प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना, अपचलन एवं ठगीको अरोप लागेर फरार रहेका शंकरनारायण श्रेष्ठ अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।
तनहुँ व्यास नगरपालिका– १० बस्ने वर्ष ५६ का श्रेष्ठलाई प्रहरीले ८ मंसिरमा पक्राउ गरेको थियो । मंगलबार कास्की जिल्ला अदालतमा पेस गरिएकोमा ५० लाख धरौटी तोकिएको र सो रकम तिर्न नसकेपछि बुधबार कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले बताए ।
सहकारीको रकम अपचलन तथा हिनामिना गरेको आरोपमा श्रेष्ठसँगै पक्राउ पर्नेको संख्या ११ पुगेको छ । यसअघि प्रहरीले सहकारीका अध्यक्ष पोखरा महानगरपालिका– १४ चाउथे बस्ने वर्ष ४३ का शंकर कार्की, सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, सहकारीका व्यवस्थापक निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहाकार इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनील थापा, सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ, दीपा कोइराला, उत्तम मगरलाई पक्राउ गरेको थियो ।