१.पाँच सयभन्दा बढी क्याम्पसमा सयभन्दा कम विद्यार्थी देखिनुले के संकेत गर्छ ?
यस्तो समस्या सहरबजारका क्याम्पसमा भन्दा पनि दुर्गम गाउँघरका कलेजहरूमा बढी देखिएको छ । विगतमा राजनीतिक प्रतिस्पर्धाका आधारमा पनि गाउँगाउँमा कलेजहरू खुले । अहिले तीव्र भएको बसाइँ सराइका कारण हाम्रा गाउँघर रित्तिँदै गएका छन् । यसको प्रभाव गाउँघरका कलेजहरूमा परेको हो । पछिल्लो समयमा एकातिर जन्मदर घटिरहेको छ भने अर्कातिर मान्छेहरू गाउँबाट सहरबजार र विदेशतिर पलायन हुने क्रम बढिरहेको छ । यस्तोमा कलेजहरूमा विद्यार्थी कम हुनु अनौठो होइन ।
२.यसका लागि कतै हाम्रो शिक्षानीति र यसको गुणस्तर जिम्मेवार त छैन ?
विद्यार्थी देशमा नबस्नुका प्रमुख १० कारणको खोजी गर्ने हो भने सायद तीमध्ये दुईटाचाहिँ शिक्षा नीतिसँग सम्बन्धित हुन सक्छन् । तर, यहाँ समग्रमा आशा र अवसरको अभाव भएकाले युवा पलायन बढ्दो क्रममा छ । फेरि यहाँ अभिभावक र समाजले पनि स्वदेशमै रमाउने विद्यार्थीलाई ‘यतै हल्लिरहेको’ भनेर निरुत्साहित गरिरहेका भेटिन्छन् । अहिलेको युवा पुस्ता पनि बढीभन्दा बढी स्वतन्त्रतामा रमाउन चाहन्छ । अर्कातिर तीनै तहका सरकारहरूले पनि तिनलाई यतै अड्याउन खासै प्रभावकारी योजना र नीति ल्याउन नसकेको भने देखिन्छ । विश्वविद्यालय एक्लैले यहाँ अवसर सिर्जना गर्न सक्दैन । यसका लागि हाम्रो समग्र राज्यशक्ति नै लाग्नुपर्छ ।
३.यस्तो अवस्थामा सुधार ल्याउने कसरी त ?
तत्कालका लागि त्रिविले मर्जरको नीति ल्याएको छ । तर, यसले मात्र पनि यसमा सुधार हुन सक्दैन । शिक्षानीतिमा समयसापेक्ष सुधारसँगै रोजगारीको सुनिश्चितता र पढ्दै कमाउने वातावरण तयार गर्ने दिशामा सबैको ध्यान जानु जरुरी छ ।