियल’ काममा केही असन्तुष्टि राख्दा सम्बन्ध सुमधुर हुन नसकेको बताए । ‘हामीबिच ठुलो समस्या भएको होइन, कार्यालयको विभिन्न कामहरू गर्दा प्रक्रियागत विषयमा मैले सल्लाह सुझाव दिँदा नोकजोक भयो,’ उनले भने, ‘तर, अहिले ठिक भइसकेको छ ।’

तर, उनीहरूबिच बिग्रिएको सम्बन्ध सुधार भइनसकेको स्रोतको दाबी छ । दुईबिचको सम्बन्ध सुधार नभएकै कारण आयल निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्तिसचिव गोविन्दबहादुर कार्की र कार्यकारी निर्देशक डा. भट्ट अमलेखगन्ज, चितवन र भैरहवामा निर्माणधीन परियोजनाको अवलोकन गर्न जाँदा बराल छुटेका छन् ।

बराल निगमको सबैभन्दा महत्त्वपूर्ण इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुखसमेत हुन् । यो विभागले ठुला परियोजना निर्माण र सञ्चालन गर्ने हुँदा चालू आर्थिक वर्ष ०८१/८२ मा सबैभन्दा बढी सवा तीन अर्ब बजेट परिचालनको जिम्मेवारीसमेत लिएको छ ।

यही विभागमातहत भइरहेको परियोजनाको प्रगति निरीक्षण गर्न सचिव नेतृत्वको टोली जाँदा कार्यकारी निर्देशक भट्टले बराललाई लगेका छैनन् । बरु उपनिर्देशक प्रदीप यादव टोलीमा सँगै छन् । जब कि परियोजना निरीक्षण गर्दा इन्जिनियरिङ विभागको प्रतिनिधित्व अनिवार्य जस्तै हुन्छ ।

सचिव कार्की नेतृत्वको टोलीले सोमबार अमलेखगन्जस्थित पाइपलाइन परियोजना र चितवनको लोथरस्थित नयाँ जग्गाको निरीक्षण गरेको छ । सौराहाबाट मंगलबार निस्केको टोली साँझ भैरहवा पुगेका थियो । बुधबार बिहान करिब १० बजे टोलीले रोहिणी नदी किनारमा निर्माणाधीन नयाँ डिपोको निरीक्षण गरेको थियो । त्यस्तै, दिउँसो भलबारीस्थित लुम्बिनी प्रादेशिक कार्यालयको निरीक्षण गरेर बुधबार राति टोली काठमाडौं फर्किएको छ ।  

गत फागुनमा कार्यकारी निर्देशक नियुक्त भएयता भट्टले सुरुका दिनबाट नै साना–ठुला निरीक्षणमा बराललाई नछुटाई सँगै लैजाने गरेका थिए । तर, यसपटक कम्पनी अध्यक्ष कार्कीसहितको टोलीमा बराललाई नराखिनु दुवैबिचको सम्बन्धमा ‘ग्रहण’ लागेको अर्थमा बुझ्नुपर्ने एक कर्मचारीले बताए ।

‘यसअघि भट्ट सरसँगै बराल सर पनि निरीक्षणमा निस्कने गर्नुहुन्थ्यो । अहिले सम्बन्ध बिग्रिएको हल्ला भएकै वेला उहाँ (बराल) छुट्नु भनेको दुवैबिच टसल छ भन्ने नै हो,’ स्रोतले भन्यो । स्रोतका अनुसार कार्यकारी निर्देशक भट्ट भारतले अनुदानमा बनाइदिने पाइपलाइन र भण्डारण गृह तथा आयल निगमले सिनामंगल, भैरहवा र धनगढी डिपो स्थानान्तरण गर्न खोजेको परियोजना छिटो र छोटो बाटोबाट अघि बढाउन चाहिरहेका छन् ।

तर, यी सबै परियोजना हेर्न इन्जिनियरिङ विभाग प्रमुख बरालले भने अवरोध गर्दै आएको भट्टको बुझाइ छ । भट्टले पछिल्लो समय इन्जिनियरिङ विभागको नेतृत्व हेरफेर गर्न सुझावसमेत लिन थालेका छन् ।

आयल निगमभित्र बराल छुद्र स्वभावका मानिन्छन् । आफूलाई मन नपरेको वसषयमा छलफल भए अरूलाई बिझाउने गरी तिखो भाषामा तुरुन्तै जवाफ दिने उनको स्वभाव छ । यो स्वभावलाई लिएर कार्यकारी निर्देशक भट्टले पटक–पटक अन्य डिजिएम र निर्देशकहरूसँग असन्तुष्टि पोखेको स्रोतको भनाइ छ ।

दुवैबिचको बढ्दो टकराव रोक्न उपल्लो तहका कर्मचारीको सुझावका आधारमा भट्टले बरालसँग नजिक रहेर काम गरिरहेका उपनिर्देशकद्वय अभिषेक ठाकुर र शैलैन्द्र महतोलाई क्रमशः अमलेखगन्ज–चितवन पाइपलाइन र सिलगुढी–झापा पाइपलाइन तथा भण्डारण परियोजनाको प्रमुख तोकेका छन् ।

आफूनिकटका दुई वरिष्ठ कर्मचारीले महत्त्वपूर्ण जिम्मेवारी पाउँदा बराल केही लचक हुने र लामो समय रिस नसाध्ने स्वभावका भट्ट पनि सम्बन्ध सुधारका लागि तयार हुने कर्मचारीहरूको बुझाइ थियो । तर, ठाकुर र महतोले जिम्मेवारी पाएको करिब दुई हप्ता बित्न लाग्दा पनि दुवैबिचको टसल घटेको छैन । 

प्रतिबद्धता गरेअनुसार कार्यकारी निर्देशक भट्टको काम नगर्ने स्वभावबाट भने आजित भएको भन्दै बरालले निकटस्थहरूसँग गुनासो गर्ने गरेका छन् । बरालसँगको बिग्रँदो सम्बन्धबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा भट्ट उपत्यकाबाहिर रहेको भन्दै पन्छिए । दुवैको बिग्रँदो सम्बन्धले निरन्तरता पाए निगमले अघि बढाएका ठुला परियोजना अघि बढाउन भने समस्या हुने कर्मचारीको चिन्ता छ ।

सबैसँग चर्काचर्की गरिरहन्छन् बराल
नायब कार्यकारी निर्देशक बराल आयल निगमका विषयमा हुने अधिकांजस्तो निर्णयमा आफ्नो राय राख्छन् । उनको मत भन्दा भिन्न हिसाबले काम हुन लाग्यो भने प्रतिवाद गर्ने उनको पुरानो शैली हो । ‘बराल सर जहिल्यै पनि आफूअनुकूल आयल निगमको निर्णय होस् भन्न खोज्नुहुन्छ । त्यो सम्भव हुँदैन,’ एक कर्मचारीले भने, ‘आफूअनुकूलको निर्णय गर्न उहाँ (बराल) कार्यकारी निर्देशक भएर आउनुपर्छ ।’

बरालले वैशाख, ०७८ मा निर्देशक तहमा काम गर्दैगर्दा आफ्नो इच्छाविपीत केही निर्णय भएको भन्दै लिखित राीनामा दिएका थिए । तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उनको राजीनामा अस्वीकृत गरी काममा फर्काएका थिए ।

डेढ वर्षअघि पनि बरालले तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीको कामगराई चित्त नबुझेको भन्दै राजीनामा दिने ध्वाँस दिएका थिए । थानीले उनीसँग राजीनामा आए स्वीकृत गर्ने बताएका थिए । तर, राजीनामा दिनुको सट्टा बराल इन्डोनेसियाको बाली घुम्न गएका थिए ।

०७४ मा निर्देशक तहमा कार्यरत रहेका वेला बराललाई तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काले काममा अवरोध गरेको भन्दै ‘कार्यकारी निर्देशकको सचिवालय’मा तानेर फाजिल गराएका थिए । सचिवालयमा निर्देशक तहका लागि कुनै जिम्मेवारी हुँदैन ।

त्यही समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विभिन्न भिआइपीको छानबिन थालेको भन्दै बरालको समेत नाम सार्वजनिक गरेको थियो ।