नेपाल र जापानबिचको व्यापार, उद्योग, पर्यटन र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज’ स्थापना गरिएको छ ।
सामाजिक सेवामूलक गैरनाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी तथा व्यावसायिक समुदायबिच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । साथै, व्यापार, कृषि, उद्योग र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्याउनेछ।
प्रथम वार्षिक साधारणसभामा निर्वाचित अध्यक्ष, निर्वाचित उपाध्यक्ष साथै सञ्चालक सदस्यहरूको उपस्थिति थियो । निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको कार्यालयको उद्घाटन जापानी दूतावासका मिसन उपप्रमुख तमुरा ताकाहिरोले गरेका थिए ।
यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिने र आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको बताइएको छ ।
सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले १० हजार रुपैयाँ शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछन्, तर सदस्यता हस्तान्तरण गर्न भने सकिने छैन । संस्थाले समाज कल्याण ऐन, २०४९ तथा कम्पनी ऐन, २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्वस्वीकृति लिनुपर्नेछ ।
चेम्बरको रजिस्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा २७ मा रहेको छ । चेम्बरको कोष सदस्यता शुल्क, अनुदान तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गर्ने बताइएको छ ।
नेपाल र जापानको सम्बन्धलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ स्थापित यो चेम्बरले दुवै देशका व्यावसायिक समुदायलाई नजिक ल्याउने विश्वास गरिएको छ। चेम्बरले सबैलाई सहकार्य र समर्थनका लागि अपिल गरेको छ।